
२८ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले १४ असोजमा मेची किनारबाट सुरु गरेको जागरण अभियान सुर्खेतको छिन्चुमा समापन गरेको छ ।
उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले तराई क्षेत्रमा चलाएको १५ दिने अभियान सफल भएको र छिट्टै मध्यपहाडी क्षेत्रमा अर्को अभियान सञ्चालन गर्ने बताए ।
‘राजनीतिक दलप्रति निकै वितृष्णा भोगिरहेको नेपाली समाजको चेतनामा एकीकृत समाजवादी आफ्ना कुरा सुनाउन आयो भनेर सकारात्मक प्रतिक्रिया आए’, खतिवडाले भने ।
बाली भित्र्याउने बेलामा भएको आफूहरुको कार्यक्रमको सहभागिताले उत्साहित बनाएको र पार्टी नयाँ ढंगले अघि बढ्छ भन्ने विश्वास दिलाएको उनको भनाइ छ । यो अभियानले ०८४ सालको चुनावमा देशैभर एक्लै प्रतिस्पर्धा गर्न सक्ने आत्मविश्वास दिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
‘आगामी स्थानीय तहको निर्वाचनमा कलम चिह्नसँग मात्रै अरुको एकता हुन्छ । कलम चिह्न छोडेर अरुसँग एकता हुँदैन भन्ने सन्देश दिएका छौं’, उनले भने ।
अभियानका क्रममा अहिलेसम्म १० हजार भन्दा बढीले पार्टी प्रवेश गरेको पनि उनले बताए । ‘हामी हाम्रो लक्ष्यमा ८० प्रतिशत सफल भएका छौं । तर प्रभावका हिसाबले जो मान्छे प्रवेश गरेका छन्, त्यसको महत्व झनै ठूलो छ’, उनले भने ।
अभियानका क्रममा करिब ३ लाख जनासँग प्रत्यक्ष अन्तर्क्रिया भएको र १५ जिल्लामा उद्योग वाणिज्य संघ र व्यवसायीहरुसँग कुरा गरेको एकीकृत समाजवादीले जनाएको छ । ‘१७ जिल्लामा शिक्षकसँग पनि छलफल गर्यौं । सुकुम्वासी र मुक्त कमैयाँलगायत समुदायसँग हामीले हिँडेरै छलफल गरेका छौं’, प्रचार विभाग प्रमुख खतिवडाले भने ।
एकीकृत समाजवादीले अभियान सञ्चालन गरेका बेला कोशी प्रदेशमा पहिचानको आन्दोलन चलिरहेको थियो भने मधेशका केही ठाउँमा सामाजिक सद्भाव बिथोल्ने घटना भएका थिए । अभियानका क्रममा सर्वसाधारणले पार्टी उनीहरुको मुद्दामा गम्भीर रहेको महसुस गरेको खतिवडाले बताए ।
‘कोशी प्रदेशमा पहिचानको त्यत्रो संघर्ष चलिरहँदा हामीलाई स्वागत भयो । किनभने, हामी पहिचानको विपक्षमा छैनौं भन्ने विश्वास दिलाउन सकेका छौँ । मधेश प्रदेशमा आउँदा पनि त्यस्तै राम्रो स्वागत भयो । किनभने, हामी संघीयताको पक्षमा छौं भन्ने विशवास दिलाएका छौं । सुकुम्वासी क्षेत्रले वास्तवमै आएको भनेर स्वागत गरे’, उनले भने ।
अभियानका क्रममा ५५ वटा सार्वजनिक कार्यक्रम गरिएको र त्यहाँ उत्साहजनक सहभागिता देखिएको खतिवडाले बताए ।
अभियानमा के–के भए ?
पार्टी प्रचार विभाग प्रमुख खतिवडा अभियानबाट एकीकृत समाजवादीले समाजवादको समीक्षा गरेको त्यस विषयमा नागरिकलाई जानकारी गराएको बताउँछन् ।
‘हाम्रो समाजवाद भनेको सबभन्दा पहिले देशमा रोजगारी वृद्धि गर्ने, त्यसका लागि कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने, जनताले गरेको उत्पादन सरकारले अनिवार्य खरिद गर्नुपर्ने, बजारको व्यवस्था गर्नुपर्ने र साथै, जनतालाई कृषि क्रमबाटै बचत गर्न सकिन्छ भन्ने अनुभूति दिलाउनुपर्ने भन्ने हो । जसले गर्दा लाखौंलाई रोजगारी सिर्जना हुन्छ’, उनले भने ।
यसो भएमा विदेश जाने परिस्थिति कम हुने र युवाको श्रम, सीप, क्षमता र वौद्धिकताको देशभित्रै उपयोग हुन सक्ने खतिवडाले बताए । ‘त्यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्छ । हाम्रो समाजवादको प्रारम्भिक खाका यही हो भनेका छौं’, उनले भने ।
राष्ट्रिय एकता स्वाभिामानको रक्षाका विषयमा पार्टीको नीति जानकारी गराएको उनको भनाइ छ ।
‘हामीले एमसीसी बाध्यताका कारण समर्थन गर्नुपरेको थियो भनेर भनेका छौं । तर त्यसमा अनुगमन समिति बनाएर व्याख्यातमक घोषणको पक्षमा पार्टी उभिने र संसदमा त्यही अनुसार दबाब दिनेछ भनेर जनतालाई भन्यौं’, उनी भन्छन्, ‘त्यसमा आम नागरिकले दृढतापूर्वक उभिनुपर्ने सुझाव दिनुभएको छ ।’
अभियानका क्रममा सरकारमा रहेको पार्टी र दुई जना पूवप्रधानमन्त्री भइसकेका नेताहरूले यसअघि नगरेका काम यसपछि गर्छन् भन्ने विश्वासको सुनिश्चितता समेत खोजेको खतिवडा सुनाउँछन् ।
‘जनताले प्रश्न पनि उठाउनुभयो । यसले हामीलाई स्पष्ट पार्ने अवसर मिल्यो’, उनी भन्छन्, ‘हामी सरकारमा दुई जना मन्त्रीसहित छौं । यो गठबन्धनको बाध्यता हो । हामीलाई नागरिकले उठाएको आवाजका अगाडि गठनबन्धन महत्वपूर्ण कुरा होइन, तपाईंको आवाज महत्वपूर्ण कुरा हो भन्यौं ।’
उनले अब स्थानीय जनसंघर्षबाट, सरकारसँग सहकार्य र आलोचना दुईवटै कुरा सँगसँगै अघि बढाउने भन्दै समाजवादी अभियानलाई नयाँ ढंगले अगाडि बढाउने बताए ।
प्रतिक्रिया 4