+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
ब्लग :

सन्तानका लागि सम्पत्ति नथुपार, आफैं कमाउन सक्छन्

भ्रष्टाचार गैर–कानुनी हो, अनैतिक हो, यसलाई नारामा विरोध गर्ने तर व्यवहारमा आफैं अभ्यास गर्ने वर्तमान राजनीतिक, प्रशासनिक तथा सामाजिक परिवेशलाई समूल नष्ट गरौं। नत्र कालकूट विषले मानिस मारेझैं भ्रष्टाचारले नेपाली समाजलाई मार्नेछ।

डा. गिरिधारी शर्मा पौडेल डा. गिरिधारी शर्मा पौडेल
२०८० जेठ २९ गते १७:२१

भ्रष्टाचार ‘भ्रष्ट’ र ‘आचार’ सन्धिबाट बनेको शब्द हो जसमा ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण हो अर्थात् भ्रष्टाचार भनेको खराब आचरण हो। यसका धेरै समानार्थी शब्दहरू छन्, जस्तै- घुसखोरी, अपराध, कुटिलता, शोषण, जबरजस्ती, ठगी, जालसाजी, कुकर्म, मिथ्या प्रस्तुति, नातावाद, र्‍याकेट, छायापन, फेरबदल, छायादार सौदाबाजी, मुनाफाखोरी, बेइमान, विश्वासको भंग, धोखाधडी आदि।

ट्रान्सपरेन्सी इन्टरनेसनलले ‘अख्तियार गरिएको अधिकार निजी नामका लागि दुरूपयोग गर्नु भ्रष्टाचार हो’ भनेको छ। तसर्थ भ्रष्टाचार कानुन र नैतिकतालाई मिचेर अनुचित लाभ लिने–दिने क्रिया हो।

हिन्दु धर्मले भ्रष्टाचार तथा घुसखोरीलाई महापाप मानेको छ र कुनै कामको राजकीय जिम्मा पाएको व्यक्तिले घुसलाई छुनुसम्म हुँदैन, यदि यस्तो विनियोजनलाई छोयोसम्म भने त्यस्तो व्यक्ति मृत्युको नजिक छ भनेर बुझ्नु भनेको छ। मनुस्मृतिले घुस लिनेहरूबाट राज्यलाई बचाउनु मानव जीवनको उच्चतम सत्कर्म हो भनेको छ।

इस्लाम धर्मले घुस वा अनुपयुक्त उपहार दिने वा लिने, पैसाको दोहोरो कारोबार गर्ने वा टेबलमुनि लेनदेन गर्ने कार्यलाई भ्रष्टाचार मानेको छ र कुरानद्वारा यसलाई निषेध गर्न उर्दी जारी गरेको छ।

बौद्ध धर्मले भ्रष्टाचारलाई एक अस्वस्थ मानसिक अवस्था मानेको छ जसले दुःख निम्त्याउँछ र समाजलाई नै अस्वस्थ बनाउन योगदान पुर्‍याउने ठानेको छ। यस्ता व्यवहारलाई दया र अन्तरदृष्टिले चुनौती दिनुपर्दछ र भ्रष्टाचारी व्यवहार र आचरण परिवर्तन गरी स्वच्छ समाज निर्माण गर्नु उपयुक्त मान्दछ।

क्रिश्चियन धर्मशास्त्र बाइबलले भ्रष्टाचारलाई आध्यात्मिक पतन र ईश्वरीय नियमको अवज्ञाबाट उत्पन्न हुने नैतिक पतनको अवस्था हो भनेको छ। त्यस्तो अवज्ञाले मानिस र परमेश्वर बीचको सम्बन्धलाई तोड्दछ र सामाजिक अराजकता निम्त्याउँछ। यसले मानव मर्यादाको क्षय र मानव जातिको नैतिक मृत्यु गराउँछ भनेको छ।

यसरी भ्रष्टाचार कामकाजको अख्तियार पाएको व्यक्तिले सनातनदेखि चलिआएको धार्मिक निष्ठा, नैतिक मूल्य र सामाजिक संस्कार विपरीत पदीय शक्ति दुरूपयोग गरी निहित स्वार्थको लागि व्यक्तिगत लाभ लिने दुष्कर्म तथा सामाजिक कलंक हो। बहुलवादमा आधारित समन्यायिक समाज निर्माणमा यस्ता कार्यको समूल अन्त्य अपरिहार्य भएको छ।

