आजकाल आर्थिक प्रतिवेदनहरूमा गरिने अंकहरूको प्रयोगसँग हामी सबै परिचित नै छौं। अर्थतन्त्रको वृद्धिदर ४ प्रतिशत मात्र हुने, मुद्रास्फीति दुई अंकमा पुग्ने, अमेरिकामा फेब्रुअरीमा ३ लाख ११ हजार नयाँ रोजगारी सिर्जना जस्ता खबरहरू अहिलेको खबर प्रणालीका अभिन्न अंग भएका छन् ।
राम्रा आर्थिक अध्ययनहरूले समाजको कथा भन्छन्। जसरी पल सेज्यानले फ्रान्सेसी गाउँहरूको मिहिन चित्रण गरेर पेन्टिङहरू बनाए, त्यस्तै अपेक्षा राम्रो साहित्यले गर्ने समाजको चित्रणमा पनि गर्न सकिन्छ। समाजको स्वरूप कलामा उतार्दा त्यसमा विस्तृत रूपमा आर्थिक, सामाजिक रेसाहरूको चित्रण भएको हुनुपर्छ।
अंकले समाजको चित्र सुन्दर बनाउन सहयोग गर्छ। ‘त्यो मुलुकमा राम्रो भैरहेको थियो, नयाँ नयाँ रोजगारी सिर्जना भैरहेको थियो, जन्मने वित्तिकै बच्चाहरू मर्ने क्रम कम हुँदै गएको थियो’ भन्नु र ‘त्यो मुलुकमा राम्रो भैरहेको थियो। अघिल्लो दशकमा रोजगारी सिर्जना दर वार्षिक दुई प्रतिशतले बढेकोमा उक्त दशकमा वार्षिक पन्ध्र प्रतिशतले बढेको थियो। अघिल्लो दशकमा सयवटा बच्चा जन्मेकोमा पाँच जना जन्मने वित्तिकै मर्थे, उक्त दशकमा यसरी मर्ने दुई जनामा झरे’ भन्नुमा फरक छ।
अर्थशास्त्रीहरूलाई त यसै पनि अंकको साथ चाहिन्छ। तर सबै खालका कलालाई अर्थशास्त्रीकै तहको विस्तृत सूचना चाहिन्छ भन्ने हैन, कृतिको मूल ध्येय हेरेर के कुरामा डिटेल भर्ने र के कुरालाई अब्स्ट्रयाक्ट नै छोडिदिने भन्ने हुन्छ। तर जेलाई चित्रण गर्न खोजिएको हो त्यसको चित्रण विस्तृत र यथार्थपरक हुनुपर्छ भन्नेमा संभवत: दुईमत नहोला।
अंकको प्रयोग कुन वर्ष सुरु भयो, हामीलाई थाहा छैन। कुन वर्ष हाम्रा पुर्खाले १, २, ३, लेख्न थाले भन्ने अड्कल गर्न पनि गाह्रो छ। त्यस्तै कुन वर्ष हाम्रा पुर्खाले पैसाको प्रयोग गर्न सुरु गरे र बजार अर्थतन्त्र सुरु भयो भन्ने पनि कसैलाई थाहा छैन। बजार अर्थतन्त्र पहिले सुरु भयो कि धर्म र अध्यात्म पहिले सुरु भयो पनि भन्न सकिंदैन। सबैजसो धर्मका ग्रन्थहरूमा सामान बेच्दा नाफा लिनु, धेरै व्याज लिनु खराब हो जस्ता कुराहरू परेका छन्। धर्मको सुरुवात बजार अर्थतन्त्रको नाफाखोरीको विरुद्धमा प्रतिक्रियाको रूपमा भएको हो कि ?
अर्कोतिर धर्महरूले सिकाएका आदर्शका कुराहरू समाजलाई खासै पाच्य नहुने भएकोले मानिसले त्यसको विरुद्ध विद्रोह गरेको इतिहास छ। आखिर मान्छे जंगली समाजबाट आएको प्राणी न हो। उसलाई धर्महरूले भन्ने ‘अरुलाई नठग, अरुको नचोर, सबैलाई माया गर’ कुरा मानिराख्न सजिलो छैन।
उसमा अन्तर्निहित लोभ र ईर्ष्याले उसलाई अरुको सम्पत्ति चोर्न, आवश्यक परे अरुलाई मार्न र पिट्न लगाउँछ। यी सबैको प्रतिक्रियास्वरूप कसैले बजार, पैसा जस्ता उपकरण आविष्कार गरेको पो हो कि? अब अर्काको चिज मनपर्यो भने त्यो चिजको मालिकलाई नपिटी, नमारी त्यो चिज लिन सकिन्छ, धर्मका कोरा उपदेशले भन्दा यसले समाजमा शान्ति ल्याउनेछ भनेर बजार अर्थतन्त्र र बजारका आविष्कारकले हर्षबढाइँ गरेका थिए कि?
यस प्रवचनमा मेरो मान्यता बजार अर्थतन्त्र र अध्यात्म मध्ये कुन पहिला आए भन्न सकिन्नँ तर अंक पछि आएको हो र यसले अर्थतन्त्रलाई परिष्कृत रूपले हेर्न मद्दत गर्यो भन्ने हुनेछ। अंकले कसरी अध्यात्मलाई बुझ्न सहयोग गर्यो भन्ने पनि मैले उल्लेख गर्नेछु जुन विद्वत् वर्गलाई नयाँ दृष्टिकोण महसुस हुनेछ भन्ने मेरो विश्वास छ। अध्यात्मले उठाउने गहन प्रश्नहरूको उत्तर दिन अंक र अर्थशास्त्रका अध्ययनहरू सहयोगी सिद्ध हुन्छन् भन्ने पनि मेरो तर्क हुनेछ।
आदिशक्ति
मलाई कुनै एकदिन सम्झेर त्यो दिन म बच्चाबाट युवा भएँ जस्तो महसुस हुने एउटा दिन छ। म कलेज भर्खर जाँदाको एक दिन। म बाथरूममा नुहाउँदै थिएँ। यो पृथ्वी कसले सिर्जना गर्यो होला भन्ने प्रश्न बारे विचार गर्न थालें। भगवान। सबैको जस्तो मेरो पनि पहिलो शंका उनै माथि रह्यो। तर भगवान कहाँ होलान्? उनी कोसँग खेलेर बस्छन्? उनी खेल्ने चौर कसले बनायो होला? उनी कोसँग कुराकानी गरेर बस्छन् होला?
