 
																			६ चैत, काठमाडौं । बीमा कम्पनीमा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने लहर नै चलेको छ । चार वटा जीवन बीमा कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको स्वीकृत माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
५ चैत आइतबार सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । यसअघि आईएमई लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स र रियायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका थिए । महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि मर्जर अगाडि आईपीओ निष्कासन गर्नका लागि नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक सहमति माग गरेको छ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेको प्रतिसेयर नेटवर्थ प्रतिसेयर अंकित मूल्य भन्दा बढी रहेका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ ।
‘प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्ने संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संगठित संस्थाको प्रति सेयर चुक्ता पूँजी भन्दा प्रति सेयर नेटवर्थ बढी भएको हुनपर्नेछ,’ धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भनिएको छ, ‘संगठित संस्थाको साधारण सभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको, संगठित संस्थाले प्रिमियम मूल्य निर्धारण गर्दा अपनाइएको विधि, औचित्य र औचित्यलाई पुष्टि गर्ने गरी संगठित संस्था भन्दा बाहिरका विज्ञ वा विज्ञ संस्थाबाट प्रमाणित धितोपत्र मूल्यांकन प्रतिवेदन, निर्देशिकामा उल्लिखित प्रिमियम निर्धारण सम्बन्धी व्यवस्था पालना गरेको र संगठित संस्थाले कम्तिमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङ्गको ग्रेड प्राप्त गरेको हुनु पर्नेछ ।’
कसरी निर्धारण हुन्छ प्रिमियम मूल्य ?
धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन वा बिक्री प्रस्ताव मार्फत निष्कासन गर्न चाहने संगठित संस्थाको धितोपत्रको प्रिमियम गणना गर्दा पछिल्लो तीन वर्षको पूँजीकृत भएको आम्दानी (क्यापिटलाइज्ड अर्निङ्ग), भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) र अन्तर्राष्ट्रिय प्रचलनको आधारमा मूल्यांकनकर्ताले अपनाएको अन्य कुनै एक विधि अवलम्बन गरी प्राप्त हुने कुल मूल्यको औसत मूल्य गणना गर्नु पर्ने व्यवस्था धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले गरेको छ । यसरी कायम भएको औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्ने व्यवस्था नियमावलीले गरेको छ ।
कुन कम्पनीले कति मूल्यमा निष्कासन गर्दैछन् आईपीओ ?
सिटिजन्स लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १९० रुपैयाँ प्रिमियम थप गरिक कुल २९० रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि भने प्रतिकित्ता अंकित मूल्यमा नै आईपीओ जारी गर्ने भएको छ । सर्वसाधारणलाई निष्कासन गर्ने सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेको नेपालीहरुको लागि निष्कासन गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका संशोधन गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता २९० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १०० रुपैयाँमा निष्कासन गर्ने सेयरसहित कुल ३ अर्ब १५ करोड ५६ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
यस्तै आईएमई लाइफले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले कुल १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीले २ फागुनमा आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो ।
यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम सहित प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले कुल ९६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गरको हो । आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ रहेको छ । कम्पनीले १७ फागुनमा आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले कुल १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । गत १३ मंसिरमा कम्पनीले बोर्डमो आवेदन दिएको हो ।
यस्तै महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि मर्जर अगाडि सार्वजनिक निष्कासन गरेर मात्रै मर्जरमा जाने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्राइ बताउँछन् । मर्जरमा जान लागेको प्रभु लाइफसँगको सहमतिमा आईपीओ जारी गर्ने प्रस्ताव गरिएको उनले बताए । आईपीओ जारी नगरी मर्जरमा जाँदा बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी नपुग्ने भएकोले पनि आईपीओपछि मात्रै मर्जरमा जाने प्रस्ताव सहित बीमा प्राधिकरणसँग स्वीकृति माग गरिएको उनले बताए । कम्पनीले प्रिमियम मूल्यमा नै आईपीओ जारी गर्ने भट्टराई बताउँछन् ।
मर्जरमा जाने महालक्ष्मी लाइफ आईपीओ जारी गरेर मात्रै मर्जर जाने निर्देशन दिएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । कम्पनीलाई आईपीओ जारी गर्न सैद्धान्तिक सहमति पनि दिइसकेको पौडेले बताउँछन् । महालक्ष्मी लाइफ र अन्य चार वटा जीवन बीमा कम्पनीलाई प्राधिकरणले आईपीओ जारी गर्ने सैद्धान्तिक सहमति दिएको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बताए । प्रिमियम मूल्यमा निष्कासन गर्ने अथवा कति मूल्यमा निष्कासन हुन भन्ने निर्णय नेपाल धितोपत्र बोर्डले गर्ने कार्यकारी निर्देशक पौडेल बताउँछन् । महालक्ष्मी लाइफले भने आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिन बाँकी छ ।
२७ कम्पनी आईपीओ निष्कासनको अनुमति कुर्दै
४ वटा जीवन बीमा सहित कुल २७ वटा कम्पनी धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका छन् । जसमध्ये रिलायन्स स्पीनिङ मिल्स र सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन् । सर्वोत्तम सिमेन्टको योग्य संस्थागत लगानीकर्ताले तय गरेको मूल्य न्यूनतम ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ ५० पैसासम्म रहेको छ । रिलायन्स स्पीनिङ मिलको योग्य संस्थागत लगानीकर्ताले तय गरेको मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म रहेको छ ।
घोराही सिमेन्टले पनि प्रिमियम मूल्यमा ७९ लाख ४३ हजार ८०१ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । कम्पनीले आयोजना प्रभावितलाई प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको हो । सोनापुर मिनिरल एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कानस गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गर्ने अनुमति माग गरेको छ । कम्पनीले सर्वसाधारणको लागि भने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४९ रुपैयाँ ८४ पैसा प्रिमियम सहित कुल २४९ रुपैयाा ८४ पैसामा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल १ करोड २३ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
भगवती हाइड्रोपावरले पनि प्रिमियम मूल्यमा आईपीओ निष्कासनको लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले कुल १४ लाख ३० हजार १६२ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ ।
यसबाहेक माण्डु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४८ रुपैयाँ प्रिमियम सहित आईपीओ निष्कासनको अनुमति माग गरेको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई समेत गरेर प्रतिकित्ता २४८ रुपैयाँमा १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4