नेपालमा भ्रष्टाचार: विगत वर्तमान

आदिम नेपालमा सनातन धर्मले भ्रष्टाचार वर्जित गरेकोले भ्रष्टाचार गर्नु भनेको महापाप हो र यो नैतिक पतनको बाटो हो भन्ने जनविश्वास थियो। ईश्वर सर्वव्यापी भएकोले कोठाभित्र गरेका गैर लेनदेनमा पनि ईश्वर साक्षी हुन्छ र यो कुकर्म समाजमा लुक्दै लुक्दैन भन्ने जनविश्वासले गर्दा आदिमकालका भ्रष्टाचार शून्य विन्दुमा रहेको थियो। यदि यदाकदा भ्रष्टाचार भइहालेछ भने पनि स-साना राज्य भएकोले त्यसको तुरुन्तै छानबिन गरी दोषीउपर न्याय निरूपण हुन्थ्यो।

शाहकालीन समयमा पनि भ्रष्टाचारलाई सामाजिक अपराधको रूपमा लिइन्थ्यो। पृथ्वीनारायण शाहले दिव्य उपदेशमा ‘घुस दिन्या र घुस खान्या इन दुइको ता धन जिउ गरि लियाको पनि पाप छैन’ भनी भ्रष्टाचारको विरुद्ध खरो रूपमा उत्रेको देखिन्छ।

सरकारी पदमा नियुक्ति गर्दा भष्ट हो कि हैन भनी जाँचपड्ताल गरिसकेपछि मात्र नियुक्ति दिनु भन्ने राजाको ठाडो आदेश थियो। पृथ्वीनारायण शाहको शासनकालमा ‘भ्रष्टाचारी कर्मचारीका आडमा परचक्रीले खुट्टा टेकछन् र हरिपले दगा गर्छन्’ भन्ने मान्यता अनुसार भ्रष्टाचारी र परचक्रीलाई सरकारी कामकाज भन्दा टाढा राख्ने चलन थियो।

‘निञासास्त्र बमोजिम अदालत चलाउनु र अदालतका पैसा दरबार भित्र नहालनु यस्व भया असत्यको दोष लाग्देन’ भन्ने निर्देशन दिएर दरबार पनि भ्रष्टाचारबाट टाढा राखेको देखिन्छ। न्यायपालिका र कार्यपालिकाको नियुक्ति ठूलो विवेक राखेर गरिन्थ्यो। ‘दुनिया जस देषि राजि रहन्छन् उसैलाइ कजाइ दिनु’ भन्ने राजाको महावाणी अनुसार नयाँको नियुक्ति र पुरानाको बर्खास्ती हुन्थ्यो।

राणाकालमा अति केन्द्रीकृत शासन थियो। राणाशासकहरूले भन्सार राजस्व तथा जग्गाको कुत उठाउन विभिन्न पदहरूको सृजना गरी नियुक्ति दिन्थे र उनीहरूले उठाएको राजस्व सरकारी खातामा भन्दा आफ्नो व्यक्तिगत खातामा जम्मा गर्दथे। राष्ट्रको ढुकुटीमाथि हालीमुहाली गरी आफ्ना लागि ठूला ठूला महल बनाउने र विलासी कार्यमा खर्च गर्ने गर्दथे। वीरशमशेरले त राष्ट्रको ढुकुटी दुरूपयोग गरी विदेशमा आफ्नो व्यक्तिगत खातामा रकम जम्मा गरी देशमा पूँजी पलायनको सुरुवात गरे।

तत्पश्चात् राणा शासनकालभरि नै शासकहरूले राष्ट्रिय सम्पत्तिको दुरूपयोग गरिरहे। राणाहरू जिल्लामा भ्रष्टाचार गर्ने सामन्तहरूलाई सुरुमा वास्ता नगरे जस्तो भान गर्दथे। जब उनीहरूसँग उल्लेखनीय स्रोत जम्मा भएको थाहा पाउँथे तब हदैसम्मको कारबाही गरी उसको सर्वस्वहरण गरी सम्पत्ति हडप्थे। यसप्रकारले राणा शासनकाल जनताप्रति उत्तरदायी नभएको र भ्रष्टाचार बारे प्रश्न उठाउने ठाउँ समेत नभएकोले यस युगमा भ्रष्टाचारले व्यापक आकार ग्रहण गर्‍यो र त्यसपछिका वर्षहरूमा पनि निरन्तरता पाउँदै गयो।