अनि उनले खेल्ने चौर, आँगन उनी जन्मँदादेखि नै थियो कि त्यसलाई कसैले बनायो होला? उनले गल्ती गर्दा उनलाई गाली गर्ने शिक्षक होलान् कि नहोलान्? जस्ता प्रश्न मेरो मनमा आए। यी सबैले मलाई के महसुस भयो भने उनीभन्दा पनि माथि कोही हुनुपर्छ। तर उनीभन्दा माथिका भगवान पनि कहाँ बस्छन् होला? यस्ता प्रश्नहरू फेरि मेरो मनमा आए।
यदि भगवान छन् भने उनको माथि पनि कुनै भगवान हुनुपर्छ जसले उनलाई बस्ने आँगन बनायो, उनलाई गल्ती गर्दा चेतावनी दिन्छ आदित्यादि। र यदि उनका माथि भगवान छन् भने त्यही ‘लजिक’ लगाउँदा के भन्न सकिन्छ भने ती भगवानका पनि माथि अर्को कुनै भगवान हुनुपर्छ। र यो सोच्दै गर्दा मेरो मनमा अलि डर लाग्यो।
कि त मैले सोचेको कुरा गलत थियो, कि त हामीभन्दा माथि अनन्त भगवान छन् । एउटा भगवान भन्दा माथिल्लो तहमा अर्को भगवान। तर त्यसपछि अर्को प्रश्न आयो, यो ‘सिक्वेन्स’ गएर कहाँ रोकिन्छ? त्यो ‘आदिशक्ति’ कहाँ छ? त्यो आदिशक्ति जसले सबै चिज सिर्जना गर्यो, जसको माथि केही छैन, जोभन्दा पहिला केही थिएन, जो पछि कोही हुँदैन? जसको आयु हुँदैन?
संयोगले त्यसबेला गणितमा साधारण जनतालाई पनि बुझ्न सक्ने भाषामा अनन्त अर्थात् इन्फिनिटीको बारेमा लेखिएका किताबहरू आएका थिए। गणितीय भाषामा यदि कुनै अंकलाई शून्यले भाग गर्नुभयो भने त्यो अनन्त हुन्छ। तर शून्य र अनन्त आफैंमा संकेत मात्र हुन्, अंक हैनन्। यिनलाई साधारण अंकझैं सोचेर हिसाब गर्न थाल्नुभयो भने यसले समस्यामा पार्न सक्छ। उदाहरणको लागि तलका हिसाबहरू हेरौं।
यदि शून्य कुनै अंक हुँदो हो त ०/० = (९-९)/(३-३)= ३२-३२/३-३=(३-३)(३+३))/(३-३) =६ सत्य हुन्थ्यो भने ०/०=(४-४)/(२-२)=(२-२)(२+२)/(२-२)=४ पनि सत्य हुन्थ्यो। अर्थात् यौटै ‘अंक’ (०/०) दुईवटा असमान अंक ६ र ४ सँग बराबर हुन्थ्यो।
अर्थात् जतिखेर शून्य र अनन्त जस्ता संकेत आउँछन्, हाम्रा साधारण ‘लजिक’ मिल्दैनन्।
भगवानसँग यसको के सम्बन्ध छ? हामी मर्त्यलोकमा रहेका मानिसको ‘लजिक’ लगाएर भगवानको बारेमा सोच्न थाल्यौं भने धेरै कुरा मिल्दैनन्। भगवानको अगाडि के, भगवानको आँगन कहाँ र कसले बनायो, भगवान पछि के आउँछ, भगवानलाई कसले चेतावनी दिन्छ जस्ता लजिक त्यो आदिशक्तिको लागि काम लाग्दैन।
१० मा १ घटायो भने ९ हुन्छ, तर अनन्तमा १ घटायो भने अनन्त नै हुन्छ। अनन्त भन्दा अगाडि कुन नम्बर आउँछ, ० पछि कुन नम्बर आउँछ जस्ता प्रश्नको कुनै उत्तर छैन। किनकि हामी मर्त्यलोकमा दीपेन्द्र भन्दा अगाडि वीरेन्द्र आए भन्न सक्छौं, ९ भन्दा अगाडि ८ आयो भन्न सक्छौं, तर भगवान भन्दा अगाडि को आयो वा अनन्त भन्दा अगाडि कुन अंक आउँछ जस्ता प्रश्न बेतुकका हुन् ।
यसको अर्थ गणित भगवानको प्रवृत्ति हेर्न सहायक छैन भनेर सोच्नु फेरि गलत हो। गणितज्ञहरूले अनन्तलाई जसरी हेर्ने उपाय निकाले, त्यो निराकार, निर्गुण भनेर मानिआएका भगवानलाई बुझ्ने एक महत्वपूर्ण सोपान हो।
अर्थ र अध्यात्मको सम्बन्धमा म अर्को एक उदाहरण प्रस्तुत गर्न चाहन्छु।
सनातन धर्ममा परमधाम र स्वर्गका दुई मान्यता छन्, जुन साधारण व्यक्तिहरूले एकै हुन् कि झैं गरेर प्रयोग गरेको देखिन्छ। भगवानको परमधाम (वैकुण्ठ) कस्तो छ भन्ने बारेमा श्रीमद्भगवतगीतामा भनिएको छ: न तद्भासयते सूर्यो न शशाङ्को न पावक: । यद्गत्वा न निवर्तन्ते तद्धाम परमं मम ।।
( न सूर्य, न चन्द्र, न अग्निले प्रकाश दिनुपर्छ, त्यस्तो छ एकपटक गएपछि कोही पनि नफर्कने मेरो परमधाम।)
त्यो परमधाममा भगवान बस्नुहुन्छ। भगवान को हुन त भन्दा ती ज्ञानं, ज्ञेयं,ज्ञानगम्यं अर्थात् ज्ञान पनि उनै हुन्, जान्नुपर्ने कुरा पनि उनै हुन् र जानेपछि पुगिने गन्तव्य पनि उनै हुन्।
स्वर्गको मान्यता अलि फरक छ। स्वर्गमा इन्द्र छन्, अप्सरा छन्, सोमरस छ, कल्पवृक्ष छ, पारिजात छ, अंग्रेजीमा भन्ने गरेको ‘कोर्न्युकोपिया’ स्वर्गमा छ। मरेपछि परमधाममा पुग्ने व्यक्तिहरू स्थितप्रज्ञ हुन्, ती यस्ता व्यक्ति हुन् जसले शत्रु र मित्रमा, मान र अपमानमा, जाडो र गर्मीमा, सुख र दु:खमा, निन्दा र प्रशंसामा भेद गर्दैनन्, खराब संगतमा रहँदैनन्, जसलाई घरबारसँग मतलब छैन, ज्ञानमा दृढ छन्। (समः शत्रौ च मित्रे च तथा मानापमानयोः। शीतोष्णसुखदुःखेषु समः सङ्गविवर्जितः॥१८॥ तुल्यनिन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित्। अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ॥१९॥) (श्रीमद्भगवदगीता)। यस्तै गीताकै अनुसार परमात्माको प्रिय ती निर्योगक्षेम व्यक्ति पनि हुन् जसलाई वस्तुको संग्रह गर्न र त्यसलाई रक्षण गर्न मतलब छैन।
