+
+

‘पर्यटकीय क्षेत्र ठोरीलाई दिने भनेको १० करोड खै ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २० गते १९:२०

२० चैत, वीरगञ्ज । मधेश प्रदेशका तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले २०७८ चैत ११ गते ठोरीमा भाषण गर्दा भनेका थिए, ‘यो ऐतिहासिक ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ, यहाँहरुलाई म बधाई दिन चाहन्छु ।’ ठोरीमै बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकपछि मुख्यमन्त्री राउतले पर्यटकीय पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय पनि सुनाएका थिए । तर, ठोरीले १० करोड त परको कुरा १० रुपैयाँ पनि पाएको छैन ।

उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवको उपस्थितीमा सोमबार ठोरीमा आयोजित कार्यक्रममा वक्ताहरुले एक वर्षयता उधारो रहेको मधेश प्रदेश सरकारको घोषणा सम्झाए । यसरी झुक्याइरहे बागमती प्रदेशमा मिल्न जाने चेतावनी समेत उनीहरुले दिए ।

ठोरी गाँउपालिकासँगको समन्वयमा होटल तथा पर्यटन व्यवसायी संघ, वीरगञ्जले आयोजना गरेको कार्यक्रममा गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले तत्कालीन मुख्यमन्त्री राउतलाई १० करोडबारे ध्यानाकर्षण गराउन जाँदा नमिठो बचन लगाएर फर्काएको सम्झिए ।

‘प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बन्ने बेला जनकपुर गएर मुख्यमन्त्रीज्यूसँग कुरा राख्दा ठोरीलाई १० करोड बजेट दिंदा मलाइ के फाइदा हुन्छ र दिनु भन्ने जवाफ दिनुभयो ।’

३० वैशाखमा भएको स्थानीय निर्वाचनमा जसपाले १३५ मत मात्रै पाएको प्रसंग झिक्दै मुख्यमन्त्री राउतले त्यति भोट आउने ठाउँलाई १० करोड रुपैयाँ दिन सक्दिन भनेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘यसरी १० करोडको ललिपप देखाएर ठोरीवासीलाई झुक्याउने काम भएको छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार, तत्कालीन उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुघन महत्तोले पनि पर्यटन क्षेत्र विकासका लागि ठोरीलाई २ करोड रुपैयाँ दिने घोषणा गरेका थिए । ‘पर्यटन मन्त्रालयबाट पनि पछि १ करोड मात्र निकासा भयो’, उनले भने, ‘त्यो पनि अझै ठोरी आइपुगेको छैन । कहाँ अड्किएको छ थाहा छैन ।’

त्यस्तै, वडा नं २ का अध्यक्ष अमृतकृष्ण सापकोटाले मधेश प्रदेशलाई ठोरी नचाहिएकै हो भने बागमती प्रदेशमा मिसाउन आवाज उठाउने चेतावनी दिंदै विभेद खेपेर बस्न नसक्ने बताए ।

‘मन्त्रिपरिषद्‍बाट निर्णय गराइ मुख्यमन्त्री स्वंयले घोषणा गरेको १० करोडको अत्तोपत्तो नहुँदा हामी निराश छौं’, मन्त्री सुनिता यादवलाई उनले सुनाए, ‘प्रदेश सरकारको यस्तै रबैया रहे हामी बागमतीमा मिसिन तयार हुनेछौं ।’

एमालेको ठोरी गाँउपालिका अध्यक्ष खगेन्द्र श्रेष्ठले ठोरीप्रति मधेस प्रदेश सरकारको दृष्टकोण विभेदकारी रहेको गुनासो गरे । उनले प्रदेश सरकारले यसरी झुक्याएकोमा ठोरीवासीमा आक्रोश बढ्दै गएको बताए ।

कार्यक्रममा पर्यटन मन्त्री यादवले तत्कालीन मुख्यमन्त्रीले कार्यान्वयन हुनै नसक्ने कुरा बोल्न नहुने बताउँदै भनिन्, ‘विगतका मुख्यमन्त्री ज्यूले १० करोड दिन्छु भनेर कसरी बोल्नुभयो भन्नेबारे कुनै टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु कि पुरा गर्न नसकिने कुरा बोल्नु हुँदैनथ्यो ।’

प्रचुर पर्यटकीय सम्भावना बोकेको प्रदेशकै एक महत्वपूर्ण पालिका भएकाले प्रदेश सरकारले ठोरीलाई प्राथमिकतामा राख्ने आश्वासन दिंदै उनले अगाडि भनिन्, ‘प्रदेश सरकारको नजरमा ठोरी छ, यहाँको पर्यटन विकासमा प्रदेश सरकारले कन्जुस्याँइ गर्दैन । नयाँ बजेटमा ठोरीले प्राथमिकता पाउँछ ।’

ठोरीलाई मधेशबाट हटाएर अर्को प्रदेशमा मिसाउने कुराले समस्या समाधान नहुने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?