पञ्चायतकाल अहिलेको जस्तो भ्रष्ट र लथालिङ्ग त थिएन तर भ्रष्टीकरण प्रक्रिया सुरु भइसकेको थियो। यस समय राजाको प्रत्यक्ष शासनकाल भएकोले केन्द्रीकृत शासन व्यवस्थाका अवयवहरू पछ्याउँदै दरबारिया भारदार, दरबारको वरिपरि घुम्ने बिचौलिया र दरबारसम्म पहुँच भएका पञ्च तथा अन्य उच्च पदस्थ कर्मचारीहरूले भ्रष्टाचार गर्दथे।

यस समयमा पनि भ्रष्टाचारका केही काण्डहरू उल्लेख्य रहे जस्तै डाल्डा घिउ काण्ड (घुस खाएर घिउ आयातको प्रतिबन्ध हटाउनु) बाख्रा, गधा, याक, नाक र राँगो काण्ड (भारत गएर उन्नत जातका पशु किन्ने योजनामा नक्कली प्रतिवेदन बनाएर गरेको भ्रष्टाचार) र कार्पेट काण्ड (कार्पेटको अन्डर इनभ्वाइसिङ) आदि।

कुनै पनि व्यवस्था भ्रष्टाचारमा लिप्त हुन थालेपछि त्यसको नैतिक बल सकिन्छ र पतनतिर जान्छ। पञ्चायतको पनि यही भएको थियो। भ्रष्टाचारले कमजोर बनेको व्यवस्थाले २०४६ को जनआन्दोलन थेग्न सकेन र एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य भई बहुदलीय शासन व्यवस्था स्थापित भयो।

२०४६ सालपछि राजासहितको बहुदलीय व्यवस्था र गणतन्त्रात्मक व्यवस्थामा भ्रष्टाचारमा कमी आउने जनअपेक्षा थियो। जनअपेक्षा विपरित भ्रष्टाचार संस्था, राजनीतिक दल, व्यापारिक संस्था र व्यक्तिमा यसरी व्याप्त भयो कि यसले धार्मिक, सामाजिक र नैतिकताको घेरा तोड्यो। भ्रष्टाचार यत्रतत्र सर्वत्र वर्जियत् हुनुपर्नेमा भ्रष्टाचारीले प्रशासनिक र राजनीतिक पहुँच बढाई सर्वत्र हुन थाल्यो।

भ्रष्टाचारलाई सहज बनाउन बिचौलियाहरू राजनीतिक दलका नेतालाई दान–दक्षिणा चढाएर पार्टी सदस्यता लिन थाले। भ्रष्टाचारीले आर्जन गरेको केही अंश आर्थिक सहयोगको रूपमा आबद्ध पार्टीलाई बुझाउन थाले र प्रशासनिक क्षेत्रबाट हुने खानतलासी र खोजबिनलाई निस्तेज बनाए।

अर्कोतर्फ कर्मचारीलाई पनि राजनीतिक पार्टीका ट्रेड युनियनमा संलग्न भई गतिविधि सञ्चालन गर्न खुला गरियो। तत्पश्चात् बिचौलिया र कर्मचारी बीचको हिमचिम बढ्न थाल्यो। कर्मचारी क्षेत्रबाट पनि राजनीतिक पार्टीलाई आर्थिक सहयोग बढ्न थाल्यो।

यदि कुनै बिचौलिया अथवा कर्मचारीमा भ्रष्टाचारको शंका लागेर छानबिन हुन थालेमा उनीहरूले राजनीतिक संरक्षण पाउन थाले र भ्रष्टाचार विरुद्ध काम गर्ने संस्थाहरू निष्क्रिय प्रायः भए। यसप्रकारले नेपालमा बहुदलीय शासनकालमा भ्रष्टाचार संस्थागत भयो।