प्रश्न के छ भने यस्तो स्थितप्रज्ञलाई अप्सरा र सोमरस युक्त स्वर्गको के मतलब हुन्छ र? स्वर्ग यसैले त्यो व्यक्तिले कल्पेको हो जसलाई यी सुखप्रति मोह थियो। परमधाम, जहाँ स्थितप्रज्ञ व्यक्तिहरू पुग्छन्, यस्तो व्यक्तिको कल्पना होला जसलाई भौतिक वस्तुको मोह थिएन र जसले यिनलाई तुच्छ ठान्थ्यो। स्वर्ग एक अर्थमा बजार आसक्त समाजबाट अति प्रभावित व्यक्तिको परिकल्पना भयो, परमधाम (अर्थात् वैकुण्ठ) बजार र वस्तु संग्रह गर्ने परिपाटीबाट वितराग व्यक्तिको।
परमधाममा पुगेको जीवात्मा ध्यान गर्ने, स्वयं आलोकित वैकुण्ठमा परमात्मासँग या त लीन हुने (अद्वैत मत) या सामीप्यमा रहने ( द्वैत मत) हुन्छ। उसको लागि अप्सरा र सोमरसको के महत्व हुन्छ? मलाई के लाग्छ भने मरेपछि मान्छे शान्त परमधाम जान्छ कि होहल्लायुक्त, अप्सरा र सोमरसको अनन्त आपूर्ति भएको स्वर्ग जान्छ भन्नेमा जति बहस हुनुपर्थ्यो त्यो भएन।
अर्थशास्त्रको आदि सोचाइ
पश्चिमा संसारमा २५०० वर्ष अघि ग्रीसमा भएका विद्वत्ताका कुराहरूलाई आधुनिक वैज्ञानिक पद्धतिको सुरुवाती भेलको रूपमा लिने गरिन्छ। जतिखेर सुकरात, प्लेटो र एरिस्टोटल निस्केका थिए, त्यतिखेर नै हाम्रोतिर पनि दूरगामी प्रभाव राख्ने बुद्ध, महाविर र कन्फ्युसियस जन्मेका थिए।
शायद त्यसैले पनि धेरैले ज्ञानको सुरुवाती बिन्दु हुँदैन, सुरुवाती भेल (बर्स्ट) हुन्छ भन्छन् । रेनेसाँ पछि पनि त्यही भएको हो र शायद कुनै विन्दुमा यो गति रोकिन्छ र फेरि यस्तै भेलको रूपमा सुरु हुन्छ भनेर सोच्ने वैज्ञानिकहरू धेरै छन्। यस्तै ज्ञानको स्रोतको रूपमा एरिस्टोटल उदाए र उही बेलातिर यता महाभारत पनि लेखियो। यी दुवैले अर्थशास्त्रको सुरुवाती विश्लेषणमा योगदान दिएका थिए।
बजारको संरचना र गति रोचक छ, र अर्थशास्त्रीहरूले सयौं वर्षदेखि बजारमा देखिएका विभिन्न घटनालाई हेरेर आफ्नो धारणा बनाएका छन् । २५०० वर्ष अघिको एरिस्टोटलको अर्थशास्त्रमा प्रमुख रुचि वस्तुको महत्व अर्थात् भ्याल्यु के हो भन्नेमा थियो। उनले नै भ्याल्यु इन युज र भ्याल्यु इन एक्स्चेन्ज को बीचको फरकलाई सर्वप्रथम ल्याएका थिए।
वस्तुको मूल्य त्यो कति महत्वपूर्ण छ भन्नेबाट हैन, त्यसलाई कुनै व्यक्तिले कति चाहना गर्छ भन्नेले निर्धारण गर्छ भन्ने अरिस्टोटल नै थिए। पानी र हावा धेरै महत्वपूर्ण हुन्छन् तर तिनको मूल्य हीरा जस्तो खासै कुनै काम नलाग्ने चिजको भन्दा निकै कम हुन्छ। त्यसैले वस्तुको मूल्यले त्यसको आन्तरिक महत्व झल्काउँदैन, व्यक्तिको चाहना जनाउँछ।
प्रमुख धर्महरूको उदय भएपछि अध्यात्मले बजारलाई कसरी लिनुपर्छ भन्ने प्रश्नको उठान भएको देखिन्छ। यो कालक्रममा विभिन्न प्रश्न उदाएका देखिन्छन् । सर्वप्रथम, कुनै पनि वस्तुको निर्माणमा मानव श्रमको उपयोग भएको हुन्छ। बजारमा उक्त श्रममा कति थपेर मूल्य निर्धारण गर्नु ठीक होला? हामीलाई थाहा भएसम्म सर्वप्रथम यो प्रश्न सोध्ने एक प्रभावशाली दार्शनिक सन्त थोमस अक्वाइनास थिए।
त्यसपछि अर्को महत्वपूर्ण प्रश्न सम्पत्ति भनेको के हो र व्यक्तिहरू किन र कसरी सम्पत्तिको मालिक बनेका छन् भन्ने हो । उदाहरणको लागि यो हल अगाडिको पसल र त्यसले चर्चेको जग्गा कसरी सम्पत्ति मानियो? किन घरमुनिबाट बग्ने माइखोलाको पानी सम्पत्ति मानिएन? उसले त्यो जग्गा र पसल कहिलेसम्म कुन शर्तमा आफ्नो भन्न पाउँछ? २०० वर्षपछि जसको हातमा यो जग्गा र संभवत: पसल हुन्छ त्यो कसरी त्यहाँ पुगेको हुनेछ? यी प्रश्नहरू आडम स्मिथ भन्दा अघि नै चर्चमा र मन्दिरहरूमा रहेका विभिन्न विद्वानले सोधेका छन्।
त्यस्तै महत्वपूर्ण प्रश्न नाफा र करको उत्तम मात्रा कति हो भन्ने पनि हो। जस्तै, एउटा व्यक्तिले अर्को व्यक्तिलाई वस्तु बेच्दा उसले कतिसम्म फाइदा लिएको राम्रो हो? एउटा राज्यले व्यक्तिलाई राज्यको छाता मार्फत सुरक्षा दिएबापत कतिसम्म कर लगाउनु राम्रो हो?
