यू-१९ फुटबल टिमको प्रशिक्षकमा सुनिल श्रेष्ठ, यू-१६ मा रवीन्द्र सिलाकार
९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१९ राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ र यू-१६ को मुख्य प्रशिक्षकमा रवीन्द्र सिलाकारलाई नियुक्त गरेको छ ।
एन्फाले सोमबार उनीहरूलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले सोमबार दुवै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
आसन्नस यू-१९ साफ र यू-१६ साफका लागि सुनिल र रवीन्द्रलाई एन्फाले प्रशिक्षक बनाएको हो । सुनिल श्रेष्ठ शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक थिए भने रविन्द्र सिलाकार संकटाका प्रशिक्षक थिए ।
यु-१९ राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन् भने टिम म्यानेजरका दिवाकर घले रहनेछन् ।
यस्तै यू-१६ टोलीको सहायक प्रशिक्षकमा सिताराम घिमिरे र गोलकिपर प्रशिक्षकमा गंगाराम देउजा नियुक्त भएका छन् ।
अब सुनिल श्रेष्ठले आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालको यू१९ टोलीको प्रशिक्षण सम्हाल्नेछन् । एन्फाले यू-१९ टिमका लागि साउन महिनामा तीन चरणमा खेलाडी छनोट गरेर त्यसपछि प्रशिक्षण गर्ने जनाएको छ ।
यस्तै रवीन्द्र सिलाकारले सेप्टेम्बर १ देखि १० सम्म भुटानमा हुने साफ यू-१६ च्याम्पियनसिपमा नेपाली यू–१६ टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।
साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार यू-१९ साफ र यू-१६ साफ च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक गरेको छ ।
साफ यू-१९ मा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । साफ यू-१९ मा नेपाल पाकिस्तान र माल्दिभ्स समूह ए मा छ ।
यस्तै साफ यू-१६ मा नेपाल साविक विजेता भारत र बंगलादेशसँगै समूह ए मा छ । जहाँ नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया 4