बहुदलीय शासनकालमा भ्रष्टाचारका काण्ड दबाउने प्रयास गर्दागर्दै पनि दर्जनौं काण्ड जनतासामु बाहिर आए। तीमध्ये धमिजा काण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, चाइना साउथ वेस्ट काण्ड, एयर बस काण्ड, वाइडबडी विमान खरिद काण्ड, गोकर्ण रिसोर्ट काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, लडाकु शिविर घोटाला काण्ड, ३५ किलो सुन काण्ड, स्वास्थ्य सामग्री उपकरण खरिद सम्बन्धी ओम्नी काण्ड, सुपारी आयात काण्ड, बालुवाटारको जग्गा सम्बन्धी ललितानिवास काण्ड, राष्ट्रिय परिपत्र छपाइ गर्ने विदेशी कम्पनी छनोट काण्ड, बतास समूह काण्ड, सुरक्षा सामग्री खरिद सम्बन्धी सुडान घोटाला काण्ड, भृकुटीमण्डपको जग्गा भाडा काण्ड, आयल निगमको जग्गा खरिद काण्ड, एन्फा घोटाला काण्ड, हयात जग्गा प्रकरण र नेपाल ट्रष्टका जग्गा भाडा काण्ड र भुटानी शरणार्थी काण्ड प्रमुख रहे।

यी भ्रष्टाचारका काण्डमध्ये सीमित काण्डको मात्र छानबिन गरी न्याय निरूपण भयो भने अधिकांश काण्डको छानबिन समेत हुन सकेन र देशमा दण्डहीनता मौलाएर गयो।

 किन वृद्धि भइरहेछ भ्रष्टाचार ?

नेपालमा भ्रष्टाचार बढ्नुका ८ प्रमुख कारण छन्।

कमिसनमुखी अर्थतन्त्र

नेपाल कमिसनमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण भएको छैन। दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री विदेशबाट आयात गरिन्छ र ती आयातीत वस्तु तथा निर्माण सामग्री नेपाल प्रवेश गर्ने बिन्दुमा भन्सार लगाई सोही रकमबाट सङ्घीय, प्रदेश तथा स्थानीय सरकार सञ्चालन हुन्छन्।

अर्कोतर्फ निजी क्षेत्रले उक्त उपभोग्य वस्तु तथा निर्माण सामग्री एक विन्दुबाट अर्को विन्दुमा पठाउँदा केही कमिसन थपी आफ्नो अर्थतन्त्र चलायमान बनाउँछ। आयातीत सामानको व्यापार प्रधान भएको अर्थतन्त्रमा कमिसन एक सरल प्रक्रिया भएकोले बिचौलियाहरूले राजनीतिक र प्रशासनिक पहुँच बढाई सामानको खरिद, ढुवानी, भण्डारण र वितरणमा कमिसन खाई भ्रष्टाचारलाई यत्रतत्र सर्वत्र बनाए।

 काठमाडौंले विकास गरेको बाबालिका हुर्काउने ढोंगी मोडेल

काठमाडौंका स्थानीय जनता र देशका विभिन्न भागबाट काठमाडौंमा राजनीति, जागिर, व्यापार, अध्ययन र उपचारको लागि बसाइँसराइ गरी आएका घरपरिवारले बालबच्चा हुर्काउने अनौठो ढोंगी मोडेल विकास गरेका छन्।

उनीहरूका बालबच्चाप्रतिका आनीबानी र व्यवहार हेर्दा बाबुआमा उनका राणाकालीन दास र बालबच्चा मालिक जसरी हुर्काइरहेका छन्। काठमाडौंका बाबुआमाले घरको काम बालबच्चालाई लगाउँदैनन्। सके आफैं गर्दछन्, नसके काम गर्ने मानिसलाई ज्यालामा राख्दछन्।

फगत उनीहरूलाई स्कुल तथा कलेजमा उच्च जीपीए (अङ्क) ल्याउन र विदेश जान सक्षम बन्न उपदेश मात्र दिन्छन्। यस किसिमले विकास भएको ढोंगी संस्कारले काठमाडौंका बालबच्चामा काम गर्ने जाँगर मर्दै गएको र विदेश जाने चिन्ता बढ्दै गएको देखिन्छ।