महाभारतमा सरकारले किन र कति कर लगाउनु ठीक हुन्छ भन्नेमा भीष्म र युधिष्ठिरको बीच वार्तालाप भएको पाइन्छ। यसको एउटा मीठो उदाहरण यस प्रकार छ: अबलस्य कुतः कोशो ह्यकोशस्य कुतो बलम् |अबलस्य कुतो राज्यमराज्य श्रीर्भवेत्कृतः ||
(‘कमजोरको भरिएको राज्यकोष हुँदैन, भरिएको राज्यकोष नभएको राजासँग शक्ति हुँदैन, शक्ति नभए अन्ततोगत्वा राज्य रहँदैन र राज्य नभए (अर्कोको अधीनस्थ मुलुकले सकी–नसकी कर बुझाउनुपर्ने भएकोले) समृद्धि हुँदैन।’)
नाफा र ब्याज पश्चिमा समाजमा सधैं झगडाको र जातिवादी सोचाइ फैलनुका कारक भएका छन्। प्रतिस्पर्धी बजारमा नाफा संभव हुँदैन तर पनि नाफा कमाउने व्यवसायीहरू पनि उत्तिकै छन्। संसारमा नाफा कसरी सिर्जना हुन्छ र कसैको हातमा गएर सम्पत्ति कसरी थुप्रिन्छ भन्ने बारेमा अध्ययन पनि लामो समय अघिदेखि नै भएको हो। प्रतिस्पर्धाको वातावरणको बारेमा अध्ययन पनि लामो समय अघि नै सुरु भएको हो। पूर्ण प्रतिस्पर्धाको अभावमा नाफाको सिर्जना हुन्छ भन्दै अरिस्टोटलले मनापलीको अध्ययन सुरु गरेका थिए, मोनाप्सनी त्यसको २२०० वर्ष पछि जोआन रविन्सनले।
त्यसपछि तेह्रौं शताब्दीमा अक्वाइनासको वस्तुको मूल्य कसरी निर्धारण हुन्छ र पैसा ब्याजसहित सापट दिने काम (युजुअरी) राम्रो हो कि हैन भन्ने बारेका भनाइहरू, सोह्रौं शताब्दीमा दार्शनिक मोलिनाको मुद्रास्फीतिको बारेमा भनाइहरूले अर्थशास्त्रलाई अघि बढाए ।
धेरै अर्थशास्त्रीको मतमा हाम्रो देशमा, भारतमा वा चीनमा औद्योगिक क्रान्ति नहुनु र पश्चिम युरोपमा हुनुमा फरक पार्ने घटना भनिएको राजाको हर्ने, भर्ने लगायत जनताको सम्पत्तिमाथि पूर्ण नियन्त्रण गर्ने अधिकार थियो। युरोपमा राजाको यो अधिकार कमजोर बनाउने प्रमुख घटना तेह्रौं शताब्दीको म्याग्नाकार्टाको घोषणा थियो। यसले आविष्कारकहरूलाई नयाँ काम गरेर सम्पत्ति कमाउन प्रोत्साहित गर्यो, व्यापारीहरूलाई दूरदराजसम्म जान उक्सायो।
यो अर्थशास्त्रको इतिहासको बारेको प्रवचन हैन, त्यसैले म अर्थशास्त्रको इतिहासको धेरै लामो व्याख्या गर्न चाहन्नँ। तर के कुरामा जोड दिन चाहन्छु भने यी सबै आधारभूत प्रश्नहरूको जवाफ गणितको विकास भएपछि बल्ल रिगरस रूपमा दिन सकियो।
यी अर्थशास्त्रीहरू पछि आडम स्मिथको सन् १७७६ को ‘राज्यको सम्पत्ति’ अर्थात् ‘वेल्थ अफ नेशन्स’ पुस्तकसँगै आधुनिक अर्थशास्त्र सुरु भएको मानिन्छ। औद्योगिक क्रान्ति पछि सम्पत्ति कसरी व्यक्तिको हातमा केन्द्रीकृत हुँदै जान्छ र यसले कसरी राज्यमा सम्पन्न र विपन्न बीच द्वन्द्व बढेर क्रान्ति हुने स्थिति आउँछ भन्ने प्रथम ‘रिगरस’ व्याख्या कार्ल मार्क्सको सन् १८६७ को ‘पूँजी’ मा पाइन्छ। यसले अर्थतन्त्र र क्रान्तिको गतिशील सम्बन्धलाई पहिलो पटक राम्रोसँग जोडेको मानिन्छ।
अर्थशास्त्रीहरू प्रायः धर्मसँग द्वन्द्वमा जाँदैनन् तर मार्क्सले धर्मलाई स्वीकार गरेनन्। उनको विचारमा धर्मले असत्यलाई निरन्तरता दिने एक उपरीसंरचनाको काम गर्छ। जब कुनै बच्चा जन्मेर आफूलाई र आफ्ना वरिपरिका अरुलाई हेर्छ, आफूमा जतिसुकै क्षमता भए पनि र आफ्नै वयका अन्य केहीमा जतिसुकै अक्षमता भए पनि जन्मका आधारमा ती व्यक्ति धनी र शक्तिशाली भएको र आफू विपन्न भएको पाउँछ।
बडेबडे क्षमतावानलाई पनि यस्तो स्थिति स्वीकार गराउने एक एजेन्सीको रूपमा उनी यस्ता उपरीसंरचनालाई औंल्याउँछन्। ‘उ देउताको अवतार हो, वा उ त विष्णुको अवतार हो, त्यसैले उसँग हामीलाई राज्य गर्ने अधिकार छ, हाम्रो सम्पत्ति लैजाने वा हामीलाई सम्पत्ति दिने अधिकार छ’ जस्ता मान्यता धर्महरूले नै भित्र्याएका हुन् जुन मान्यता मार्क्सको विचारमा सत्य हैनन्।
