
१७ फागुन, काठमाडौं । कोभिड-१९ महामारीका कारण लगातार चार वर्ष प्रभावित भएको हिमालयन ट्राभल मार्ट यस वर्ष आयोजना हुने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्वमा यो कार्यक्रम आयोजना हुने गरेको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पाटा अन्तर्राष्ट्रिय एवम् पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाले मार्ट आयोजनामा सहयोग गर्ने गरेका छन् ।
हिमालयन ट्राभल मार्टको चौथौ संस्करण २३ जेठदेखि २६ जेठसम्म काठमाडौंमा आयोजना हुनेछ । सन् २०१७ देखि २०१९ सम्म वार्षिक रुपमा हिमालयन ट्राभल मार्ट आयोजना हुँदै आएको हिमालय ट्राभल मार्ट कोभिड–१९ महामारीका कारण सन् २०१९ पश्चात आयोजना हुन सकेको छैन ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरका अनुसार हिमालयन ट्राभल मार्ट २०२३ मा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई आह्वान गरिएको छ । यसले नेपालको पर्यटनलाई पुनरुत्थान गर्न सहयोग गर्ने उनको भनाइ छ ।
नेपालको अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा चिनिने हिमालयन ट्राभल मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन (तिब्बत), भुटान र म्यानमार जस्ता हिमालयन राष्ट्रहरुबाट बिक्रेताहरु तथा युरोप, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याड, एसिया, सीआईएस राष्ट्रहरु, एसिया र अरब राष्ट्रका विश्वव्यापी क्रेताहरुलाई सहभागी गराउने तयारी छ ।
प्रतिक्रिया 4