यस संस्कृतिमा हुर्केका बालबच्चाले विदेश जान सकिएन भने बाबुआमाले जम्मा गरिदिएको सम्पत्ति उपभोग गरी जीवन गुजारा गर्ने सोच राख्दछन्। बाबुआमाहरूमा सन्ततिको लागि सम्पत्ति आर्जन गर्ने धङधङीले भ्रष्टाचारलाई बढावा दिएको छ। एक अध्ययनले काठमाडौंका ४६ प्रतिशत १५ देखि २४ वर्षका युवाले काम गर्न नचाहेको देखाएको छ।

युवामा विकास हुदै गएको मध्यम वर्गीय चरित्र

कोभिड-१९ को महामारीमा अध्ययन, अध्यापन, बैठक, कार्यशाला जस्ता कार्यहरूका लागि विस्तार भएको डिजिटल प्रविधिले हाम्रा कामहरूलाई सहज मात्र बनाएन हाम्रा बालबच्चाका अपेक्षा पनि ह्वात्तै बढायो। विकसित देशबाट विस्तार भएको डिजिटल प्रविधिको प्रयोग गरी नेपालका युवाहरूले पूर्वी तथा पश्चिमा विकसित देशमा विकास भएका सुविधाबारे जानकारी प्राप्त गरे र ती सुविधाहरू प्राप्त गर्न लालायित बन्न थाले।

कछुवाको गतिमा हिंडिरहेको सरकार युवाका ती अपेक्षा पूरा गर्न सक्षम भएन र उनीहरूका अपेक्षा बाबुआमाले पूरा गरिदिनुपर्ने अवस्था आयो। नियमित आर्जनले बालबच्चामा विकास हुँदै गरेका अपेक्षा पूर्ति गर्न सक्षम नहुँदा भ्रष्टाचार गरेर भए पनि उनीहरूका आकांक्षा पूर्ति गर्ने मनोवृत्तिले भ्रष्टाचारलाई बढावा दियो।

 विप्रेषणको नकारात्मक असर

देशमा गरिबी निवारण, औसत आयुमा वृद्धि, साक्षरता दरमा वृद्धि, स्वदेशी अर्थतन्त्र विस्तार, अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि आदिमा मुलुकमा भित्रने विप्रेषणले सकारात्मक भूमिका खेलेको छ। अर्कोतर्फ सँगै रहेका छिमेकमा विप्रेषण प्राप्त गर्ने घर र प्राप्त नगर्ने घरका बालबच्चाको लवाई–खवाई र शिक्षादीक्षामा फरक देखिन थालेको छ।

विप्रेषण प्राप्त नगर्ने घरका बालबच्चामा प्राप्त गर्ने घरका बालबच्चाले जस्तै लाउने–खाने र उस्तै विद्यालयमा पढ्ने अपेक्षा राख्दछन् र आफ्ना बाबुआमासँग सोही आग्रह गर्दछन्। निरीह बाबुआमाहरूमा आफ्ना बालबच्चाका माग पूरा गर्ने रहर हुन्छ र सम्भव भएसम्म थप काम गरी स्रोत जुटाउँछन् र सम्भव नभए वैकल्पिक बाटो अपनाउँछन् र भ्रष्टाचारले प्रश्रय पाउँछ।

 शिक्षा तथा स्वास्थ्य सेवाको निजकरण

नेपालमा बहुदलीय व्यवस्थाको अभ्यास सँगै शिक्षा तथा स्वास्थ्य जस्ता राज्यको दायित्वभित्र पर्ने आधारभूत सेवाहरूमा निजी क्षेत्रको प्रवेश गराइयो। निजी क्षेत्रको घुसपैठले सार्वजनिक क्षेत्रमा यी सेवाहरूको स्तर खस्कँदै र निजी क्षेत्र चम्किंदै जान थाल्यो। सार्वजनिक क्षेत्र कमजोर भए पश्चात् निजी क्षेत्रले शिक्षा क्षेत्रमा विद्यार्थीलाई उच्च मासिक फी तथा स्वास्थ्य जाँच र औषधि उपचारमा महँगो शुल्क असुल्न थाल्यो।