यस्ता मान्यतालाई तथ्यको रूपमा हेर्न सिकाउने उपरीसंरचना धर्म लगायत अन्य तत्कालीन युरोपेली समाजमा रहेका अवैज्ञानिक कुरा हुन् भन्ने मार्क्सको सोचाइ थियो। मार्क्सको क्रान्तिको सिद्धान्तलाई पछि धेरैले चुनौती दिए, तर उनको पूँजीको संचय (थ्यौरी अफ क्यापिटल अक्कुमुलेशन) मा अन्तर्निहित गतिशीलता (डाइनामिक प्रोसेस) को व्याख्या पनि अनन्तको सहयोगबाट संभव भएको हो। यदि कसैले वस्तु उत्पादन गर्यो, श्रमिकलाई थोरै मात्र तलब दियो र श्रमको मूल्यलाई आफ्नो फाइदाको रूपमा आफैंसँग राख्यो भने उसलाई नाफा हुन्छ।
धेरै व्यक्तिले अनन्त समयसम्म त्यो सामान किन्दै जाँदा त्यो पूँजीपतिसँग अत्यन्त धेरै नाफा जम्मा हुन्छ र उसका वरिपरि विपन्न श्रमिक मात्र बाँकी रहनेछन्। एक विन्दुमा ती श्रमिकले विद्रोह गर्नेछन्। मार्क्सका अनुसार पूँजीवादमा नाफाको, आर्थिक असमानताको र क्रान्तिको स्रोत यही हो। गणितको प्रयोग गरेर मार्क्सका धेरै हाइपोथेसिसहरूलाई उनी मरेको १४० वर्षसम्म पनि सिद्ध वा खण्डन गर्ने काम भइरहेको छ।
अध्यात्म र अंक
आधुनिक गणितमा क्याल्कुलस (र पछि फ्रेन्च गणितज्ञ अगस्टिन लुइ कशीद्वारा प्रतिपादित एप्सिलान डेल्टा मेथड), र गेओर्ग क्यान्टोरद्वारा सुरु गरिएको सेट थ्यौरीको ठूलो महत्व छ। यी दुवै गणितको विकास गर्दा भगवानसँग गणित अलिकति नजिक भयो।
न्युटनले डेरिभेटिभको परिभाषा सुरु गर्दा कुनै पनि फंक्सनको एक विन्दुमा भएको डेरिभेटिभ पत्ता लगाउन दुई यस्ता परिमाण प्रयोग गरेर भाग गर्छन् जुन दुवै शून्यको नजिक हुन्छन्। अर्थात् कुनै फंक्सनको डेरिभेटिभ भनेर निकालिएको परिमाण शून्यलाई शून्यले (वा शून्यको साह्रै नजिकको अंकले) भाग गरेर निकालिएको एक अंक थियो।
यो आलेखको सुरुमै उल्लेख गरियो, शून्यलाई शून्यले भाग गर्न थालेपछि धेरै कुरा हाम्रा साधारण लजिक भन्दा पर हुन्छन्। तत्कालीन अवस्थामा धेरै ब्रिटिश दार्शनिक उनको यो तरिकासँग सन्तुष्ट थिएनन्, जसमध्ये एक विसप बर्कली थिए जसले भाग गर्दा तल राखिएको अंक (अर्थात् डिनामिनेटर) शून्य के भूत हो भनेर सोधेका थिए। न्युटनले सुरु गरेको त्यो विश्लेषणको गति त्यहीं रोकिएन।
फ्रेन्च गणितज्ञ कशी, चेक गणितज्ञ बर्नार्ड बोल्जानो र जर्मन गणितज्ञ कार्ल वेइर्स्ट्रास सबैले अनन्तसँग खेल्दै गणितका विभिन्न मान्यता विकसित गरे। सिरिजहरूको लिमिट, बिन्दुहरूको लिमिट, फंक्सनहरूको लिमिट जस्ता मान्यता विकसित गरिए। यी सबैले यौटै प्रश्न सोध्थे, यदि कुनै काम हामीले अनन्तसम्म गर्यौं भने के हुन्छ? उदाहरणको लागि, १ मा यसको आधा जोडौं, १.५ हुन्छ। यसमा फेरि ०.५० को आधा (अर्थात् ०.२५) जोडौं, फेरि ०.२५को आधा (अर्थात् ०.१२५) जोडौं। फेरि ०.१२५को आधा जोडौं, र यो क्रम अनन्तसम्म गरिराखौं ।
हरेक पटक केही न केही जोडौं, र अनन्तसम्म जोडौं। योगफल कति हुन्छ? सिरिजको लिमिटमा काम गर्नेहरूले तपाईंलाई भनिदिनेछन्, जति पटक जोडे पनि यो मक्लरेन सिरिजको योगफल २ भन्दा धेरै हुँदैन र अनन्तसम्म जोड्दा २ हुन्छ।
अर्कोतिर, १+१/२+१/३+१/४+… अनन्तसम्म जोड्नुस्। यो हार्मोनिक सिरिजको योगफल कति हुन्छ? यो अनन्त हुन्छ।
ग्यालिलिओ ग्यालिलीले एकपटक यो प्रश्न सोधे, यदि तपाईंले कुनै बट्टामा १, २, ३, गर्दै अनन्तसम्मका नम्बरहरू राख्नुभयो, अर्को बट्टामा १, ४, ९, १६ गर्दै हरेक नम्बरका स्क्वायर नम्बरहरू राख्नुभयो। कुन बट्टामा धेरै नम्बर होलान्? यसो हेर्दा बट्टा १ मा छन् कि जस्तो लाग्ला, तर बट्टा १ मा भएका हरेक नम्बरका स्क्वायर नम्बर बट्टा २ मा भएकाले बट्टा २ मा बट्टा १ मा भन्दा कम नम्बर हुनै सक्दैनन्। अर्कोतिर बट्टा १ मा बट्टा २ मा भन्दा कम नम्बर हुनै सक्दैनन् किनकि बट्टा २ का हरेक नम्बरको स्रोत बट्टा एकको कुनै नम्बर हो। अर्थात् यी दुवै बट्टामा बराबर वटा नम्बर छन्।
