+
+

राजधानीमा मतदानप्रति अरुचि, मतदाताको रोजाइमा नयाँ पार्टी

यसपटक मतदातामा चुनावप्रति आकर्षण कम देखिएको छ । तर मतदान गर्नेहरुमा पनि पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:०२

५ मंसिर, काठमाडौं । प्रारम्भिक मत परिणामले राजधानी उपत्यकामा पुराना राजनीतिक दलहरुप्रति मतदातामा आकर्षण घटेको सन्देश दिएको छ । काठमाडौंका गणना भएका ८ मध्ये ३ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

काठमाडौं–६, ७ र ८ मा भर्खरै खुलेको रास्वपासँग सत्तारुढ गठबन्धन र प्रमुख विपक्षी नेकपा एमालेका उम्मेदवार पछाडि परेका छन् । ललितपुर र भक्तपुरमा पनि नयाँ दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धी मत पाइरहेका छन् । ललितपुर–२ मा एमालेका उम्मेदवारले अग्रता बनाएपनि लौरो चिह्न रहेको हाम्रो नेपाली पार्टी दोस्रो र घण्टी चिह्न भएको रास्वपाले राम्रै मतसहित चौथो स्थानमा छ ।

ललितपुर–३ की तोसिमा कार्कीले सत्तारुढ र विपक्षी दलका उम्मेदवारलाई चुनौती दिइरहेकी छन् । मत गणना हुन बाँकी काठमाडौं–२ र ५ पनि नयाँ पार्टीको राम्रै आकर्षण रहेको पूर्वानुमान गरिंदै आएको छ ।

नयाँ दल र स्वतन्त्रहरुप्रति आकर्षण देखिदा काठमाडौं उपत्यकामा मत भने अघिल्लोपटक भन्दा कम खसेको छ । निर्वाचन आयोगको प्रारम्भिक आँकडा अनुसार, अघिल्लो निर्वाचन भन्दा यसपटक ५ प्रतिशत मत कम खसेको छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा यसपटक कम मत खसेको छ । सबैभन्दा कम काठमाडौं–८ मा ५९.८९ प्रतिशत मत खसेको छ । काठमाडौं–१० मा भने करीब ७० प्रतिशत मत खसेको छ ।

काठमाडौं उपत्यकाका सबैभन्दा बढी भक्तपुरमा मत छ, तर त्यो पनि अघिल्लो पटकको तुलनामा कम हो ।  जिल्ला प्रशासन कार्यालयहरुले संकलन गरेको विवरणअनुसार, भक्तपुरमा ७२, ललितपुरमा ६५.६९ र काठमाडौंमा ६४ प्रतिशत मत खसेको हो । यसको अर्थ यसपटक मतदातामा चुनावप्रति आकर्षण कम देखिएको छ । तर मतदान गर्नेहरुमा पनि पुराना र ठूला दल भन्दा पनि नयाँ र स्वतन्त्र उम्मेदवारप्रति रुझान देखिन्छ ।

आइतबार दिनभर काठमाडौं उपत्यकाका मतदान केन्द्रहरुको पर्यवेक्षण गरेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, देशव्यापी रुपमा कम मत खस्नुको अर्थ राजनीतिक व्यवस्थापनप्रतिको वितृष्णा भएको बताउँछन् । ‘यो जनतामा फैलिएको निराशा हो । राजनीतिज्ञहरुप्रति जनतामा आशा विश्वास र भरोसा देखिएन’ उनी भन्छन्, ‘राजनीतिज्ञहरुमा जे गरेपनि हुन्छ भनेर व्याप्त भएको सोचका कारण मतदाताहरुले आफूलाई महत्व नदिएको ठाने ।’

उनका अनुसार, असाध्यै संवेदनशील हुने शहरी मतदाताहरु कतिपय अवस्थामा एउटा नेताको विकल्प छान्नुभन्दा मौन बसिदिन्छन् । कतिपय अवस्थामा व्यवस्थापनकै विरोधमा आफूहरुलाई उभ्याउँछन् । उनीहरुलाई अहिलेको नेतृत्वको विकल्पमा आउने अर्को पनि उस्तै हो भन्ने लाग्यो भने तटस्थ भइदिन्छन् । पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्, ‘मतदान गर्नेले पनि अप्रत्याशित नतिजा दिन्छन् । यसपटक देशव्यापी रुपमा त्यही देखिएको हो ।’

हेर्नुहोस् राजधानी उपत्यकामा खसेको मत प्रतिशत –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?