नेपालको वर्तमान तलबमान तथा भत्ताले निजी क्षेत्रमा गएर गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न पुग्दैन। तसर्थ राजनीतिज्ञ तथा कर्मचारीमा आफ्ना बालबच्चालाई राम्रो बोर्डिङ स्कुलमा पढाउन र आवश्यक परेको बेला गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न कमाइमा बढोत्तरी गर्ने अभिलाषा जागेको देखिन्छ। वैध बाटोबाट नियमित काममा लागेका राजनीतिज्ञ तथा कर्मचारीलाई आफ्नो आयमा बढोत्तरी गर्न सम्भव देखिंदैन। तसर्थ उनीहरू गैरधन्दामा लाग्दछन् र भ्रष्टाचारले प्रश्रय पाउँछ।

 नेताहरूमा चढेको सत्ताको मात

लोकतन्त्रका लागि संघर्ष गर्ने हाम्रा अग्रज नेताहरूलाई नेपाली समाजले सम्मान दिएको छ। राजनीतिक दललाई मतदान गरेर पालैपालो सत्तारोहण गरी सत्ताको बागडोरमा सम्हाल्ने अवसर दिएका छन्। तथापि व्यवस्था बदल्न संघर्ष गरेका राजनीतिक दलले देश विकास र सुशासन दिन सकेनन्। हाम्रा नेताहरू दूरदर्शी भएनन्, देशलाई औद्योगीकरण गर्ने भिजन दिएनन्, योजना बनाएनन् र कार्यान्वयन गरेनन्। उनीहरू बिचौलियाको लोभ, लालच र षड्यन्त्रमा लागे। गुट, फुट र उपगुटमा रमाए।

राजतन्त्रको समाप्ति पछि उनीहरूमा सत्ताको मात चढ्दै गयो र म नै सरकार र म नै पार्टी हुँ भन्ने सोच विकसित भयो। सत्तामा भएका बेला म नै नेपालको दीर्घजीवी बादशाह हुँ भनी अन्तरमनमा सोच्न थाले। आफैंले बनाएका ऐन, कानुन र नियम मिचेर निर्णयहरू गर्दै भ्रष्टाचारको बढोत्तरी गरे।

खर्चिलो निर्वाचन प्रणाली

नेपालको खर्चिलो निर्वाचन प्रणाली भ्रष्टाचार बढाउने एक महत्वपूर्ण पक्ष हो। चुनावको बेला उम्मेदवारको निर्वाचनमा प्रचारप्रसार गर्ने भड्किलो शैली र प्रचारप्रसार गर्ने समर्थकहरूको बढ्दो खानपान खर्चले गर्दा प्रत्यक्ष निर्वाचन महँगो हुँदै गएको छ। निर्वाचनपश्चात् निर्वाचित सांसद तथा मन्त्रीहरू निर्वाचन खर्च उठाउने र अर्को निर्वाचनलाई समेत स्रोत संकलन गर्ने ध्याउन्नमा लाग्दा भ्रष्टाचार व्यापक भयो।

भागबण्डामा नियमनकारी निकाका पदाधिकारीको नियुक्ति

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय सतर्कता केन्द्र र अन्य नियमनकारी निकायका पदाधिकारी दलकै सेटिङ/भागबन्डामा नियुक्ति हुन थाले र भ्रष्टाचार काण्डमा निष्पक्ष छानबिन गरी दोषीउपर कार्बाही गर्न सकेनन्। यसले देशमा दण्डहीनता र अराजकता मोलाउँदै गयो।

 भ्रष्टाचार निवारणको लागि गर्नुपर्ने कार्य

नेपालमा भ्रष्टाचार निवारणको लागि गर्नुपर्ने मुख्य कार्यहरूलाई निम्नानुसार चर्चा गर्न सकिन्छ। अब यस्तो समय आयो कि हामीले राजनीतिज्ञ र कर्मचारीलाई जनअपिल गर्नुपर्ने बेला आएको छ- ‘तिम्रा छोराछोरी र नातिनातिनाले आफैं कमाउँछन्, भ्रष्टाचार गरेर धन नथुपार।’