अनन्तका यी केही उदाहरण हेर्ने वित्तिकै हामीले बुझ्न सक्छौं कि अनन्त बुझ्न कठिन विषय हो, र त्यहाँ जे हुन्छ त्यो हाम्रो साधारण दैनन्दिनमा बुझिने भन्दा फरक हुन्छ। माथिको एक उदाहरण हेरौं, १+१/२+१/३+१/४+… बराबर २ हुन्छ भनेर हामीले भन्यौं। तर यसरी जोडिएका अंकहरू हेरौं। १, १/२, १/४, १/८, यी अंकहरू सधैं धनात्मक अंक हुन्। र यी अंकहरू कहिल्यै सकिएका हुन्नन्। कोलिन मक्लरेनले यसको योगफल २ हो भनेर पत्ता लगाए। ती अंकहरूको गन्तव्य पनि आश्चर्यजनक छ। अनन्त पटकसम्म गएपछि यी अंकहरू पुग्ने शून्यमा नै हो।
हार्मोनिक सिरिजमा भएका हरेक अंक पनि अनन्त कालपछि पुग्ने शून्यमा नै हो। तर मक्लरेन सिरिजको जोड निकै सानो २ सम्म र हार्मोनिक सिरिजको योगफल अनन्तसम्म पुग्छ। यसैले जहाँ अनन्त हुन्छ, त्यहाँ राम्रोसँग नबुझी हिसाब गर्दा चिप्लिने संभावना छ।
भगवानको सृष्टि अपरम्पार छ, र गणितमा त्यो अनन्तको झझल्को हेर्न पाइन्छ। रामानुज वा वाइलर जस्ता धेरै गणितज्ञहरूले आफूले गरेका अनन्तका विश्लेषण देवी–देवताको प्रभावमा गरेको भनेका छन्। वाइलरको एक फर्मूला गणितमा निकै प्रख्यात छ, उनले एक्स्पोनेन्सियल नम्बर (अर्थात् e), माइनस एकको स्क्वायर रूट (i) र पाई मिलाएर एक फर्मूला निकाले जसले १ दिन्थ्यो। (ein=१)। यो किन महत्वपूर्ण थियो भने त्यो बेला धेरै गणितज्ञहरू यस्ता इर्यासनल नम्बरहरू भगवानले सिर्जना गर्नै सक्दैनन् भनेर तर्क गर्थे, खाली १, २, ३ जस्ता प्राकृतिक नम्बर मात्र संसारमा संभव छ भन्थे।
र यही क्रममा सबैभन्दा महत्वपूर्ण योगदान गेओर्ग क्यान्टरको थियो। क्यान्टर जर्मनीको एक सानो शहर ल्याण्डाउमा बस्थे। उनले दुई खालका अनन्तको चर्चा गरे, एक, गन्न सकिने अनन्त र अर्को गन्न नसकिने अनन्त। क्यान्टरका अनुसार र्यासनल नम्बरहरू गन्न सकिने अनन्त वटा छन् भने इर्यासनल नम्बरहरू गन्नै नसकिने धेरै अनन्त वटा छन्। र पहिलो अनन्त भन्दा दोस्रो अनन्त धेरै हुन्छ। क्यान्टर एक अर्थमा अहिलेसम्म पनि अनन्त भित्रै खेल्ने, अनन्तको वर्गीकरण गर्ने, एउटा अनन्त भन्दा अर्को अनन्त ठूलो हुन्छ भनेर अनन्तहरूको तुलना गर्ने सर्वाधिक महत्वपूर्ण गणितज्ञ हुन् ।
आधुनिक गणितका सबैजसो शाखाहरू विकास गर्ने गणितज्ञहरू त्यसैले अनन्तलाई बुझ्न कोसिस गर्ने व्यक्तिहरू थिए। लिमिट, क्याल्कुलस, सेट थ्यौरी, म्याट्रिक्स अल्जेब्रा र तथ्यांक शास्त्र (आसिम्प्टोटिक थ्यौरी)को मुटुमा अनन्तको बुझाइ छ। ज्यामितिको विकासलाई अर्को तहमा लैजान महत्वपूर्ण विकास गर्ने हेनरी पोङ्करे, डिकार्टस जस्ता गणितज्ञको अनन्तको बुझाइले नै ज्यामिति जस्तो विषयको ज्ञानलाई अघि बढाउन मद्दत गरेको थियो।
तर अनन्तलाई के अध्यात्मको अध्ययनमा लगाउन सकिन्छ? अर्थशास्त्रमा जस्तै अध्यात्मले सोध्ने प्रश्नलाई गणितको रिगर प्रयोग गरेर प्रमाणित वा खण्डन गर्न सकिन्छ? यो लोकमा हामीले जेलाई सत्य मानेका हुन्छौं, जेलाई एक्जिओम मानेका हुन्छौं, के त्यो अलौकिक दुनियाँको पनि सत्य हुनसक्छ? एक प्रयोगको तल उदाहरण दिन्छु।
पुनर्जन्म
मानौं, स्वर्ग र नर्क भन्ने दुई कुरा अस्तित्वमा छन् र मरेपछि कुनै न्यायाधीशले हाम्रो कर्म हेर्छ र त्यो अनुसार हामीलाई स्वर्ग वा नर्क पठाउँछ। त्यसो हो भने पुनर्जन्म निश्चित छ।
मानौं मानिसले आफ्नो सजाय गरेको अनुपातमा स्वर्ग वा नर्क बस्ने सजाय पाउँछन्। उदाहरणको लागि यदि कुनै एक मानवले जीवनमा ३० प्रतिशत अवधि पाप र ७० प्रतिशत पुण्य गरेको रहेछ भने उसलाई मृत्युपछिको समयको ३० प्रतिशत नरक र ७० प्रतिशत स्वर्गमा बसाउनुपर्यो। मान्छेको पुनर्जन्म नहुने हो भने यो संभव छैन। उदाहरणको लागि, महाभारतमा कौरवहरूलाई सुरुमा स्वर्ग जान भनियो।
कौरवले ३० प्रतिशत पुण्य र ७० प्रतिशत पाप गरेका थिए भन्ने मानौं। सुरुमा कति वर्ष स्वर्गमा राख्ने? ३ वर्ष, ३० वर्ष वा ३ अरब वर्ष? जति राखे पनि त्यसपछिका अनन्त वर्ष नर्कमा राख्ने हो भने उनीहरूले शून्य प्रतिशत समय मात्र स्वर्गमा विताएको हुनेछ। यस्तै यदि पाण्डवलाई जस्तै सुरुमा नर्कमा राख्ने अनि स्वर्गमा राख्ने हो भने कति वर्ष नर्कमा राख्ने?
