
काठमाडौं । पछिल्लो शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा कमजोर ओपनिङ गरेका छन् । दयाहाङ राई स्टारर ‘नीरफूल’को कमाइ उनको करिअरकै सबैभन्दा न्यूनमध्ये एक हो । चलचित्र विकास बोर्डको बक्स अफिसमा नीरफूलको दुईदिने कमाइ १४ लाख रुपैयाँ छ ।
‘वेलकम टु हेम्जाकोट’को दुई दिनको कमाइ साढे दुई लाख रुपैयाँ पनि छैन । शुक्रबार नै रिलिज भएको हलिउड फिल्म ‘ट्रान्सफर्मर्स : राइज अफ द बिस्ट्स’को ओपनिङ पनि अपेक्षित छैन । दयाहाङका पछिल्ला फिल्महरु कबड्डी ४ र जारी बक्स अफिसमा ब्लकबस्टर बनेका थिए । उनका फूलबारी हिट र बिहेपास औसत फिल्म हुन् ।
नीरफूललाई मल्टिप्लेक्सले अपेक्षाभन्दा कम शो दिएका छन् । २०७२ सालको महाभूकम्पले धादिङको रुबीभ्यालीको एक परिवारमा ल्याएको विछोड र असरको कथा फिल्मले पेश गर्छ । फूलमान वलले निर्देशन गरेको यो फिल्ममा भूकम्प पीडितलाई देखाउँदै फाइदा उठाउने राजनीतिज्ञ र सामाजिक संस्थालाई कटाक्ष पनि गरिएको छ । समग्रमा जेठ महिना घरेलु फिल्मका लागि सुखद हुन सकेन ।
प्रतिक्रिया 4