+
+

पोखरेलीको साथ नपाएको नवौं राष्ट्रिय खेलकुद

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असोज २८ गते २२:१३

२८ असोज, पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा उद्घाटन गरेसँगै गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको छ । तर उद्घाटन समरोह हेर्दा बृहत राष्ट्रिय खेलकुदले पोखरेलीको साथ पाएको देखिएन ।

सामान्यतः बृहत राष्ट्रिय खेलकुदको आयोजनास्थलको रौनक विशेष प्रकारको रहँदै आएको छ । २०३८ सालमा पहिलोपल्ट आयोजित यो प्रतियोगितामा सुरुवाती तीन संस्करणमा अन्चलका आधारमा त्यसपछिका चार संस्करणमा विकाश क्षेत्रअनसार भयो । पछिल्लो समय प्रदेश अनुसार भइरहेको छ ।

त्यसअनुसार नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भइरहेको छ । उद्घाटन समारोहसहित थुप्रै खेल पोखरामा राखिएको छ । शुक्रबार खेलाडीको मार्चपास, केहि सांस्कृति झाँकी, गीतसंगीत प्रदर्शन, खेलाडी र निर्णायकको सपथ र झण्डोत्तोलन तथा ओलम्पिक टर्च जलाउनेलगायतका परम्परालाई निरनन्तरता दिइएको नवौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोहमा दर्शकको भो साथ रहेन ।

उद्घाटन समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निमन्त्रणमा आएका विशिष्ट पाहुनाहरु थिए ।

तर १६ हजार ५०० दर्शक क्षमताको नवनिर्मित पोखरा रंगशालामा मार्चपासमा सहभागी खेलाडी र प्रदर्शनमा सहभागी कलाकार तथा विद्यार्थीलाई छाड्ने हो भने मुस्किलले ५०० सर्वसाधारणको उपस्थिति थियो ।

प्रदेश र स्थानीय सरकारले पनि राष्ट्रिय खेलकुदलाई भब्य बनाउन खासै जोड गरेको देखिएन । राखेप, प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय नभएको देखिन्छ ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले भने बृहत राष्ट्रिय खेलकुद आयोजना हुने शहरका लागि गर्वको विषय हुनुपर्ने बताउँछन् । तर नवौं आयोजनाका लागि प्रदेश र स्थानीय सरकारको सक्रियता र अपनत्वबारे मूल्यांकन गर्ने तहमा आफू नरहेको उनको भनाई छ ।

पोखरा गुरुङहरुको विशेष बसोबास छ । भूपू गोर्खा समाज, मगर समाज, क्षेत्री समाज, भुपु बक्सिङ क्लबलगायतलेसहभागिता जनाएको मार्चपासमा गुरुङ समुदायहरुको तमू धीँ देखिएन । केन्द्रीय निकायको आयोजना, केन्द्रीय खटनपटन नरुचाएका यहाँका स्थानीयले प्रतियोगितालाई वृहत बनाउन सहयोग नगरेको गुनासो गण्डकी खेलकुदका केही पदाधिकारीको छ । नवौं राष्ट्रिय खेलकुदका लागि भनेर पोखरामा कुनै खेल पूर्वाधार नबनेकोमा पनि असन्तुष्टि छ ।

यसअघिका दुई संस्करण (सातौं राष्ट्रय खेलकुद २०७३ र आठौं राष्ट्रिय खेलकुद २०७६)मा स्थानीय परिचालन अहिलेको भन्दा अधिक थियो । आयोजना र व्यवस्थापनमा स्थानीयको गुनासो कमै सुनिएको थियो । यसपल्ट आयोजक उपसमितिका अधिकांश संयोजक पोखरा वा गण्डकी बाहिरका छन् ।

हतारमा व्यवस्थापनको काम हुँदा खेलाडीहरुले खेलपोशाक, किट र खेल सामाग्री समयमै पाउन सकेका छैनन् । उद्घाटनको केहि समयअघिसम्म राखेपको पोखरास्थित भण्डार कक्षबाट खेलाडीहरुलाई खेल पोशाक र किट लिन भ्याइनभ्याइ थियो ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार गरिएपनि पोखरामा असोज २३ गतेदेखि नै खेलहरु सुरु भएको थियो । शुक्रबारसम्म पुरुष क्रिकेट र फेन्सिङ खेल सम्पन्न भइसकेको छ । तर अहिलेसम्म भएका खेलस्पर्धामा दर्शकको उपस्थिति नगण्य छ ।

बृहत राष्ट्रिय खेलकुदमा ३६ खेलका इभेन्टहरु समावेश गरिएका छन् । सात प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिमका ६ हजार १५७ खेलाडी सहभागी छन् । कास्कीमा अधिकांश खेल हुनेछ । गण्डकीका ८ वटा जिल्लामा नवौंका खेलहरु आयोजना गरिएका छन् ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?