बजार पुँजीकरणले सूचीकृत कम्पनीको आकार मापन गर्छ । कम्पनीको पछिल्लो सेयर मूल्यलाई सेयर संख्याले गुणा गर्दा आउने योग नै उक्त कम्पनीको बजार पुँजीकरण हो ।
बजार पुँजीकरण मापन गर्दा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको सबै सेयर समावेश गरिन्छ । नेप्सेमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई समग्र बजार पुँजीकरण भनिन्छ ।
उदाहरणका लागि एबिसी कम्पनीको १० लाख कित्ता सेयर सूचीकरण भएको छ, उक्त कम्पनीको अन्तिम कारोबार मूल्य २२० रूपैयाँ हो । यस अवस्थामा एबिसी कम्पनीको बजार पुँजीकरण २२ करोड रुपैयाँ हुन्छ।त्यस्तै अर्को कम्पनीको २५ लाख कित्ता सेयर सूचीकृत छ र अन्तिम कारोबार मूल्य ३२० रूपैयाँ हो भने बजार पुँजीकरण ८० करोड रुपैयाँ कायम हुन्छ ।
मानौं स्टक एक्सचेन्जमा यी दुई कम्पनी मात्रै सूचीकृत छन्। त्यो अवस्थामा समग्र बजार पुँजीकरण एक अर्ब दुई करोड रुपैयाँ हुन्छ ।
नेप्से परिसूचक गणनामा कम्पनीहरुको बजार पुँजीकरणको प्रयोग हुने गरेको छ । परिसूचक घटबढमा ठूलो पुँजीकरण भएका कम्पनीहरुको भार ठूलै हुने गरेको छ ।
तपाइले लार्ज क्याप, मिड क्याप र स्मल क्याप भन्ने सुन्नु भएको हुनसक्छ । यो भनेको बजारमा सूचीकृत कम्पनीहरुलाई पुँजीकरणका आधारमा गरिएको विभाजन हो । लार्ज क्याप भनेको पुँजीरणका आधारमा ठूला कम्पनी, मिड क्याप भनेको मध्यम आकारका कम्पनी र स्मल क्याप भनेको साना कम्पनी हो ।
नेपालमा भने लगानीकर्ताले आफ्नो प्रयोजनको लागि पुँजीकरणको हिसाबले कम्पनी विभाजन गरे पनि नीतिगत रुपमा धितोपत्र बोर्ड वा स्टक एक्सचेन्जले यस्तो विभाजन गरेको पाइदैन ।
मार्केट क्यापले कम्पनीको दोश्रो बजारमा उतारचढाव मापन गर्न पनि लगानीकर्तालाई सहयोग गर्छ । ठूला पुँजीकरण भएका कम्पनीहरूमा मिड-क्याप कम्पनीहरू भन्दा कम उतार-चढाव हुन्छ भने मिड-क्याप कम्पनीहरूमा स्मल-क्याप कम्पनीहरू भन्दा कम उतार-चढाव हुन्छ ।
सानो पुँजीकरणका भएका कम्पनीहरुको सेयर आपूर्ति कम हुने भएकाले मूल्य निकै चलायमान हुने गर्छ । बजार पुँजीकरणले लगानीकर्तालाई कम्पनीको आकार बुझ्न सजिलो बनाउँछ । खासगरी एउटै क्षेत्रका विभिन्न कम्पनीको आकार तुलना गर्न मार्केट क्यापलाई आधार बनाउने गरिन्छ ।
कम्पनीको बजार पुँजीकरण आकारका आधारमा लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका विभिन्न श्रेणीका कम्पनीहरु छनौट गर्न सक्छन् ।
कम्पनीको बजार पुँजीकरणले कम्पनीको वित्तीय अवस्था, लगानीको प्रतिफल, सेयर मूल्य र भविष्यलाई प्रतिबिम्बित गर्दैन । त्यसका लागि कम्पनीका अन्य वित्तीय सूचकहरू ख्याल गर्नुपर्ने हुन्छ । बजार पुँजीकरणका आधारमा ठूला कम्पनीको सामान्यतया सेयर संख्या धेरै हुने भएकाले उच्च दरमा लाभांश वितरण गर्न धेरै आम्दानी र धेरै नाफा कमाउनु पर्ने हुन्छ ।
कम्पनीको बजार पुँजीकरण दुई तरिकाले बढ्छ । पहिलो- प्रतिसेयर मूल्य बढ्दा । दोस्रो-कम्पनीको कुल सेयर संख्यामा वृद्धि हुँदा । सामान्यतया मूल्यमा हुने उतारचढावसँगै कम्पनीको बजार पुँजीकरण तलमाथि भइरहन्छ ।
हालको बजार पुँजीकरणको आधारमा नेपालका १० ठूला कम्पनीहरु:
१. नबिल बैंक
२. नेपाल टेलिकम (नेपाल दुरसन्चार कम्पनी लिमिटेड)
३. नागरिक लगानी कोष
४. एनआईसी एशिया बैंक
५. नेपाल पुनर्बीमा कम्पनी
६. ग्लोबल आइएमई बैंक
७. एभरेष्ट बैंक
८. नेपाल इनभेष्ट्मेण्ट मेगा बैंक
९. नेपाल लाइफ इन्स्योरेन्स
१०. स्ट्याण्डर्ड चार्टड बैंक
प्रतिक्रिया 4