स्वर्गमा अनन्त वर्ष राख्ने भने नर्कमा जति राखे पनि त्यो कुल समयको शून्य प्रतिशत मात्र हुनेभयो। तेस्रो विकल्प, सुरुको तीन वर्ष नर्कमा, ७ वर्ष स्वर्गमा, फेरि ३ वर्ष नर्कमा, ७ वर्ष स्वर्गमा राख्ने। तर कुल योगफल हेर्दा स्वर्ग र नर्क दुवैमा मानिस अनन्त वर्ष (अर्थात् बराबरी) बस्ने भयो। जे सुकै भए पनि यदि स्वर्ग र नर्क छ, सजाय माथि भने जस्तै आनुपातिक हुन्छ भने पुनर्जन्म पनि हुन्छ।
अर्थशास्त्रमा अंक र अध्यात्म
म अनन्तबाट साधारण अंकहरूमा आउँछु जुन अर्थशास्त्रलाई आवश्यक छ। अनन्त पनि अर्थशास्त्रमा प्रयोग भैरहने सोचाइ हो, तर साधारण अंकहरूको पनि त्यत्तिकै भूमिका छ।
अंकको अभावमा अर्थशास्त्र कत्तिको अप्ठेरोमा पर्छ भन्ने कुरा हाम्रो देशमा २०११ सालतिर देखियो। त्यतिखेर अमेरिकी अर्थशास्त्री प्रोफेसर डब्लु ओ थ्वियाटले नेपालको जीडीपीको इस्टिमेट गर्दा ‘यो देश पाकिस्तान जस्तै छ, त्यसैले यसको प्रतिव्यक्ति जीडीपी त्यहीको जत्ति हुनुपर्छ’ भनेर अंक (रु ३०४ अर्थात् ४० डलर) लेखेका थिए। अघिल्ला पुस्ताका नेताहरूले त्यसैले पनि मुलुकमा तथ्यांक संकलन गर्ने राष्ट्रिय तथ्यांक विभाग चाहिन्छ भन्ने महसुस गरेका थिए।
तथ्यांकमा निर्भर भएर योजनाहरू बनाउने र नतिजा निकाल्ने चलन भने अझै लामो समयसम्म आएन। नेतृत्वमा बस्नेहरूको आत्मसंभावित चरित्रले गर्दा तिनले विकासको प्रारूप कस्तो हुनुपर्छ भन्ने बारेमा अन्य कसैको सल्लाह सुझाव लिन आवश्यक ठानेनन्। यो एउटा गल्ती थियो। अर्थशास्त्रमा आज धेरै तथ्यांक, धेरै अंकको खोजी भैरहेको छ। यिनको अभावमा अर्थशास्त्र अपूर्ण छ भन्ने मान्यता बसेको छ। अर्थको लागि अंकबाट अध्यात्मतिर लागौं ।
मानिसको समाज कसरी बन्दै गयो? एउटा त पुराना ग्रीक सोफिस्टहरूले भनेझैं सुरुमा होमो होमिनी लुपसको स्थिति थियो। अर्थात् सुरुमा एउटा मान्छे अर्को मान्छेको लागि ब्वाँसो जस्तो थियो, र जसले जसलाई सक्यो उसलाई सिध्याउँथ्यो, बुढोलाई युवाले सिध्याउँथ्यो, निर्धोलाई बलियाले। त्यो समाजमा राज्यको उत्पत्ति भयो। राज्यले जनतालाई अप्ठेरो पर्दा हेर्ने भयो।
राज्यलाई कर उठाउनेदेखि सम्पूर्ण अधिकार दिइयो। राज्य र जनताबीचको एउटा ठूलो गहनतम सम्झौतामा आधारित भएर चल्ने समाजको रूपमा पुरानो समाजको आधारभूत रूप फेरियो। कर तिरेबापत तपाईंको बुढेसकालको सुरक्षा, छोराछोरीले सम्पत्ति पाउने कुराको सुरक्षा गरिदिने जिम्मा राज्यको भयो। यससँगै गाउँगाउँको एकले अर्कालाई सिध्याउने संरचना राज्यको केन्द्रमा बसेर कर लगायत अन्य संरचनामा प्रभुत्व जमाउने भन्नेमा गयो तर यसले साधारण जनतालाई त्राण दियो। द्वन्द्वलाई सर्वव्यापी हुनबाट रोकेर केन्द्रका केही व्यक्तिबीचमा मात्र ल्यायो।
अर्कोतिर राज्यकै सहजकर्ताको भूमिकामा सम्पत्ति पुस्तौंपुस्ता र अधिकार पनि पुस्तौंपुस्ता हस्तान्तरण हुने भएपछि साधारण र कमजोर मानिसहरू पुस्तौंपुस्तासम्म पछि पर्ने, बलिया र तिनको बीचमा फरक स्वत: आउने र राज्यले त्यो फरकलाई संरक्षण गरिदिने भयो। यसले नै समाजमा दिगो असमानता ल्याउने तथा यो असमानता राज्यको संरक्षणमा नै पुस्तौंपुस्ता जाने भयो।
यसरी अशान्ति रोक्न बनेको राज्य आफैं अन्ततोगत्वा विद्रोह र अशान्तिको स्रोत हुनेभयो। राज्यलाई दिगो र स्थायित्व युक्त बनाउन राज्यदेखि बाहिरका बिलिफ सिस्टम चाहिए। राज्यको शिरमा बसेका मान्छेहरू त्यहाँ बस्न योग्य छन् भन्ने विश्वास जनतामा राख्न अध्यात्मको र यसको उपरीसंरचनाको सहयोग महत्वपूर्ण रह्यो। त्यसो त अध्यात्म बाहेक अन्य अन्धविश्वासहरू पनि युग अनुसार आएका छन्:
‘यो मान्छे राम्रोसँग लड्न सक्छ, त्यसैले यसलाई शासक बनाउनुपर्छ।’
‘क्षत्रीयहरू मात्र लड्न सक्छन्, यिनलाई शासक बनाउनुपर्छ।’
आधुनिक युगमा पनि यस्ता सुपर्स्ट्रक्चर ठड्याउन खोजिएकै छ। प्लेटोले माथि बसेर सबैलाई शासन गर्ने एउटा आइडियल शासक वर्गको कल्पना गरेका थिए। यो क्रम रोकिएको छैन। मन लागेको पात्र हेरी लडाकुबाट यो तर्क खेलाडी, कलाकार वा विद्वानमा पनि पुर्याइन्छ:
‘सिद्दु (वा पेले) राम्रा खेलाडी हुन्, यिनलाई नेता बनाऔं।’
‘रेगन (वा स्व्वर्जेनेगर, जया भादुडी, गोविन्दा) उम्दा कलाकार हुन्, यिनलाई शासक बनाऔं।’
‘यो विद्वान छ, त्यसैले यसलाई शासक बनाउनुपर्छ।’
‘क्या भाषण गर्छ, यसलाई शासक बनाउनुपर्छ।’
