
२ जेठ, विराटनगर । उपन्यास र फिल्ममा मरेको मान्छे फर्केर आएको कथानक सिर्जना गरियो भने पाठक, दर्शकहरु सोच्छन्– यस्तो पनि हुन्छ र ?
नयनराज पाण्डेको उपन्यास ‘लु’ मा मरेको ‘इलैया’ फर्केको, अनि खगेन्द्र लामिछानेको सिनेमा ‘पानीफोटो’ मा बेपत्ता अनि मृत्यु भयो भनेर संस्कार गरिसकेको केही समयपछि फर्केको ‘पदम विश्वकर्मा’ जस्ता दुई पात्रलाई जस्टिफाइ गर्न यसका रचयितालाई हम्मेहम्मे परेको थियो । पानीफोटोका लेखक निर्देशक लामिछाने भन्छन्, ‘वास्तविक जस्तो देखाउन पण्डित खोजेर पुनर्जन्म संस्कार नै गर्नुपरेको थियो ।’
तर उपन्यास र फिल्म नै बिर्साउलान् जस्तो गरी एउटा घटना भएको छ– झापामा ।
झापा हल्दीबारी गाउँपालिका– १ गोल्धाप बस्दै आएका २९ वर्षका सुरज कार्कीले चार वर्षअघि घर छाडेका थिए । बेला बेला घर जान्थे । अरु बेला कन्काई नगरपालिका– ४ कोे धार्मिक क्षेत्र कोटिहोममा बस्थे ।
गत वैशाख १२ गते कोटीहोम क्षेत्रमा एक जना पुरुषको शव फेला प¥यो । तत्काल पहिचान नखुलेपछि प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल चन्द्रगढी पठायो ।
शव पठाएको पाँच दिनपछि सुरजको परिवार उनलाई खोज्दै कोटीहोम पुग्यो । एक व्यक्तिले आफन्तलाई जानकारी दिए, ‘कार्की थरको केटो मरेको छ ।’
दिदी बिनासहितका आफन्त सुरजलाई खोज्दै कोटीहोम आइपुगे । उनीहरुले सुरजलाई भेट्न सकेनन् । परिवारका मान्छेलाई भनियो, ‘शव चन्द्रगढीमा छ, त्यहाँ गएर हेर्नु ।’
कनकाई नगरपालिका– ४ का वडा अध्यक्ष रोशन सुवेदीले भने, ‘अस्पताल पुगेर दिदीले (सुरजको) भाइकै शव हो भनेर पहिचान गर्नुभयो ।’
आफन्तले पहिचान गरेपछि प्रहरीले शव जिम्मा दियो । शव बुझेर आफन्तले कोटीहोम नै ल्याएर अन्तिम संस्कार गरे । कान्छा काका किरियामा बसे । दाजु वितेको खबर सुनेर कुवेतमा रहेका भाइ पनि घर फर्किए ।
तर काजकिरिया सकेको भोलिपल्ट सुरज टुप्लुक्क घर पुगे ।
आफन्तले उनको किरिया वैशाख २६ गते सकेका थिए । २७ गते उनी घरमा पुगे । अन्तिम संस्कार गरेपछि घर पुगेका उनलाई देखेर सबै हेरेको हेरै भए । सुरज घर फर्किएको हल्ला फैलिएपछि उनको घरमा हेर्न जानेहरुको भिड बढेको छ ।
मृत्यु संस्कार सकिएपछि घर फर्किएका उनको पुनर्जन्म संस्कार भएको छैन । त्यो संस्कार नहुँदासम्म उनलाई हेर्न आउनेहरु घट्ने छाँट देखिएन । एक त होनहार युवक बितेको शोकमा आक्रान्त परिवार, त्यसपछि मरेको मान्छे फर्केर आयो भन्दै रमिता हेर्न आउनेहरुको नचाहिँदो झमेला ।
अझ तीमध्ये कतिलाई त चियापान, अनि कसरी यस्तो भयो भनेर हरेकलाई बेलिबिस्तार लगाउँदा लगाउँदा घरका सबै काम बर्बाद । त्यसपछि परिवारले सुरजलाई कोटीहोममै फर्काइदियो ।
परिवारले सुरजको पुनर्जन्म संस्कारका लागि तयारी गरिरहेको दिदी बिनाले बताइन् ।
तर यति गर्दा पनि एउटा प्रश्न भने बाँकी नै रहन्छ । सुरजको मृत्यु भएको रहेनछ, मृत्यु हुने व्यक्ति को थियो ?
वडा अध्यक्ष सुवेदीका अनुसार कोटिहोममा ३०–३५ जना मानिस बस्छन् । धार्मिक क्षेत्रमा आएकाहरुले दिएको दक्षिणा र दानका आधारमा उनीहरुको गुजारा चल्छ । कोही मागेर खान्छन् । सुरज कहिले काम गर्थे, कहिले मागेर खान्थे ।
सुवेदीका अनुसार सुरजको भनेर अन्तिम संस्कार गरिएको शव कसको हो भनेर खुलेको छैन । प्रहरीमा पुगेर पनि कसैले दाबी गरेका छैनन् ।
‘पहिचान नखुलेपछि शव प्रहरीले पोष्टमार्टमका लागि पठायो, सामाजिक सञ्जालमा फोटो राख्यौं,’ वडा अध्यक्ष सुवेदीले भने, ‘स्वयं दिदीले भाइ हो भनेर पहिचान गरेपछि शव जिम्मा लिनुभयो ।’
दिदी बिनाले पनि आफ्नो भाइजस्तै देखेपछि शव बुझेर अन्तिम संस्कार गरेकोे बताएकी छन् । शारीरिक बनावट मिलेको र अनुहार पनि उस्तै देखेका कारण शव बुझेर अन्तिम संस्कार गरेको उनले अनलाइनखबरलाई बताइन् ।
‘सुरजको भनेर अन्तिम संस्कार गरेको शव उनको होइन रहेछ,’ वडा अध्यक्ष सुवेदीले भने,‘मृतक पनि कार्की नै हुन्, तर कहाँका हुन् भन्ने खुलेको छैन ।’
इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी सुरज कार्कीले परिवारका सदस्यले सनाखत गरेको शव गलत परेको बताए । परिवारले सुरज भन्दै सनाखत गरेपछि शवको जिम्मा दिएको बताउँदै उनले भने,‘ सुरज पछि आइपुगे, शव अर्कैको परेछ ।’
अन्त्येष्टि गरिएको शव कसको हो भन्ने अझै पहिचान खुल्न बाँकी रहेको डीएसपी कार्कीले बताए । ‘त्यसबेला सुरजको भनेर लगे,तर होइन रहेछ’, उनले भने, ‘हामीले सबैतिर हुलिया पठाएका छौं, कोही आफन्त दाबी गर्न आएका छैनन् ।’
वडा अध्यक्ष सुवेदीका अनुसार कोटीहोममा बस्नेहरु सबैले स्थायी ठेगाना खुलाउँदैनन् । ठेगाना नखुलाएका कारण मृत्यु भए पहिचान गर्न मुश्किल पर्ने गरेको उनले बताए ।
प्रतिक्रिया 4