
११ मंसिर, विराटनगर । २०७४ सालमा मोरङमा एउटा मात्रै सिट जितेको नेपाली कांग्रेसले यो पटक तीन वटा प्रतिनिधि सभा क्षेत्र जितेको छ ।
पाँच वर्षअघि तीन वटा क्षेत्र जितेको एमाले एउटा क्षेत्रमा खुम्चिएको छ । यसअघि दुई वटा क्षेत्र जितेको माओवादी केन्द्रले एउटा मात्रै जितेको छ ।
प्रदेश सभामा भने नेकपा एमालेलाई फाइदा भएको छ । २०७४ सालमा माओवादी-एमाले गठबन्धन हुँदा चार क्षेत्र जितेको एमालेले यो पटक एक्लै पाँच वटा क्षेत्र जितेको छ ।
पाँच वर्षअघि चार वटा प्रदेश सभा सदस्य जितेको कांग्रेसले यो पटक पाँच वटा क्षेत्र जितेको छ । माओवादी केन्द्र २ क्षेत्रमा विजयी हुँदा जसपा निल भएको छ । २०७४ सालमा माओवादीले २ र जसपाले एउटा क्षेत्रमा जितेको थियो ।
मोरङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बु विजयी भए । उनले एमाले उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरे । २०७४ सालमा खतिवडा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
मोरङ १(१) मा एमाले उम्मेदवार उमाकन्त गौतम निर्वाचित भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद साम्बालाई पराजित गरे ।
२०७४ सालमा साम्बा निर्वाचित भएका थिए । क्षेत्र नम्बर १(२)बाट खड्गबहादुर बस्नेत निर्वाचित भए । उनले एकीकृत समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र घिमिरेलाई पराजित गरे । घिमिरे २०७४ सालमा निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भए । २०७४ सालमा कांग्रेस उम्मेदवार मिनेन्द्र रिजालसँग पराजित भएका उनले यो पटक कांग्रेस उम्मेदवार सुजाता कोइरालालाई पराजित गरे ।
क्षेत्र नम्बर २(१)बाट माओवादी केन्द्रका गणेश उप्रेती निर्वाचित भए । उनले एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गरे । क्षेत्र नम्बर २(१) बाट २०७४ सालमा कांग्रेसबाट शिवनारायण सिंह निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर२(२)बाट एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भए । पुन: निर्वाचित भएका अधिकारीले कांग्रेस उम्मेदवार विनोद कार्कीलाई पराजित गरे ।
क्षेत्र नम्बर ३ मा तीन जना नयाँ प्रतिनिधि निर्वाचित भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेस उम्मेदवार सुनिल शर्मा निर्वाचित भए । क्षेत्र नम्बर ३ (१)बाट कांग्रेस उम्मेदवार मानबहादुर लिम्बू विजयी हुँदा क्षेत्र नम्बर ३(२)बाट एमाले उम्मेदवार ज्ञानेन्द्र सुवेदी विजयी भए । २०७४ सालमा ३(१)बाट कांग्रेस र३(२) मा एमाले विजयी भएको थियो ।
क्षेत्र नम्बर ४ बाट माओवादी नेता अमनलाल मोदी पुन: निर्वाचित भए । उनले एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गरे ।
क्षेत्र नम्बर ४ को (१)बाट एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भए । सोही क्षेत्रको प्रदेशसभा २ बाट कांग्रेस उम्मेदवार भीम पराजुली निर्वाचित भए । चौधरीले कांग्रेस उम्मेदवार गुरुराज घिमिरे र पराजुलीले एमाले उम्मेदवार जीवन घिमिरेलाई पराजित गरे ।
क्षेत्र नम्बर ५ मा पनि तीन जना नै नयाँ अनुहार छन् । प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल निर्वाचित भए । उनले माओवादी नेता शिवकुमार मण्डल र जसपा उम्मेदवार राजकुमार यादवलाई पराजित गरे ।
सोही क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार गयानन्द मण्डल निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५(२)मा अमृत अर्याल निर्वाचित भए । २०७४ मा क्षेत्र नम्बर ५(१) एमाले उम्मेदवार ज्ञानेश्वर राजवंशी र ५ को २ मा जसपा उम्मेदवार जयराम यादव निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता डाक्टर शेखर कोइराला निर्वाचित भए । उनले एमाले उम्मेदवार लालबाबु पण्डितलाई पराजित गरे । सोही क्षेत्रको प्रदेशसभा १ मा माओवादी
उम्मेदवार जीवन आचार्य निर्वाचित भए ।
२०७४ सालमा सो क्षेत्रबाट कांग्रेस उम्मेदवार चुमनाराण तबदार विजयी भएका थिए । क्षेत्र नम्बर ६(२)बाट कांग्रेस उम्मेदवार केदार कार्की दोस्रो पटक निर्वाचित भए ।
मोरङमा प्रतिनिधिसभा तर्फ ६ र प्रदेशसभा तर्फ १२ वटा निर्वाचन क्षेत्रका १८ जनप्रतिनिधि मध्ये तीन जना मात्रै दोहोरिएका हुन् ।
प्रतिक्रिया 4