+
+

इरानबाट चीन उडेको जहाजमा बमको सूचना, नयाँ दिल्लीले दिएन अवतरणको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १७:१४

काठमाडौं । सोमबार बिहान भारतीय समय अनुसार ९ बजेर २० मिनेटमा भारतीय एयर स्पेस प्रवेश गरेको इरानी कम्पनी महान एयरको जहाज डब्लू ५८१ मा बम रहेको खबर स्वयम् पाइलटले नयाँ दिल्लीस्थित एयर ट्राफिक कन्ट्रोलरलाई दिए ।

लगत्तै, इन्दिरा गान्धी विमानस्थलमा सतर्कता मात्र अपनाइएन, भारतीय सुरक्षा एजेन्सीहरुले समेत सकर्तता लिए । तर, जहाजलाई नयाँ दिल्ली विमानस्थलमा भने अवतरणको अनुमति दिइएन ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार इरानबाट चीनको ग्वाङ्झाउका लागि उडेको यो जहाजले नयाँ दिल्लीमै अवतरणको अनुमति मागेको थियो । ‘सुरक्षालाई मध्यनजर गर्दै भारतीय वायुसेनाले नयाँ दिल्लीमा अवतरणको अनुमति दिन इन्कार गरेको हो’ समाचारहरुमा भनिएको छ ।

यो जहाजलाई जोधपुर एयरवेशमा रहेको भारतीय वायुसेवाको जहाजले पच्छ्याएको थियो । ‘फ्लाइट राडार २४’ को तथ्यांक अनुसार जहाज नयाँ दिल्लीमा अवतरण गर्ने उद्देश्यले निर्धारित उचाई भन्दा तल आइरहेको थियो । सोहीकारण भारतीय वायुसेनाको दुई विमानले डब्लू ५८१ जहाजलाई आकासमै घेरेका थिए ।

आपतकालिन अवस्थालाई मध्यनजर गर्दै जहाजलाई जयपुर वा चण्डीगढ विमानस्थलमा जान अनुमति दिइएको थियो । पाइलटले भने दुबै शहरमा जहाज अवतरण गराउन इन्कार गरे । सोहीकारण बिहान ९ बजेर २० मिनेट देखि १० बजेर ५ मिनेटसम्म जहाज दिल्लीको आकासमै घुमेको थियो ।

अन्तिममा पाइलटले जहाजलाई आफ्नो गन्तव्य चीनको ग्वाङ्झाउ नै लैजाने निर्णय लिए । जहाज गन्तब्यमा सुरक्षित अवतरण गरिसकेको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?