नेपालमा छानबिन भई न्याय निरूपण भएका भ्रष्टाचार सम्बन्धी सीमित मुद्दाका फैसलाहरू केलाउँदा भ्रष्टाचारीले भ्रष्टाचार गरेको रकम आफैंले प्रयोग गर्नुभन्दा पनि आफ्ना छोराछोरी र नातिनातिनाको लागि जम्मा गरेको देखिन्छ।

तसर्थ भ्रष्ट आचरण भएका व्यक्तिहरूलाई तिम्रा छोराछोरी र नातिनातिना आफैं कमाउन र जीवन निर्वाह गर्न सक्षम हुनेछन्। भ्रष्टाचार गरी उनीहरूको लागि धन नथुपार भनी जनअपिल गर्नुपर्दछ। लोककल्याणकारी राज्य उनीहरूको पछि हुनेछ।

घुँडा माथिसम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढाले २०८० जेठ महिनामा सगरमाथा आरोहण गरेको उदाहरण हेरौं। उनलाई उनका बाबुआमाले धन थुपारिदिएका थिएनन्। आफ्नै पौरख र आर्जनले यो सफलता प्राप्त गरेका हुन् भनी भ्रष्टाचारीको धनदौलत थुपार्ने प्रवृत्तिलाई दुरुत्साहन गर्नुपर्दछ।

भ्रष्टको पहिचान सामाजिक बहिष्कार गर्ने

भ्रष्टहरू पहिचान गरी सामाजिक बहिष्कार गर्नु भ्रष्टहरूलाई दिने सबैभन्दा ठूलो सजाय हुनेछ। भ्रष्टहरूलाई उनीहरूका आनीबानी र व्यवहारबाट केही हदसम्म पहिचान गर्न सकिन्छ। भ्रष्टहरू स्वभावमा नम्र र मृदुभाषी, व्यवहारमा चलाख, बोलचालमा वाक्पटु, स्वार्थमा निर्लज्ज, सम्पर्कमा कुटिल र जोखिममा निडर स्वभावका हुन्छन्। उनीहरू ढाँट्न, छल्न, ठग्न, अरुलाई सपना देखाउन र हावामा महल बनाउन पनि पोख्त हुन्छन्। उनीहरूमा प्रधानमन्त्री, मन्त्री, सचिव, नेता, उच्च प्रहरी, सैनिक अधिकारी लगायत सत्ताधारीका बेडरुमसम्म कसरी पुग्ने ? लोभी नेता, कर्मचारी, आयुक्त, न्यायाधीशको पहिचान कसरी गर्ने ? सेटिङ कसरी मिलाउने ? समाजका संवेदनशील क्षेत्रका छिद्र कसरी पत्ता लगाउने ? नीतिनिर्माण र कार्यान्वयन तहका उच्च अधिकारीलाई किनेर कसरी आफ्नो पक्षमा निर्णय गराउन लाचार बनाउने ? जस्ता कला सिकेका हुन्छन्।

तपाईंको घरछिमेक र कार्यालयमा यस्ता स्वभावका मानिसहरू छन् भने तिनीहरू भ्रष्ट हुन सक्छन्। त्यसैले उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्दछ।

भ्रष्टहरू पहिचान गर्न उनीहरूका आनीबानी र व्यवहारको पनि निरन्तर निगरानी राख्नुपर्छ। मानिलिनुस् तपाइँको कार्यालयमा कुनै भ्रष्ट मान्छे रहेछ भने उसले कार्यालयका सबै मानिससँग मिठो भाषाले बोल्न सक्छ। हरहमेसा कार्यालयमा/मन्त्रालयमा मन्त्री वा सचिव वा विभागीय प्रमुख वा कार्यालय प्रमुखको नजिक रहन खोज्छ। आफू निस्वार्थी रहेको भान दिलाउन गीताको कर्मयोगको र अन्य धार्मिक ग्रन्थका श्लोक उच्चारण गरी उपदेश दिन सक्छ।