को शासक बन्न लायक छ भन्ने कुरा युग अनुसार आइराख्नेछ। अध्यात्म आफ्नो सबैभन्दा निन्दनीय अवतारमा बजार अर्थतन्त्रले सिर्जना गरेको, राज्यले सिर्जना गरेको पिरामिडको सबभन्दा माथि रहेकाहरूको संरक्षण गर्ने साधन भैदिन सक्छ।
अध्यात्म
गणितको जस्तो रिगर नभएको, विज्ञानको जस्तो एम्पिरिसिज्ममा जोड नदिने र राज्य र विद्यमान आर्थिक पद्धतिको बचाउ गर्ने एक प्रमुख उपरीसंरचना भएकोले अध्यात्म आलोचनाको तारोमा रहिआएको छ। तर अध्यात्मिक संसार धेरै ज्ञानको स्रोत पनि हो। एक त, रोजर बेकन, कोपर्निकस लगायत धेरै वैज्ञानिक धर्मगुरु पृष्ठभूमिबाटै आएका थिए। केही सय वर्ष अघिसम्म अध्यात्म आफैंमा खुशी भएर चलेको विश्वविद्यालय थियो।
एरिस्टोटलका किताब पढाउने, कन्फ्युसिअसका किताब पढाउने, वेद, पुराणका किताब पढाउने चलन क्रिस्चियन, ताओ या हिन्दू धर्मावलम्बीहरूमा थियो। धर्महरूमा आफ्नो ग्रन्थहरूप्रति अहंकार थियो भने यिनका धर्मगुरुहरूमा आफ्ना आदिगुरुहरूको सिर्जनाप्रति अत्यन्त मोह र श्रद्धा थियो। यसले गणितको विकास र समग्र विज्ञानको विकासलाई केही धक्का अवश्य दियो।
दोस्रो, यस्तो हुँदाहुँदै पनि समग्रमा धर्म प्रगतिको बाधक भएको प्रमाण देखिंदैन। बरु के देखिन्छ भने पादरी, धर्मगुरु नयाँ आइडियाहरूलाई अगाडि बढाउन कमजोर हुँदै गए। अझ जजमानहरूसँग पैसा उठाउने र धनी संस्थाको मालिक बन्नेमा उनीहरूको ध्यान गयो। पशुपतिको, पद्मनाभस्वामी मन्दिर (केरला) को, युरोपका चर्चहरूको सम्पत्ति देख्दा यही भन्न सकिन्छ। वास्तवमा मन्दिरहरू, चर्चहरू पहिला मल्टिनेसनल ‘नन प्रोफिट डिस्ट्रिब्युटिङ’ कम्पनी थिए, र धर्मगुरुहरू सिइओ जस्ता। आफ्ना उत्पादनको बजार बचाउन ती लागिरहे, तर नयाँ उत्पादनहरू आउँदा ती दबाउन सके दबाउनतिर लाग्थे, नसके बजारमा अर्को प्रतिस्पर्धी धर्म जन्मेर स्थापित हुन्थ्यो।
विसं १९७९ मा सच्चिदानन्द स्वामी नेपाल आउँदा चन्द्रशम्शेरको दरबारमा भएको एक सत्संगमा उहाँले शाकाहारी भोजनको पक्षमा मत राख्दा स्थानीय पण्डितहरूले विरोध गरेका थिए। तर त्यसबाहेक सामाजिक सुधार गर्न लाग्दा, विश्वविद्यालय खोल्न लाग्दा, स्कुल खोल्न लाग्दा नेपालमा धर्मका प्रमुख पुरोहित, धर्माधिकार वा पण्डितहरूले विरोध गरेको उदाहरण छैन।
हाम्रो देशमा सुरुका ज्ञानका केन्द्रहरू मटिहानी मठ, विन्ध्यवासिनी मन्दिर, मुस्ताङ तथा अन्य हिमाली भेगका गुम्बाहरू नै थिए। हाम्रा महान इतिहासकारहरू योगी नरहरिनाथ, नयराज पन्त तथा उनको संशोधन मण्डलीका प्रमुखत: धनबज्र वज्राचार्य आध्यात्मिक थिए र राज्यको समर्थनमा प्रतिभा बनेका थिएनन्। ती मन्दिर–मन्दिर चहारेर त्यहाँका शिलालेख पढेर समाजको विगत पढ्न सफल भएका थिए। चन्द्रशम्शेरले सती प्रथा अन्त्य गरे, दासप्रथा अन्त्य गरे, जंगबहादुरले बोक्सीप्रथा अन्त्य गरे र पनि पशुपतिका पुजारी वा अन्य कुनै मन्दिर वा मठका प्रमुखले त्यस्तो कार्य धर्म विरोधी भनेर विरोध गरेनन् ।
त्यसैले हाम्रै मुलुकमा पनि अध्यात्मले विज्ञानको अवरोध गरेको नभई विज्ञान जस्तै ज्ञान हासिल गर्ने एक स्रोत थियो। युरोपमा जिओर्दानो ब्रुनो वा ग्यालिलियोको दमनलाई आध्यात्मिक र वैज्ञानिक संसारको द्वन्द्वको उदाहरणको रूपमा दिने गरिन्छ। यो कुरा सत्य हो तर धर्मले भन्दा ती व्यक्ति र धर्मगुरुहरूबीचको व्यक्तिगत इगो पनि त्यसको कारण थियो। वाइलर वा अन्य गणितज्ञले सत्य र अध्यात्मको बीचमा, सत्य र भगवानको बीचमा कुनै द्वन्द्व हुनसक्दैन भन्दै एकातिर अध्यात्म साधना गरे भने अर्कोतिर सत्य साधना पनि गरे। महान् गणितज्ञ रामानुजनले त उनका गणितका फर्मूला देवी नमगिरी माताको आशीर्वादले पाएको हुँ भन्थे।
अध्यात्मले उठाउने गहन प्रश्नहरूको जवाफ दिन यो आफैंमा सम्पूर्ण साधनले युक्त स्वतन्त्र विद्या हैन। यसले महत्वपूर्ण विषयहरू उठान गरेको छ। ब्रह्माण्डको सृष्टि कसरी भयोदेखि समाज कसरी चल्नुपर्छ, समाजको सम्पत्ति कसरी क–कसको हातमा पुग्नुपर्छ जस्ता महत्वपूर्ण प्रश्नको जवाफ यसले दिन्छ। अंक र अर्थ अध्ययन गर्ने विद्यामा भएका प्रगतिलाई अध्यात्मले आत्मसात् गर्यो भने यसलाई आफ्नो प्रश्नहरूको जवाफ दिन सहज हुँदै जानेछ। अध्यात्मले हामीलाई बर्बर जंगली युगबाट यहाँसम्म ल्यायो, यसले सबै विद्यालाई अपनत्व पहिला दिएको पनि हो, अझै दिनसकेमा अध्यात्म र मानव दुवैको भलो हुन्छ।
(इलाम साहित्य महोत्सव २०७९ मा डा. पौडेलद्वारा प्रस्तुत मूख्य सम्भाषणको सम्पादित अंश)
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4