+
+

कैलाली गोलीकाण्ड : ३५ तोला सुन र २ लाख नगद लुटपाट, बन्दुकधारीको पहिचान भएन

जनक विष्ट जनक विष्ट
२०७९ पुष ४ गते १८:०१

४ पुस, धनगढी । कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ ।

अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घाइतेको भनाइ अनुसार उक्त परिणामको सुनका गरगहना र नगदसहितको झोला लुटपाट भएको हो ।

तर गौतममाथि गोली प्रहार गरेर लुटपाटमा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । ‘घटना भए लगतैदेखि हामीले संलग्नको खोजी गर्ने कामलाई तीव्र बनाएका छौँ तर अहिलेसम्म ती व्यक्ति को थिए ? भन्ने बारे जानकारी पाइएको छैन’, डीएसपी जोशीले अनलाइनखबरसँग भने, ‘प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट टोली खटाइएको छ । घटनामा जानकारी दिर्नैपर्ने खालको प्रगति भएको छैन ।’

प्रहरीले व्यवसायी सुनारले सञ्चालन गर्दै आएको सुन पसलदेखि घटनास्थल सम्मको सीसीटीभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ तर गोली प्रहार भएको सशस्त्र प्रहरी क्याम्प अगाडि सीसीटीभी क्यामेरा नभएका कारण अनुसन्धानमा समस्या भएको बताएको छ ।

गोली प्रहारबाट घाइते भएका गौतमको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ ।

घाइते गौतमका बुवा लालबहादुरका अनुसार घोडाघोडी नगरपालिका–१ स्थायी घर भएका उनीहरुले सुखड बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए । अत्तरिया बजारमा वैशाखदेखि मात्र पसल सञ्चालनमा ल्याइएको हो ।

गोदावरी नगरपालिका–१ को वनखेतमा बस्दै आएका विकासले घरमा पनि सुनचाँदीको काम गर्ने गरेका कारण पसलबाट सुनका गरगहना घरतर्फ लगिरहेको लालबहादुर बताउँछन् । व्यक्तिगत कारण वा लेनदेनको विषयमा कुनै व्यक्तिसँग पनि पूर्व रिसइबी वा वादविवाद नरहेको बताउने गौतम दोषीको पहिचान गरेर शीघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

घटनाको विरोधमा सुनचाँदी व्यवसायी

गौतममाथि गोली प्रहार गरेर लुटपाट गरिएपछि सुनचाँदी व्यवसायीहरु सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका छन् । अत्तरिया सुनचाँदी व्यवसायी संघको आह्वानमा त्यस क्षेत्रका व्यवसायीहरुले सोमबार पसल बन्द गरेर विरोध जनाएका छन् ।

अत्तरिया सुनचाँदी व्यवसायी संघका सदस्य समीर सिजापतीले दोषीलाई कारवाहीको दायरामा ल्याएर सुनचाँदी व्यवसायीको सुरक्षाको माग गर्दै सोमबार व्यापार व्यवसाय बन्द गरिएको बताए ।

उनले आगामी दबावमूलक कार्यक्रमका विषयमा समेत छलफल भइरहेको बताउदै लुटपाटमा संलग्नलाई कारवाहीको दायरामा नल्याए कडा आन्दोलनको चेतावनी दिए ।

यसैबीच अत्तरिया उद्योग वाणिज्य संघले पनि घटनाको विरोध गर्दै दोषीको पहिचान गरी कारवाही गर्न माग गरेको छ भने व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न पनि भनेको छ । संघका अध्यक्ष अशोक देवकोटाले विज्ञप्ति जारी गर्दै ज्यान मार्ने उद्देश्यसहित लुटपाट गर्ने गरी भएको घटनाको निन्दा गरेका छन् ।

‘दिनदाहडै सुरक्षाकर्मीको नजिकै भिडभाड युक्त ठाउँमा व्यापारीमाथि ज्यान मार्ने उद्देश्यका साथ लुटपाट गर्ने किसिमले भएको आक्रमणको घोर भर्त्सना गर्दै घटनाको स्वच्छ छानबिन गरी यथाशीघ्र दोषीलाई हिरासतमा लिएर कानुनी उपचार गर्न जोडदार माग गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?