 
																			१२ जेठ, काठमाडौं । विद्यालय तहमा पढाइ हुने अनिवार्य पुस्तकको लेखक एउटै हुने भए पनि ऐच्छिक पुस्तकहरुका लेखक प्रकाशन गृह अनुसार फरक हुने गरेका छन् ।
पुस्तक प्रकाशनको अनुमति पाएका प्रकाशन गृहहरुले पाठ्यक्रम विकास केन्द्रले निर्दिष्ट गरेको पाठ्यक्रममा आधारित रहेर लेखिएको पुस्तक प्रकाशन गर्नुपर्ने हुन्छ । तर पाठ्यक्रमले तोकेको शीर्षकमा लेखिएको पाठको विषयवस्तुको व्याख्या ती लेखकहरुले आ-आफ्नो बुझाइ अथवा अध्ययनको आधारमा गर्ने गरेको पाइन्छ ।
उदाहरणको लागि अहिले चर्चामा रहेको कक्षा १२ को ऐच्छिक नेपालीमा समेटिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको कविता ‘हरिनन्द र माटो’ कविता पढ्न सकिन्छ । कुलपति राईको यो कविता उनको कविता संग्रह ‘आगोले जन्मोत्सव मनाउँदैन’ कविता संग्रहबाट लिएर पुस्तकमा राखिएको छ ।
कक्षा १२ को ऐच्छिक नेपाली विभिन्न पब्लिकेशनबाट प्रकाशित भएको पाईन्छ । भुँडीपुराण, पैरवी, क्वेष्ट लगायतका प्रकाशकले प्रकाशन गरेको पुस्तक बजारमा पाइन्छ ।
ती मध्ये यहाँ भुँडीपुराण प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकले र क्वेस्ट प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकमा कविताको बारेमा गरेको व्याख्यामा ठिक विपरीत पढ्न पाइन्छ । भुँडीपुराण प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकमा हरिनन्दलाई माटो पुजारी पात्रको रुपमा चित्रण गरिएको छ । किताबमा ‘हरिनन्द र माटो’ कविताको विद्यातात्विक अध्ययन शिर्षकमा कविले कवितामा ‘हरिनन्दलाई उनी पहिचान खोजिरहेको नेपालीको प्रतिनिधिको रुपमा प्रस्तुत गर्छन् ।
हरिनन्द सन् १७७३ सालमा आफ्नो थातवास, परिचय र पहिचान हराएका प्रतिनिधिमुलक पात्र हुन्। कठोर परिश्रम गरी बाँचेको हरिनन्द आफ्नो पहिचानसहित बाँच्न पाउनका लागि संघर्ष गरिरहेको देखिन्छ। भुँडीपुराणको किताबमा भनिएको छ, ‘माटो ढोग्ने, माटोमा रमाउने, माटैमा हराउने हरिनन्दजस्ता श्रमजीवि चाँहि दासका रुपमा बाँच्न विवास हुनुपर्ने तर माटोमा नछोएका, नदेखेका, नेटेकाहरु चाँहि माटोको मालिक बनेकोमा कविभित्रको क्रान्तिचेत असन्तुष्ट र आक्रोशि छ।’
यो कविता कुन कविता संग्रहबाट लिईएको हो भनेर विद्यार्थीले थाह पाउने गरी स्पष्ट लेखिएको भने छैन । किताब डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज ज्ञवाली, गणेश प्रसाद भट्टराई, देवीप्रसाद घिमिरे, वासुदेव ढुङ्गेलले लेखेका छन् ।
तर त्यसको ठिक विपरीत क्वेष्ट प्रकाशन गृहले प्रकाशन गरेको सोही पुस्तकमा भने पात्र हरिनन्दलाई द्रोही पात्रको रुपमा चित्रण गरिएको छ । ‘यो कवितामा आफ्नो माटो अर्थात तत्कालीन खोटाङको माझ किरात क्षेत्रलाई नुवाकोट अर्थात पृथ्वीनारायण शाहलाई बुझाउने स्वामीभक्त हरिनन्दको द्रोही स्वभावको चर्चा गरिएको छ ।
क्वेस्टको किताबमा उक्त कविताबारे लेखिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि हरिनन्दले जन्मभूमि बेचेर माझ किराँती समुदायमाथि गरेको अन्यायको विद्रोहात्मक आवाज प्रस्तुत गर्नु कविताको मूल भाव रहेको छ। माटोको सच्चा पुजारी म पात्रको स्वाभिमानी चरित्र र माटोलाई सवार्थसँग साट्ने खल चरित्रको गद्दारी प्रवृत्ति उजागर गर्नु प्रस्तुत कविताको खास पक्ष हो।’ यो किताबका लेखक डा. केशव भुसाल, डा. अशोक थापा र राजिन पनेरु रहेका छन् ।
लेखक फरक हुँदा एउटै विषयको ज्ञान, सूचना, जानकारी पनि फरक फरक प्रस्तुतीकरण हुने अथवा फरक रुपमा वितरण हुन्छ। तर विद्यालयमा पढाई हुने कुनै पाठको अथवा विषयवस्तुको व्याख्या फरक भएपनि त्यसले दिने सार एउटै हुनुपर्ने पुस्तक लेखक तथा पद्यम कन्या क्याम्पसका उपप्राध्यापक राजिन पनेरु बताउँछन् । उनी भन्छन्, ‘एउटै विषयको एउटै शिर्षकले ठिक विपरीत आशय दिनु भनेको विद्यार्थीको चेतनामाथि गरिने लापरवाही हो जुन एकदमै घातक हुन्छ ।’
किन फरक आशय हुन गयो ?
