 
																			१२ पुस, पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते तय भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन् ।
गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई बुधबार शपथ खुवाउने र बिहीबार बस्यालले अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ । पर्वतबाट चुनाव जितेका एमालेका बस्यालले बुधबार प्रदेश प्रमुखबाट सपथ लिनेछन् । त्यसको भोलिपल्टै अरु सांसदलाई शपथ खुवाउने कार्यक्रम छ ।
बस्यालकै अध्यक्षमा १८ गतेको बैठक बस्ने छ । प्रदेश सभा अधिवेशन सुरु भएलगत्तै प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
‘१८ गतेबाट अधिवेशन सुरु हुन्छ । त्यसलगत्तै सरकार गठनको लागि आह्वान गर्ने तयारीमा प्रदेश प्रमुख छन्’, प्रदेश प्रमुख स्रोतले भन्यो, ‘नयाँ सरकार गठनका लागि २० गते कट्दैन ।’
प्रदेश प्रमुख पृथ्वीमानले भने कहिले सरकार गठनका लागि आह्वान गर्ने भन्ने विषयमा छलफलमै रहेको बताए । ‘म आन्तरिक छलफल र तयारीमै छु तर मिति तय भइसकेको छैन’, प्रदेश प्रमुख गुरुङले भने । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि संविधानको धारा १६८ बमोजिम सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।
१६८ को उपधारा १ बमोजिम गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नभएकाले उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने छन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि एमाले नेतृत्वमा सरकार बन्ने देखिएको छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद मिलेर गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र माओवादी ८ सांसद मिल्दा सजिलै सरकार बन्न सक्थ्यो तर एमाले नेतृत्वमा माओवादी, राप्रपा गठबन्धन बन्दा ३२ जना सांसद हुने छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङ) एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
एमालेबाट मुख्यमन्त्री बन्न योजनाकै साथ खगराज संघबाट कास्की–१ (१)मा झरेका थिए । एमालेले खगराजलाई आइतबार सर्वसम्मत दलको नेता बनाइसकेको छ । अधिकारीले तत्काल सरकार गठनका लागि आह्वान गर्नुपर्ने र अब बिलम्ब गर्न नहुने बताए । ‘सरकार गठनको लागि आह्वान भएसँगै मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्छु’, उनले भने, ‘शीर्ष नेताहरुले प्रदेशको टुंगो पनि लगाइसकेका छैनन् ।’
नेपाली कांग्रेसको बुधबार संसदीय दलको नेता चुन्दै छ । गोरखामा प्रचण्डकै क्षेत्रबाट मुख्यमन्त्री बन्ने योजनाका लागि प्रदेशमा उठेर चुनाव जितेका सुरेन्द्र पाण्डे मुख्यमन्त्रीका आकांक्षी थिए ।
त्यो सम्भावना नदेखिएपछि अब प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्ने पाण्डेले बताइसकेका छन् । तर, पाण्डे अहिलेसम्म दलकै नेता बन्न सर्वसम्मत हुने सम्भावना भने देखिएको छैन । उनकै विचार समूहका मन्त्री विन्दुकुमार थापा, महेन्द्रध्वज जिसी र भोजराज अर्याल पनि आकांक्षी छन् । तर, कांग्रेस नेतृत्वमा तत्काल सरकार बन्ने सम्भावना नदेखिएकाले सर्वसम्मत गराउने कोशिस भइरहेको कांग्रेस गण्डकीका उपाध्यक्ष मेखलाल श्रेष्ठले बताए ।
माओवादीको पनि संसदीय दलको निर्वाचन भइसकेको छैन । दलको नेतामा आफू निर्विकल्प भएको पूर्व मन्त्रीसमेत रहेको हरिबहादुर चुमानले आफू निर्विकल्प रहेको बताउँछन् ।
हेर्नुहोस् पत्र :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4