+
+
महालेखा परीक्षक प्रतिवेदन :

‘१५०० अटाउने पोखराको आफ्नै सभाहल, कार्यक्रम गर्न होटलतिर’

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ १९ गते १३:१२

१९ जेठ, काठमाडौं ।  साना ठूला कार्यक्रम गर्न पोखरा महानगरको आफ्नै सभाहल छ–पोखरा सभागृह । एकैचोटि १ हजार ५ सयजना भन्दा बढीको उपस्थितिमा त्यहाँ कार्यक्रम गर्न सकिन्छ । महानगरपालिकादेखि नजिकैको दूरीमा रहेको सभागृहमा साना कार्यक्रम तथा बैठक गर्न मिनीहल पनि बनाइएको छ ।

तर, पोखरा महानगरले कार्यक्रम गर्न भने आफ्नै सभाहल छोडेर महँगा रिसोर्ट र होटल छान्दै आएको छ । महानगरकै नीति कार्यक्रम होटलमा गर्नेदेखि लिएर ‘क्लोज क्याम्प’समेत महंगा होटल तथा रिसोर्टमा महानगरले गर्र्दै आइरहेको छ ।

महानगरको नयाँ नेतृत्व सम्हाल्न आएका मेयर धनराज आचार्यले आफू निर्वाचित भएलगत्तै कास्कीको नौंडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा जनप्रतिनिधि र विभिन्न महाशाखाका प्रमुख कर्मचारीका लागि नेतृत्व विकास तालिम सञ्चालन गरेका थिए ।

लायन्स क्लब अफ ३२५ बी वानका पूर्व गभर्नरसमेत रहेका मेयर आचार्यले ३ दिने तालिममा लायन्स क्लबलाई पनि सहभागी गराएका थिए । महानगरको स्रोत खर्चेर महानगरसँग असम्बन्धित व्यक्तिलाई आयोजकको दर्जा दिएपछि जनप्रतिनिधि र कर्मचारी नै असन्तुष्ट बनेका थिए ।

१० लाख रुपैयाँभन्दा बढी खर्चेर अर्कै पालिकाको रिसोर्टमा कुनै गैरसरकारी संस्थाको कार्यक्रमको ढाँचामा क्लोज क्याम्प राखेपछि मेयर आचार्यको त्यतिबेला चर्को आलोचना भएको थियो । महानगरको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि पनि मेयर आचार्यले ‘टीका रिसोर्ट’ छनोट गरेका थिए ।

महालेखाको ६० औं प्रतिवेदनले पनि कार्यालयमै प्रयाप्त हल हुँदाहुँदै कार्यक्षेत्र बाहिरको स्थलमा गएर कार्यक्रम गरेको भन्दै प्रश्न उठाएको छ । उक्त कार्यक्रममा महानगरले खर्च गरेको ८ लाख ३८ हजार रुपैयाँ बेरुजु देखाएको छ ।

सार्वजनिक खरिद नियमावली ८२ मा ५ लाख रुपैयाँभन्दा बढीको खरिदमा एक तहमाथि अनिवार्य स्वीकृति लिनुपर्ने हुन्छ । तर, उक्त स्वीकृतिबिनै कार्यक्रम गरेको महालेखाले उल्लेख गरेको छ । कार्यक्रममा ७५ जना उपस्थित हुने भनिए पनि हुनुपर्ने संख्या नभएको महालेखाको प्रतिवेदनले देखाएको छ ।

‘…मितव्ययिता हुने गरी वार्ता भएको नदेखिएको, कार्यालयको स्वीकृत कार्यक्रम/बजेट नभएको एवं ऐन कानुनतः यस्तो प्रकृतिको कार्यक्रम गर्नुपर्ने व्यवस्था नभएको,’ प्रतिवेदनमा भनिएको छ, ‘साथै कार्यालयमै प्रयाप्त हँदाहुँदै महानगरको कार्यक्षेत्रबाहिरको स्थलमा खर्च गर्नुपर्ने पुष्ट्याइँ नभएको हुँदा सो खर्चलाई नियमित मान्न सकिँदैन ।’

परीक्षकको ६० औं प्रतिवेदनले खानाखाजाको नाममा पोखराका विभिन्न होटलमा २ करोड ३९ लाख रुपैयाँ खर्च गरेको भन्दै प्रश्न उठाएको छ । विभिन्न ९ होटलमा खाजा, खाना र स्न्याक्सका नाममा लाखौं रुपैयाँ खर्च गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सुझाएको छ ।

कार्यक्रमबिनै भुक्तानी

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, ०७७ को नियम ३९ (१०)अनुसार जिम्मेवार व्यक्तिले सरकारी रकमको खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल, भरपाई र कागजात संलग्न भए नभएको तथा सोअनुसार भुक्तानी दिन रीत पुगेको, नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ ।

तर, महालेखाले कार्यक्रमको जानकारीबिनै महानगरबाट बिल भुक्तानी भइरहेको देखाएको छ । महानगरबाट ०७८ असोज १७ गते लेकसाइडको होटल कुटीमा ६७ वटा ‘लञ्च, ब्रेकफास्ट र कफी’को बिल भुक्तानी भएको थियो । तर, १ लाख ५४ हजार रुपैयाँ भुक्तानी भएको उक्त दिनको कार्यक्रबारे भने कुनै जानकारी नभएको महालेखाले उल्लेख गरेको छ ।

‘…कुन कार्यक्रमको लागि खर्च गरेको हो, कार्यक्रमको उपस्थिति, निर्णयसहितको प्रमाण पेश भएको छैन,’ महालेखाले भनेको छ, ‘खर्चको पुष्ट्याइँ हुने प्रमाण पेश गर्ने अन्यथा असुल गनुपर्ने ।’

सोही वर्षकै असोज २२ गते पनि लेकसाइडकै वरपीपल रिसोर्ट र एलो प्यागोडा होटलमा पनि कार्यक्रमको पुष्ट्याइँबिनै खर्च भएको देखिएको महालेखाले जनाएको छ । के कार्यक्रम, कतिजनाको उपस्थिति भन्नेबारे कुनै प्रमाण नभएको तर, दुवै होटलमा गरेर २६ जनाको ‘डिनर र चिया’ शीर्षकमा तत्कालीन प्रमुख प्रशासकी अधिकृत महेश बरालको नाममा ४७ हजार रुपैयाँ भुक्तानी देखिएको प्रतिवेदनमा उल्लेख छ ।

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?