+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
71/2 (9.2)
VS
चितवन राइनोज 2025
0/0
Shares
सम्झना :

गुरु साथी ‘स्वनाम साथी’

रोहित बास्तोला रोहित बास्तोला
२०७९ पुष १० गते १४:५३

असाध्यै प्रिय मान्छे बारेको परिचर्चा साँच्चै आग्रह मिसिएको हुन्छ। उमेरमा दोब्बरभन्दा धेरै फरक तर व्यवहार र सङ्गतले आफ्नै प्यारो दौंतरी जस्तै लाग्ने यौटा चेतना, व्यवहार र जीवनमा नै साँच्चै क्रान्तिकारी बनेर बाँचेको प्रिय स्वनाम साथीका सम्झनाहरु गहिरो रुपमा मनमा गढेर बसेका छन्।

आजको दिनमा स्वनाम साथीबारे द्वन्द्वात्मक/आलोचनात्मक दृष्टि राख्ने जिम्मा इतिहासलाई नै छोडेर उहाँसँगका केही सम्झनालाई शब्दमा व्यक्त गर्न गइरहेको छु।

‘हामी ७० वर्षे युवा’

स्वनाम साथीसँगको हरेक वार्तालापमा उहाँले आजको पुस्ताको अगुवाई र अभियानमाथि जोड दिनुहुन्थ्यो। हरेक कार्यक्रम र छलफलहरुमा आफ्ना विषयवस्तु प्रष्टसँग राख्न र पहलकदमी लिन निरन्तर प्रोत्साहित गर्नुहुन्थ्यो। आफूलाई अझै युवा नै छु भनेर ठट्टा गर्दै भन्नुहुन्थ्यो, ‘हामी त ७० वर्षे युवा !’

हामी सधैं सम्झन्छौं उहाँले पटक–पटक गुनगुनाएर सम्झाउने यौटा पुरानो हिन्दी गीत ‘अपनी कहानी छोड जा ! कुछ तो निशानी छोड जा !’ आफ्नो समय र ऊर्जालाई सही दिशामा लैजान प्रेरित गर्ने स्वनाम दाइ हाम्रा प्यारा गुरु हुनुहुन्थ्यो। सधैं लाग्ने गर्छ कस्तो अजीव मान्छे जसको आवाजलाई सुनेर आग्रहहरुलाई पालना गरुँ गरुँ लाग्ने !

‘लिम्पियाधुराको चुच्चो फर्काउने अगुवा !’

पंक्तिकार सोलु सल्लेरीको चिसोमा रहेको बेला बिहानै स्वनाम साथीको फोन आयो ‘कता हो रोहित ! हामी कम्युनिष्टले पनि देशको सिमानाको लागि लड्नुपर्ने भयो। ठुल्दाइले हेप्यो। छिटो आउ यार !’

ओहो कति प्रिय कुरा ! हामीले सिमानाको विषयलाई प्रभावकारी रुपमा कसरी अघि सार्ने भन्नेबारे धेरै विकल्पबारे छलफल गर्यौं। उहाँको एउटा महत्वपूर्ण मान्यता थियो, ‘हामीले चासो भएका मान्छेहरुलाई जम्मा गरिदिनुपर्दछ। बाटो आफैं निकाल्छन्।’

सीमा बचाउ अभियान त्यसैगरी बन्यो। सबैका अग्रज तथा २०१८ सालको मतगणनामा उक्त क्षेत्र हेर्ने सरकारी अधिकृत वरिष्ठ पत्रकार भैरव रिसालदेखि नयाँ पुस्ताका हामीसम्म अटायौं।

अघि बढ्ने निर्णय भयो। विभिन्न समिति बने। नक्सा समितिले नक्सा तयार पार्यो। देश विदेशमा प्रचार भयो। आन्दोलन विस्तारै प्रभावकारी स्तरमा उठ्यो। त्यही नक्सालाई आधार मानेर नेपाल सरकारले नेपालको संविधान संशोधन गर्यो।

साँच्चै छातीमा हात राखेर भन्ने हो भने भन्नैपर्छ लिम्पियाधुराको चुच्चोमा फुर्कोसहितको नक्सा निकाल्न सरकारलाई बाध्य पार्ने घटनाको ‘माष्टर माइण्ड’ स्वनाम साथी नै हुन्। यो मानेमा नेपाल देश उनीप्रति सधैं ऋणी रहनेछ।

छोटो समयमा स्वनाम साथीसँग धेरै सम्झनलायक घटनाहरु भए। सीमा बचाउ अभियान जस्तै ‘एमसीसी खारेज अभियान’ उहाँको अन्तिम सचेत अवस्थासम्म सक्रिय सहभागितामा चलिरहेको थियो।

मार्क्सीय गुरुकुलमार्फत विभिन्न गतिविधि निरन्तर थिए। पृथ्वी र पर्यावरणको रक्षा, छुवाछूत अन्त्य, कोभिड रेस्क्यू ग्रुपलगायत धेरै अभियान चलिरहेका थिए। डा.सुवर्ण सापकोटासँग मिलेर नेपाली समाज र सभ्यताको खोजी तथा अध्ययन नियमित चलिरहेको थियो।

मजदुर र जिज्ञासुहरुलाई लक्षित गरेर अनलाइन नि:शुल्क पुस्तकालय चलाउने काम सुरु हुँदैथियो। पूर्वीय दर्शन र समाजमा भएका मौलिक कुराहरुको खोजी भैरहेको थियो। यस्तै अन्य धेरै विषयमा उहाँ संलग्न हुनुहुन्थ्यो।

स्वनाम साथीबारे छोटो समयका धेरै सम्झना लेखेर यो लेखलाई ठूलो बनाउनुभन्दा उहाँले पटक–पटक सुनाउने गर्नुभएको गौतम बुद्धको जीवनको एक सन्दर्भलाई जोडेर यो छोटो आलेखलाई बिट मार्दा प्रभावकारी हुनसक्छ।

गौतम बुद्ध ब्राह्मणहरुको गाउँमा पुग्नुभएको थियो। मध्यान्हपछिको छलफलमा ब्राह्मणहरुले प्रश्न गरे ‘भगवान ! धेरै प्रकारका मान्छेहरुले फरक फरक कुरा गर्ने गरेका छन्। कसैले भगवान/ईश्वर/आत्माको कुरा गर्छन्। कसैले त्यो गलत हो भन्छन्। महावीरको अर्कै कुरा छ। तपाईंको अर्कै कुरा छ। फरक फरक कुराहरुमा हामीले कुन कुरा कसरी विश्वास गर्ने ?’

गौतम बुद्धको जवाफ थियो ‘कसैलाई आँखा चिम्लेर विश्वास गर्दै नगर ! आफैंलाई हेर र ठिक लागेको गर ! आफैंले हेर !’ मानव जातिले हासिल गरेका ज्ञानका अधिकांश आयाम ब्रह्माण्डदेखि क्वान्टमसम्मको गहिरो ज्ञान राख्ने स्वनाम साथी हामीलाई आफैंले हेर्न, आफैं उठ्न र आफैं बोल्न प्रेरित गर्नुहुन्थ्यो। हाम्रा धेरै सम्झना छन्। उहाँ सधैंभरि सम्झनामा बाँचिरहनुहुनेछ।

हाल : सोलुखुम्बु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?