
२१ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको बोझनीमा बिहीबार पाँचौं दिन पनि स्थानीयले प्रदर्शन गरेका छन् ।
बोझनीमा विद्युत सब स्टेशन निर्माण गर्न नहुने भन्दै स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा एक बालकसहित चार जना घाइते भएका छन् ।
विद्युत प्राधिकरणले प्रहरीको सुरक्षामा आइतबारदेखि सब स्टेशन निर्माण सुरु गरेको छ । स्थानीयको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगमा सोमबार उजुरी पनि दिएका छन् ।
शंखरापुर नगरपालिका – ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासी विरोध गरिरहेका छन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आइरहेका छन् ।
४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका र देशका अन्य क्षेत्रमा पठाउन विद्युत प्राधिकरणले शंखरापुरको बोझनीमा सब–स्टेसन बनाउन लागेको हो ।
यो सब–स्टेसनले माथिल्लो तामाकोशीसंगै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बस्तीको बीचमा पर्ने यो सब–स्टेसनमा तीनतिरबाट ‘हाइ भोल्टेज’ विद्युत प्रवाह हुनेछ ।
स्थानीय वासिन्दाले भने झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बीचमा सब स्टेशन निर्माण गर्न लागेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया 4