+
+

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ७:००

४ मंसिर, काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।

मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यस्तै, प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष,  ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।

चुनावका लागि देशभर १० हजार ८९२ वटा मतदानस्थलमा २२ हजार २२७ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।

निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले अपिल गरेको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?