 
																			१२ जेठ, काठमाडौं। पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्नले शुक्रबारको प्रतिनिधिसभा बैठक प्रभावित भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिने गरी बोलाइएको प्रतिनिधिसभाको बैठकमा सुरुमै एमालेले यो विषय उठाएर अवरोध गर्यो ।
एमालेको अवरोधका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक कार्य सूचीमा प्रवेश नै नगरी स्थगित भयो। त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित गरिसके।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा पटक-पटक सर्वदलीय छलफल भएको छ । तर निचोड निस्किएको छैन् ।
नेताहरुका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।
कुनै हालतमा माओवादी सांसदले माफी माग्नुपर्ने एमालेको अडानका कारण सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसले मध्यमार्गी प्रस्ताव गरेको छ ।
नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखकले पशुपतिको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओली माथिको आरोप उचित नरहेको भनेर जाने गरी मध्यमार्गी प्रस्ताव गरेका छन् ।
यसो गर्दा एमालेले लिँदै आएको अडान अनुसार माफी मागेको भान पनि पर्न जाने र माओवादी केन्द्रले अनुसन्धान जारी रहेको विषयमा बोलेका कारण कम्प्रमाइज गर्न परेको रुपमा बुझ्दा हुने कांग्रेसको तर्क छ। यसमा पनि एमाले र माओवादी केन्द्र सहमत भएका छैनन् ।
सर्वदलीय बैठक जारी छ। दोस्रो पटक स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ बजेका लागि बोलाइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4