
काठमाडौं । सामसुङ कम्पनीले आफ्नो ग्यालेक्सी एस सिरिजको पछिल्लो संस्करण ग्यालेक्सी एस २३ हालै सार्वजनिक गरेको छ ।
ग्यालेक्सी एस २३ सिरिजमा तीन वटा मोडेल सार्वजनिक गरिएकोमा ग्यालेक्सी एस २३ अल्ट्रा सबैभन्दा महंगो तथा शक्तिशाली स्मार्टफोनको रुपमा रहेको छ ।
यो स्मार्टफोन सामसुङको हालसम्मकै सबैभन्दा महंगो स्मार्टफोन समेत हो । सामसुङले यो स्मार्टफोनमा रहेको क्यामराका विषयमा विभिन्न खालका दाबी गर्दै आएको छ । २ सय मेगापिक्सेलको मुख्य क्यामरा रहेको उक्त स्मार्टफोनको क्यामरा जूमबाट ट्वीटरका सीईओ तथा अर्बपति एलन मस्क समेत प्रभावित भएका छन् ।
खासै अरुको प्रसंसा गर्ने बानी नभएका एलन मस्कले सामसुङको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोन ग्यालेक्सी एस २३ अल्ट्रामा रहेको क्यामराको खुलेरै प्रसंसा गरेका हुन् । उनले त्यसका बारेमा एक ट्वीट गरेका छन् । ग्यालेक्सी एस २३ अल्ट्राले चन्द्रमाको प्रष्ट तस्वीर खिचेको एउटा भिडियो ट्वीटरमा शेयर गरिएकोमा मस्कले उक्त भिडियोमा टिप्पणी गर्दै वाह लेखेका छन् ।
माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक अमेरिकी युट्युबर मार्कस ब्रोनलीले सो भिडियो पोस्ट गरेका थिए ।
भिडियोमा उनले ग्यालेक्सी एस २३ अल्ट्राबाट १०० गुणा जूममा चन्द्रमाको तस्वीर खिच्दा कस्तो देखिन्छ भन्ने देखाएका छन् । भिडियोसँगै उनले ट्वीटमा लेखेका छन्, ‘मलाई थाहा छैन कि १०० गुणामा चन्द्रमाको तस्वीर खिच्ने आवश्यकता कसलाई होला ? तर यसका लागि ग्यालेक्सी एस २३ अल्ट्रा फोन तपाईँका लागि उपलब्ध छ ।’
I don’t know who needs to take a 100x photo of the moon, but clearly the Galaxy S23 Ultra is the phone for you pic.twitter.com/IIe33Vr6rI
— Marques Brownlee (@MKBHD) February 7, 2023
उक्त ट्वीटको जवाफमा एलन मस्कले दंग परेर वाह लेखका छन् । यसको अर्थ उनी एस २३ अल्ट्राको क्यामराबाट निकै प्रभावित भएका छन् । वास्तवमा स्मार्टफोनको क्यामराले चन्द्रमाको तस्वीर पनि निकै गज्जब खिचेको छ, कुनै व्यावसायिक क्यामेराले खिचेको जस्तो ।
स्मरण रहोस् यो फोनमा २०० मेगापिक्सेल सेन्सरको प्रयोग गरिएको छ । साथै यसमा एडाप्टिभ पिक्सेल रहेको छ जसले तस्वीरलाई निकै विस्तृत रुपमा कैद गर्न सक्दछ ।
कम्पनीका अनुसार यसमा रहेको Super Quad Pixel AF फिचरबाट तस्वीर लिन लागिएको कुनै पनि वस्तुमा ५० प्रतिशत छिटो फोकस गर्न सकिन्छ । यो स्मार्टफोनको सेल्फी क्यामरा समेत डुअल पिक्सेल अटोफोकस प्रविधिले युक्त छ ।
ग्यालेक्सी एस २३ अल्ट्राको क्यामरामा नाइटोग्राफी प्रविधिको प्रयोग गरिएको छ । जसका कारण यो क्यामराले कमजोर प्रकाशमा पनि गज्जबको सेल्फी खिच्न सक्छ ।
– एजेन्सी
प्रतिक्रिया 4