
२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा संलग्नविरुद्धको कारबाहीमा दृढ हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझपख आफ्नो सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेका थिए ।
छलफलमा विशेष गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहविरुद्ध सरकारले चालेको कदमबारे पनि छलफल भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए ।
यो प्रकरणमा संलग्न भएको भन्दै प्रहरीले उच्च तहका नेता र सरकारी कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । केहीलाई पक्राउ समेत गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले यसबारे धारणा राख्दै अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा प्रहरीले काम गरिरहेको र दोषीलाई नछोड्ने बताएका थिए।
माओवादी नेताहरुले पनि यस सम्बन्धमा सरकारको प्रशंसा गर्दै दह्रो गरी उभिन भन्दै सुझाव दिएका थिए ।
‘भ्रष्टाचारसँग सम्बन्धित विषयमा बलियोगरि उभिनुहोस्,’ ती पदाधिकारीका अनुसार प्रधानमन्त्रीलाई नेताहरुको सुझाव थियो, ‘दोषी नउम्किउन, निर्दोष नपरुन् भन्ने सिद्दान्तमा सरकारले काम गरोस् ।’
अब पर्खिने नभइ फटाफट काम गरेर जाने सुझाव समेत नेताहरुले प्रधानमन्त्रीलाई दिएका थिए ।
त्यस्तै छलफलमा प्रधानमन्त्रीले अहिलेको सरकारको स्थिति र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे ‘ब्रिफिङ’ गरेका थिए । प्रचण्डले रास्वपा नेताहरु आएर भेटघाट गरेको र पुरानै मन्त्रालय पाए सरकारमा आउन सकिने बताएको जानकारी छलफलमा गराएका थिए ।
‘उहाँहरु आएर मलाई भेट्नुभएको छ’, प्रचण्डको भनाइ थियो, ‘पुरानै मन्त्रालय भए आउने पनि कुरा गर्नुभएको छ । पुरानो मन्त्रालय दिनलाई गठबन्धनभित्र फेरि अर्को सहमति गर्नुपर्छ ।’
प्रचण्डले रास्वपालाई सरकारमा सहभागी गराउन के गरौं भन्दै नेताहरुसँग सुझाव मागेका थिए । ‘रविहरुलाई पनि सरकारलाई सहभागी गराउन के गरौं भन्ने सुझाव प्रधानमन्त्रीले लिनुभयो’, एक नेताले भने, ‘धेरैको सुझाव चाहिँ सहभागी गराएर जाँदा राम्रो हुन्छ भन्ने थियो ।’
त्यस्तै प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम र बजेटबारे सुझाव दिन समेत नेताहरुलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसपटक नीति तथा कार्यक्रम र बजेटलाई परम्परागत भन्दा अलिकति सिफ्ट गर्न खोजेको बताएका थिए ।
त्यस्तै सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएपछि पार्टी पुनर्निर्माण, पुनर्गठन र संयुक्त मोर्चा निर्माणमा लाग्ने समेत प्रचण्डको भनाइ थियो ।
प्रतिक्रिया 4