नियम अनुसार लेखकले पुस्तक लेखिसकेपछि प्रकाशकले प्रकाशन हुन अघि पाण्डुलिपी पाठ्यक्रम विकास केन्द्रमा बुझाउनुपर्छ । केन्द्रको विषयगत मुल्यांकन समितिले उक्त पाण्डुलिपी परीक्षण गरेर सुझाव सहितको प्रतिवेदन केन्द्रको निर्देशक समितिमा पठाउँछ र निर्देशक समितिले मूल्यांकन समितिले सुझाव दिएको आधारमा प्रकाशकलाई पठाउँछ र केन्द्रले पठाएको सुझाव अनुसार सच्याउन निर्देशन दिन्छ र प्रकाशन गृहले पाएको सुझाव अनुसार तयार गरेको सामाग्री फेरि केन्द्रको मूल्याङ्कन समितिले परीक्षण गरेर सुझाव अनुसार भए मात्र प्रकाशनका लागि स्वीकृत दिने प्रणाली छ ।
तर, कक्षा १२ को ऐच्छिक नेपाली विषयको ‘हरिनन्द र माटो’ कविताको मूल आशय पूर्ण रुपमा विपरीत हुनुले केन्द्रको परीक्षण प्रणालीमा माथि आशंका गर्न सकिने लेखकहरुको भनाई छ ।
क्वेष्ट पब्लिकेशनका पुस्तक लेखकहरु मध्ये राजिन पनेरुले भुपाल राईको कविताको व्याख्या सर्जक राईसँग नै कुराकानी गरेर कविताको भाव अथवा कविता माथिको विश्लेषण लेखिएको बताउँछन्। तर सर्जकले कविता मार्फत दिन खोजेको सन्देश र अरु प्रकाशन गृहबाट प्रकाशित पुस्तकमा गरिएको व्याख्या फरक देखिएको बताए।
लेखक फरक हुँदा लेखकले आफ्नो सिर्जनशीलता अनुसार व्याख्या फरक तरिकाले गर्न सकिने भएपनि मूल आशयमा फरक हुन नहुने उनको तर्क छ। उनी भन्छन्, ‘लेखक नै फरक भएपछि व्याख्या त फरक हुने नै भयो तर सर्जकले कविता मार्फत दिन खोजेको सन्देश अथवा कविताको मूल आशय नै विपरीत हुनु चाहिँ गलत हो।’
सम्बन्धित पुस्तक लेखकले सर्जकसँग आशय नबुझेर आफैले मनलाग्दी व्याख्या हुँदा समस्या भएको उनको बुझाइ छ। एउटै कक्षाको विद्यार्थीले एउटै शीर्षकको पाठ पढ्दा ठीक विपरीत अर्थ बुझ्ने किसिमको ब्याख्या गरिएको किताब पाइनुले पनि पाठ्यक्रम विकास केन्द्रको लापरवाही स्पष्ट हुन्छ।
लेखक पनेरु भन्छन्, ‘अरुहरुले कसरी व्याख्या गरे म जान्दिनँ तर हामीहरुले चाँहि कवि स्वयंलाई कुन आशयमा लेखिएको कविता हो ? भनेर सोधेर कविताले व्यक्त गरेको मूल भावको आधारमा लेखिएको छ।’
पाठ्यक्रम विकास केन्द्रले पुस्तक प्रकाशनको स्वीकृति दिनअघि प्रकाशकसँग सम्बद्ध लेखक कस्ता छन्, कत्ति विज्ञ हुन्, कसरी काम गरिरहेका छन् भनेर मूल्यांकन नगर्दा यो समस्या निम्तिएको छ ।
किताबमा समेटिएको सबै शिर्षकको पाठमा खोज, अध्ययन, अनुसन्धान गरेर विद्यार्थीले बुझ्ने भाषामा लेखिएको लेखक पनेरु दाबी गर्छन्।
