२४ फागुन, गुल्मी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका गुल्मीमा तीन विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (विप्लव) समूहका विद्यार्थी संगठनबीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो ।
आउदो चैत ५ गते गुल्मीका ११ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनको लागि एउटा क्याम्पस बाहेक ९ वटा क्याम्पसमा तीन विद्यार्थी संगठनबीच चुनावी तालमेल गर्ने सहमती भएको अनेरास्ववियु गुल्मीका जिल्ला अध्यक्ष शोभाखर गिरीले बताए ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचना लागि नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपाली, माओवादी केन्द्र गुल्मीका सचिव अशोक थापा सहित तीन विद्यार्थी संगठन अध्यक्षले हस्ताक्षर गर्दै तालमेल गरेर जाने संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
सहमति अनुसार एमाले निकट अनेरास्ववियुले रेसुङ्गा क्याम्पस, रुद्रावती क्याम्पस, मानका टीकाराम बहुमुखी क्याम्पस, सत्यवती क्याम्पस, रुरु क्याम्पस, दिगाम आदर्श क्याम्पसमा नेतृत्व लिने सहमति भएको छ ।
गिरीका अनुसार अनेरास्ववियु क्रान्तिकारीले धुर्कोट बहुमुखी क्याम्पस, जनज्योति क्याम्पस, चन्द्रकोट क्याम्पस र रुरु संस्कृत विद्यापिठमा नेतृत्व लिने छ । त्यस्तै श्रृङ्गेश्वर क्याम्पसमा स्थानीय आवश्यकता, भावना र मर्मलाई मध्यनजर गरी तालमेल र सहमति गरी अघि बढने अनेरास्ववियु गुल्मीका जिल्ला अध्यक्ष गिरीले बताए ।
अनेरास्ववियुले अध्यक्षको नेतृत्व लिएको क्याम्पसमा क्रान्तिकारीले सचिव पदमा नेतृत्व लिने र क्रान्तिकारीले अध्यक्ष लिएको क्याम्पसमा अनेरास्ववियुले सचिव लिने सहमति छ । अन्य पदमा आन्तरिक सहमतिका आधारमा उम्मेदवार टुंगाउने सहमति भएको छ । तालमेल भएका विद्यार्थी बीच कमरेडली एकता तथा हार्दिकतापूर्ण समझदारीको विकास गर्ने गिरीले बताए ।
स्वतन्त्र विद्यार्थी युनियनलाई प्रगतिशील विचारधाराले सञ्चालन गर्दा अझ बढी प्रभावकारी बनाउन सकिने ठहर गर्दै वामपन्थी शक्तिहरुको तालमेल, सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै यो निर्वाचनमा संयुक्त ढंगले अघि वढने सहमति भएको नेकपा माओवादी केन्द्रका सचिव अशोक थापाले बताए । तीन विद्यार्थी संगठन बिच तालमेल गर्ने सहमति भएसँगै संगठनहरु उम्मेदवार टुङ्गो लगाउन लागेका छन् ।
०७३ सालमा भएको स्ववियु निर्वाचन अनेरास्ववियुले रेसुङ्गा र सत्यवती क्याम्पसमा जितेको थियो । त्यस्तै नेविसंघले रुरु संस्कृत विद्या पिठ र चन्द्रकोट क्याम्पसमा जितेको थियो । क्रान्तिकारीले धुर्कोट र श्रृङ्गेश्वर क्याम्पसमा जितेको थियो । अरू क्याम्पसहरुमा निर्वाचन हुन सकेको थिएन ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4