
१ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारण नागरिकलाई सेयर जारी गर्ने लक्ष्यसहित वित्तीय पुनसंरचना प्रस्ताव नेपाल सरकार समक्ष पेश गरेको छ ।
प्राधिकरणको ३९ औं वार्षिकोत्सवका अवसरमा आफ्नो मन्तव्य राख्दै कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी गराएका हुन् ।
उनका अनुसार प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारलाई निष्काशन गरी संकलन भएको रकम मूख्य ठूला जलविद्युत आयोजना निर्माणमा खर्च गर्ने योजना रहेको छ ।
उनका अनुसार सेयर जारी गर्ने प्रयोजनका लागि प्राधिकरणको सम्पत्तिको वास्तविक मूल्यांकन गराइएको छ । क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालबाट प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ समेत प्राप्त भएको छ ।
उनका अनुसार प्राधिकरणको इतिहासमै गत आवमा सबैभन्दा कम १३.४६ प्रतिशत प्रसारण तथा वितरण चुहावट भएको छ ।
अहिले देशभर ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको र त्यसमा प्राधिकरणको केन्द्रिय प्रणालीबाट ९५ प्रतिशत हिस्सा ओगटेको समेत उनले जानकारी दिए ।
अबका २ वर्ष भित्र सबै जनताका घरमा विद्युत सेवा पुग्ने सरकारको लक्ष्य पूरा गर्ने गरी प्राधिकरणले काम गरिरहेको उनले जानकारी दिए ।
नेपालबाट अहिले ४५२ मेगावाट विद्युत निर्यात भइरहेको भन्दै उनले थप निर्यातका लागि प्रस्ताव गरिएको समेत जानकारी दिए ।
प्रतिक्रिया 4