 
																			१६ माघ, काठमाडौं । तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको बानेडुंग्रीसैनको मोटरेबल पुल आठ बर्ष ६ महिना हुँदा पनि नबनेपछि छिटो निर्माण गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा निर्माणाधीन उक्त पुलको काममा ढिला सुस्ती भएको भन्दै शिखर नगरपालिका–११ का स्थानीयबासी समेत रहेका पत्रकार रामहरि ओझाले सोमबार सिट निवेदन दर्ता गरेका हुन् ।
सार्वजनिक खरीद ऐन, २०६३ विपरीत पटक पटक सार्वजनिक खरीद नियमावली संशोधन गर्दै म्याद थप गर्दै गरेको, पुल निर्माणमा ढिलाई हुँदा समेत निर्माण व्यवसायीमाथी कुनै कारवाही नभएको, निर्माण व्यवसायीले लापरवाही गरेकोले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न परमादेश लगायत अन्य उपयुक्त आदेश माग गरिएको छ ।
रिट निवेदनमा सार्वजनिक खरीद ऐन बिपरीत पटक पटक नियमावली संसोधन गर्दै म्याद थप गराउने काम गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय काठमाडौं, लामो समयसम्म पनि काम नहुँदा निर्माण व्यवसायीलाई कारवाही नगरेको भन्दै सडक डिभिजन कुलपाते डोटी, पुल निर्माण कार्य समयमै नगर्ने निर्माण व्यवसायी कम्पनी पप्पु–राजेन्द्र जेवी र पुल निर्माणका लागि आवश्यक समन्वय नगरेको भन्दै शिखर नगरपालिकालाई विपक्षी बनाइएको छ ।
रिट निवेदनमा पुल समयमै नवन्दा संबिधानको धारा ४४ अनुसारको उपभोक्ताको हकको उपयोगबाट त्यस क्षेत्रका बासिन्दा बञ्चित भएको दावी गरिएको छ ।
उच्च अदालत दिपायलले उक्त रिट निवेदनमा मंगलवार पेशी तोकेको छ ।
यस्तो छ पुल निर्माणको कथा
सेती नदीमा मोटरेबल पुल निर्माण गर्नका लागि सडक डिभिजन कुलपाते, डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु–रोजेन्द्र जेवीबीच २०७१ साल असार २९ गते सम्झौता भएको थियो । सो सम्झौता अनुसार तीन बर्षमा काम सम्पन्न हुनुपर्ने थियो ।
तीन बर्षे पहिलो ठेक्का सम्झौता अवधी सकिएर पाँच पटक म्याद थप समेत भईसकेको छ । हालको सम्झौता अनुसार ठेक्काको म्याद २०८० असार २८ गतेसम्म रहेको छ । तर कार्य प्रगति भने २२ प्रतिशत मात्रै भएको छ ।
मुल्य अभिबृद्धि कर (भ्याट) सहित २६ करोड २० लाखको लागतमा निर्माण हुने तीन सय २० सय मिटर लम्वाईको उक्त आरसिसी पुल निर्माण हुने गरि सम्झौता भएकोे थियो ।
सडक डिभिजन कुलपातेका सूचना अधिकारी इन्जिनियर रामचन्द्र जैसीका अनुसार थप म्यादको अवधीमा पनि पुल निर्माण हुने सम्भावना छैन ।
निर्माण व्यवसायी कम्पनी भने अनेक बहाना बनाउँदै पन्छिदै गरेको छ । चार बर्ष पहिले (२०७५ साल कात्तिक ६ गते) पुल निर्माण कार्यमा ढिलाई हुनुको कारण सोध्दा फाउण्डेसनमा समस्या भएको ढिलो भएको निर्माता कम्पनी पुष्प–राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउँदले वताएका थिए ।
‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ उनले भनेका थिए ‘बोर पाइलिङ मेसिन ल्याउनु पर्ने भएका कारण ढिलाई भएको हो ।’ उनले मेसिन ल्याइसकेको र आगामी असार मसान्तभित्र (२०७६) निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्ने बताएका थिए ।
उनले त्यो वाचा गरेको चार बर्ष बितिसक्दा पनि जम्मा २२ प्रतिशत मात्रै काम भएको छ । त्यसयता कहिले मजदुर नपाएको, कहिले कोभिड र कहिले नदीमा पानी बढेको बहाना कम्पनीले गर्दै आएको छ ।
निर्माता कम्पनीले पुलका लागि भन्दै क्रसर चलाएकोले काममा ढिलाई भएको स्थानीयबासीहरुको आरोप छ । ‘लामो समयसम्म क्रसर चलाएर यताको गिट्टी, बालुवा, ढुङ्गा अन्तै आसो¥यो’ एक स्थानीय भन्छन् ‘हामीले बिरोध गरेपछि मात्रै तस्करी रोकियो । सडक डिभिजनका एक कर्मचारी बताउँछन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4