कार्यालय समयमा आफ्नो काम नगर्ने र काम सकिएन भनी बिहान–बेलुका पनि काम गरिरहेको र कार्यालयको लागि उल्लेख्य योगदान गरेको अनुभूति गराउन खोज्छ। फुर्सदको समयमा भेट भयो भने जो भेट हुन्छ उसलाई चिया–नास्ताको अफर गरिहाल्छ। साँझ परेपछि गोप्य रूपमा बिचौलियालाई भेट्न होटल तथा रेस्टुराँमा जाने, कमिसन आउने कामको सेटिङ बाहिर मिलाउने काम गर्छ। र, निर्णय गर्ने व्यक्तिलाई लाभको बाँडफाँड गर्छु भनी आश्वस्त गराएर कार्यालयमा निर्णय गराउने जस्ता काम गर्दछ। यदि तपाइँको कार्यालयमा यस प्रकारका मानिस छन् भने निरन्तर निगरानीमा राख्नुहोस्।

टोल–छिमेकमा पनि भ्रष्टाचारी व्यक्तिका आचरण निरन्तर निगरानी गरी पत्ता लगाउन सकिन्छ। भ्रष्टाचारी व्यक्तिले आफ्ना पुराना साथी बिर्सने र नयाँ साथी खोज्ने गर्दछन्। टोलछिमेकीसँग गरिरहेका कार्यहरू जस्तै बिहानको घुमाइ तथा खेलकुद र बेलुकाको भेटघाट आदिबाट अलग हुने। बिहान–बेलुका पूजापाठ गर्छु भनी स्वाङ पार्ने। बिदाका दिन धेरैजसो समय बिचौलियासँग गोप्य रूपमा बिताउने र छिमेकीलाई फुर्सदको बेला मन्दिर जाने गरेको छु भनी स्वाङ पार्ने।

घरमा बहुमूल्य वस्तुहरू भित्र्याउने। भ्रष्टाचारीका बालबच्चा र श्रीमान् तथा श्रीमतीले छिमेकका अन्य व्यक्तिलाई आफ्नो घरमा नयाँ बस्तु किनेको र खानाका प्रकारहरू बढेको फुर्ति दिने आदि कार्यको निरन्तर निगरानीले भ्रष्टाचारी पत्ता लगाउन सकिन्छ। भ्रष्टचारी पत्ता लगाइसकेपछि कानुनी उपचारमा जाने र सामाजिक बहिष्कार गर्नुपर्दछ।

पार्टीभित्रका पात्र पहिचान गरेर भोट हाल्ने

संघ, प्रदेश र स्थानीय तहका चुनावमा पार्टीभित्रका स्वच्छ छवि भएका असल व्यक्ति छानेर टिकट र भोट दिने गरौं जसबाट असल शासनको अभ्यास भई भ्रष्टाचार निवारणमा मद्दत पुग्दछ। भ्रष्टाचार निवारण गर्न स्थापना भएका नियमनकारी निकायमा राजनीतिक पार्टीमा आबद्ध नभएका व्यावसायिक व्यक्तिहरू नियुक्ति गरौं र भ्रष्टाचार निवारण अभियानको रूपमा सञ्चालन गरौं।

देशभित्र रहेका प्राकृतिक स्रोत जस्तै खनिज, पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँसको पहिचान, उत्खनन् र प्रयोग गरी कमिसनमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गरौं। औद्योगिक पूर्वाधार, यातायात, सञ्चार लगायत क्षेत्रमा योजनाबद्ध विकास गरी देशलाई द्रुत गतिमा औद्योगीकरण गरौं। देशभित्रै रोजगारीका अवसर सिर्जना गरी युवापुस्तालाई विदेशमा श्रम र श्री बेच्न बाध्य नपारौं। सामाजिक न्याय र विभेदका सीमा मेटाउँदै जाऔं। आवाजविहीनका आवाज सुनौं।

भ्रष्टाचार गैर–कानुनी हो, अनैतिक हो, यसलाई नारामा विरोध गर्ने तर व्यवहारमा आफैं अभ्यास गर्ने वर्तमान राजनीतिक, प्रशासनिक तथा सामाजिक परिवेशलाई समूल नष्ट गरौं। नत्र कालकूट विषले मानिस मारे झैं भ्रष्टाचारले नेपाली समाजलाई मार्नेछ। भ्रष्टाचाररहित राज्य व्यवस्था र विधिको शासन कायम गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य प्राप्त गरौं।

लेखक
डा. गिरिधारी शर्मा पौडेल

नेपाल परिवार नियोजन संघका पूर्वमहानिर्देशक रहेका डा. पौडेल गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?