भुँडीपुराणका लेखक मध्ये डा.रामप्रसाद ज्ञवालीले भने लेखकले आ-आफ्नो तरिकाले ब्याख्या गर्ने भएकोले फरक पर्न गएको दाबी गर्छन्।तर किताबमा भएको कविताको भाव विपरीत हुँदा विद्यार्थीमाथि भ्रम पर्न सक्छ होला नि भन्दा उनले कविता हटाउने निर्णय भइसकेकोले थप प्रतिक्रिया दिन नचाहने बताए।
उनले भने, ‘यो कविता हटाउने निर्णय भइसकेकोले प्रतिक्रिया दिइरहन परेन । थप बोल्न चाहन्नँ।’
यो प्रकरणले नेपालको पाठ्यक्रम, पाठ्यसामाग्रीको विश्वसनीयता माथि नै प्रश्न उठाएको कवि भुपाल राई बताउँछन्। ‘नेपाल सरकारले अनुमति दिएर छापेको एउटा प्रकाशनले कविताको पात्र माटो द्रोही हुन् भनेर व्याख्या गरिएको र अर्कोमा माटो पुजारी हुन् भनेर पूर्ण रुपमा विपरीत व्याख्या गरिएको किताब छापिनु भनेको चरम लापरवाही होइन ?’ उनी भन्छन्, ‘व्याख्या गर्ने शैली फरक भएपनि सार त एउटै हुनुपर्ने होइन र?’ विद्यालयमा पढाइ हुने कविता अथवा कुनै पनि विषयमा माथि जोकोहीले आफ्नो तरिकाबाट व्याख्या गर्न, लेख्न सक्ने भएपनि मुल आशयमा एक रुपता हुनुपर्ने उनको भनाइ छ।
क्वेष्ट प्रकाशन गृहले प्रकाशन गरेको पुस्तकमा मात्र कविताको मूल आशयबारे सही व्याख्या गरिएको समेत उनले बताए । राजिन पनेरुको समूहले मात्रै पुस्तक लेख्दा कविताले भन्न खोजेको मूल आशयबारे आफूसँग बुझेर लेखिएकोले कविताको सही आशय लेखिएको कवि राईले बताए।
उनले भने, ‘ती लेखकहरुले आफै मनलाग्दी व्याख्या गरेको किताबमा कविताको मूल आशय नै गलत छ । यदि सबै लेखकहरुले कविताको मूल आशयको बारेमा मसँग सोधेर लेखेको भए यो समस्या हुने थिएन।’
केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगाना प्रकाशन गृहले प्रकाशन गर्ने सामाग्री, प्रकाशन गृहको लेखकको योग्यता जाँच गर्ने दाबी गरे। उनले भने, ‘काम गर्दा गर्दै कतै न कतै मिस्टेकहरु हुन्छन्। मुल्याङ्कन गर्नको लागि एउटै टिमलाई दिँइदैन। तुलना गर्दैन त्यसले यस्तो हुन गयो। गर्दा गर्दैको मिस्टेक यो यो। नहुनु पर्थ्यो।भएछ।’
केन्द्रको विभिन्न बैठकहरुमा विद्यार्थीको हातमा पुगिसकेपछि गलत भएको थाह पाउँदा केन्द्रको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकोले सचेत हुन अनुरोध गर्दा गर्दै गल्ति हुन पुगेको स्वीकार गर्छन्। केन्द्रले स्वीकृत दिएको पुस्तकमा एकरुपता नपाउनुमा केन्द्रको लापरवाही देखिन्छ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4