 
																			७ मंसिर, काठमाडौं । एकपछि अर्को ‘एक्स्ट्रिम’ निर्णय गरेर राष्ट्रिय राजनीतिमा तरंग ल्याउने चन्द्रकान्त (सीके) राउतले आफ्नो पहिलो संसदीय चुनावलाई पनि उत्तिकै रोमान्चक बनाएका छन् ।
सप्तरी २ मा मधेश आन्दोलनको नेतृत्व गरेका उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका राउतले १३ हजारभन्दा बढी मतको अग्रता लिइसकेका छन् । यो समाचार तयार पर्दासम्म राउतले २७ हजार ४७७ मत पाएका छन् भने यादवले १३ हजार ६८३ मत पाएका छन् ।
यही अग्रता कायम राखेर सांसदमा निर्वाचित भए राउतको परिचय सम्पूर्ण रूपमा बदलिनेछ ।
राउतको राजनीतिक यात्रा
मुलुकमा राजतन्त्र विरोधी आन्दोलन चलिरहँदा अमेरिका पढिरहेका सीके सन् २००६ मा नेपाल आएका थिए । त्यसैबेला उनले ‘स्वतन्त्र मधेश गठबन्धन’ नामको संस्था खोले ।
मुलुकमा राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो । तर एउटा संस्था खोलेर फेरि अमेरिका फर्किएका सीके ६ वर्ष उतै बसे । एकैपटक सन् २०१२ मा अमेरिका छोडेर नेपाल आएका सीकेले सिंहदरबारलाई सशंकित बनाउने गरी घोषणापत्र सार्वजनिक गरे । देशमा प्रदेश सीमांकनको विवाद चलिरहँदा उनले ‘स्वायत्त मधेश’को नारा लगाएका थिए ।
उनको त्यो आन्दोलनलाई ‘राज्यद्रोह’ भन्दै सरकारले पटकपटक गिरफ्तार गर्यो । हरेक गिरफतारी चर्चामा रह्यो । मधेश प्रदेशमा गुरिल्ला अभ्यास चलाएको आरोप उनीमाथि लाग्यो । पृथकतावादी आन्दोलन चलाएको आरोपमा गिरफ्तारी खेप्दै आएका राउतले अनपेक्षित निर्णय लिदै सरकारसँग सम्झौता गरे ।
फागुन ०७५ मा ११ बुँदे सम्झौता गरेपछि राउत खुला राजनीतिको मैदानमा थिए । तर पनि उनीमाथि आशंका छँदैथियो । किनकि बेलाबेला ‘जनमत संग्रह’को कुरा गर्न उनले छोडेका थिएनन् । सरकारसँग सम्झौता गरेपछि ०७५ को अन्तिममा आफ्नै नेतृत्वमा उनले जनमत पार्टी गठन गरे ।
पार्टी गठनसँगै ‘जनमत संग्रह’को मुद्दा त्यागे । मधेश केन्द्रित राजनीति गर्ने अन्य दलहरुकै विकल्पका रुपमा आफूलाई प्रस्तुत गरे । र, स्वराजको नारा छाडेर शान्तिपूर्ण राजनीतिमा आएमा सीके राउतलाई सप्तरी–२ का जनताले अनुमोदन गरेको देखिएको छ ।
बदलिएको परिवेश
मधेश मामिलाका जानकार तुलानारायण साह भने उपेन्द्र यादवको गिर्दो व्यक्तित्वको लाभ सीके राउतले उठाएको बताउँछन् । ‘यादवको व्यक्तित्व मधेश आनदोलनले बनाएको थियो, तर पछिल्ला वर्षमा उनको व्यक्तित्व कमजोर भयो,’ साह भन्छन्, ‘यसको विपरीत कुनै ठूलो आन्दोलन नै नगरी राउत पछिल्ला १० वर्ष सधैं चर्चामा रहिरहे ।’
सीके राउतलाई नजिकबाट नियालिरहेका कतिपय भने उपेन्द्रसँगै प्रतिस्पर्धा रोजेर उनले आफूलाई मधेशको नयाँ नेताकोे संकेत दिएका छन् ।
विश्लेषक साह, सप्तरी २ को चुनावमा राउतको एजेण्डाले नभएर व्यक्तित्वले जितेको बताउँछन् । ‘राउतको एजेण्डामा मधेशी जनताको नै विश्वस्त थिएनन्, तर उनको व्यक्तित्वको प्रभाव भने बलियो थियो’, साह भन्छन् । विदेशमा पीएचडी गरेर आएका राउतप्रति विशेषगरी मधेशी युवाको लगाव रहेको उनी बताउँछन् । त्यसैअनुसार पार्टी संरचना समेत तयार पारेका छन् ।
संसदीय अभ्यासबाटै शक्तिमा आउन सकिने बुझाइमा पुगेका राउतले यसपटक प्रचार अभियानलाई पनि चुस्त बनाएका थिए । उपेन्द्रले परम्परागत तरिकामा मत मागिरहँदा उनले भने युवा पुस्ता लक्षित प्रचार गरे । उनको जोड सामाजिक सञ्जाल र विदेशमा रहेका युवा थिए ।
उनले एजेण्डा पनि अरु मधेश केन्द्रित दलभन्दा भिन्न बनाए । अरुले मधेशको अधिकारको कुरा गरिरहँदा राउतले भने भ्रष्टाचार समाप्त पार्ने, सुशासन स्थापना गर्ने जस्ता नारा लगाए ।
विश्लेषक साह, सीके राउतले आफ्नो पुरानो चिनारी बदल्न सफल भएको बताउँछन् । ‘०७५ को सम्झौतापछि उनी मूलधारको राजनीतिमा आउँछ कि आउँदैनन् भन्ने शंका थियो,’ साह भन्छन्, ‘यो शंका चिर्दै उनले एउटा परीक्षा पास गर्दैछन् । अब यस अगाडिका मधेशी नेता र दल जस्तो उनी सत्तालिप्सामा लाग्छन् कि लाग्दैनन् भन्ने अर्को परीक्षा सुरु भयो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4