 
																			कृषि तथा वन विज्ञान विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत एघार महिने इन्टर्नसिप अन्तर्गत एक वर्षअघि म आफैं पनि इजरायल पुगेको थिएँ। विश्वविद्यालयले सीमित विद्यार्थीहरूको अन्तर्वार्ता लिएर छनोट गरेको थियो।
उक्त दिन नेपालको लागि इजरायली राजदूत आफैं आएर सम्पूर्ण जानकारी दिएका थिए। अनुभव सुनाउनको लागि साना किसान सहकारीका माध्यमबाट इजरायल पुगेर अनुभव लिएर फर्किएका पूर्व विद्यार्थी आएका थिए। भावी काम कस्तो हुने, कति दुःख हुने, कति समय खट्नुपर्ने भन्ने विषय लगभग थोरै भए पनि हामी जानकार भयौं।
 केही साथीहरूले पहिले नै असहज परिस्थिति चाल पाएर उक्त कार्यक्रमबाट हात झिकिसक्नुभएको थियो। केही अनुभवी अग्रजहरूलाई सोध्दा पनि कार्यक्रम राम्रो भएको र आम्दानी पनि उच्च हुने कुरा सुनाउनुहुन्थ्यो। जसले जसरी पनि मिहिनेत गर्ने हो भन्ने सोच्नुभयो र उहाँहरू जान तयार हुनुभयो।
केही साथीहरूले पहिले नै असहज परिस्थिति चाल पाएर उक्त कार्यक्रमबाट हात झिकिसक्नुभएको थियो। केही अनुभवी अग्रजहरूलाई सोध्दा पनि कार्यक्रम राम्रो भएको र आम्दानी पनि उच्च हुने कुरा सुनाउनुहुन्थ्यो। जसले जसरी पनि मिहिनेत गर्ने हो भन्ने सोच्नुभयो र उहाँहरू जान तयार हुनुभयो।
एकातिर पहिलो पटक, साथमा मागभन्दा बढी आवेदन, विद्यार्थीबीच प्रतिस्पर्धा भयो।
भन्छन्- इजरायलीहरूलाई दुई कुराको प्रश्न नगर्नु। पहिलो, इजरायल-प्यालेस्टाइन बीचको भौगोलिक असमञ्जस्यता र अर्को धर्म। मैले इजरायलीहरूलाई यी विषयमा प्रश्न सोध्दा नाक खुम्च्याउने गरेको देखेको छु। हामीसँगै गएका एक जना फरक धर्मको साथीलाई एअरपोर्टमा चार घण्टा रोकिदिएको थियो।
कल्पना भन्दा बाहिर, हामी इजरायली एअरपोर्टबाट झरेपछि सीधै हामीलाई बसमा हालेर दक्षिण छेउतिरबाट कृषि फार्ममा झार्न थालियो। विस्तारै बुझ्दै जाँदा यो गाजा क्षेत्रको सिमाना नजिक रहेछ।
युद्धको बारेमा सामान्य जानकारी हुँदाहुँदै विना प्रवाह काम थालियो। बस्ने बन्दोबस्त उस्तै नाजुक, आल्मुनियमद्वारा निर्मित भवनहरू, एकदमै आधारभूत तहका कामदारसँग त्यस्तै काम, हामी छाँगाबाट खसे जस्तै भयौं।
११ महिना त हो नि भन्दै त्यही वातावरणमा जम्न थाल्यौं। रम्न थाल्यौं। सबै घुलमिल भएर समय बिताउन थाल्यौं।
समय बित्दै थियो, एक बिहान हामी उठ्न नपाउँदै साइरन बज्न थाल्यो। हामी के बज्यो भनेर बाहिर निस्कँदा त पुराना थाइ कामदारहरू अघि नै बङ्करभित्र छिरिसकेका रहेछन्।
उनीहरूको निर्देशनपछि हामी नेपाली पनि त्यहीं पस्यौं। त्यसको तीन दिनसम्म लगातार साइरन बज्ने, बङ्कर छिर्ने निस्कने भैरह्यो। हरेक दिन एउटै अभ्यास दोहोर्याएपछि अस्वाभाविक काम पनि स्वाभाविक लाग्ने रहेछ। यसबीचमा पनि काम भने रोकिएन।
यसलाई त्यहाँ सबैले सामान्य मान्दा रहेछन्। मलाई अझै याद छ- हामीसँग काम गर्ने अरेबिक इजरायलीहरू काम गर्दागर्दै साइरन बज्यो भने हतारहतार बङ्करभित्र लुक्न कुद्थे।
अब ‘लर्न एण्ड अर्न’ तिर जाऊँ। कस्तो सिकाइ थियो त्यो जुन स्नातक सकेर गएका विद्यार्थीलाई डिप्लोमा पढाइन्थ्यो। हप्तामा एक दिन इन्स्टिच्युट जानुपर्थ्यो। जहाँ बाँकी दिन अथाह काम गरेर गलेको शरीरलाई थकाइ मिल्थ्यो। पढाइमा के ध्यान पुग्थ्यो र, बाँकी दिनहरू गलेर लखतरान भइन्थ्यो।
समग्रमा सिकाइ शून्य सरह थियो। जुन आवश्यक हो त्यो सिकाइएन, जुन अनावश्यक त्यो जबर्जस्त थोपरियो। बरु गाजाबाट हमला हुँदा कसरी बच्ने भन्ने सिकाइएको भए आज यो भयावह देख्न पर्दैनथ्यो होला।
विश्वविद्यालयबाट पनि कुनै सुरक्षा चुनौतीको बारेमा बताइएन न कुनै माध्यमबाट सन्देश नै पठाइयो। विडम्बना, विश्वविद्यालयका प्रतिनिधि कुनै समय पनि आफ्नो विद्यार्थी कस्तो अवस्थामा छन्, हेर्न आएन।
सकारात्मक पक्ष, इजरायलका लागि नेपाली राजदूत करिब तीन पटक हामीलाई भेट्न आएकी थिइन्। सिकाइको रूपमा आफ्नो फार्मभित्र देखेका कुरा नै मुख्य भए। छुट्टीको मौकामा विभिन्न ठाउँहरू आफ्नै तवरले घुम्ने अवसर पाउँदा केही राहत भयो।
‘अर्न’को कुराभित्र आफ्नै पीडा लुकेको छ। महिनाको ५३०० वा त्योभन्दा बढी स्केल इजरायली पैसाको समझदारी भएर गएका हामी करिब चार–पाँच महिना कम तलबमा काम गर्न बाध्य भयौं।
चिसो महिनामा कम काम हुने हुँदा कुनै महिना त दुई हजारमा पनि चित्त बुझाउनु पर्यो। अब उक्त कमाएको रकम मध्ये १८ सय भन्दा माथि त महिनाको चार दिन इन्स्टिच्युट गएकै तिर्नुपर्छ। अझै खाने, बस्ने, कर तिर्ने लगायत अन्य खर्च हिसाब गरौं त ? हाम्रो कस्तो अवस्था भयो होला ?
फर्कंदाको प्लेन टिकट आफैंले काट्छु भन्दा पनि नपाइने, करिब १ लाख २० हजार उठाएर ७० हजारको टिकट पाइयो। यस्तो अवस्था रहँदा पनि साथीहरूले करिब १० देखि २० लाख (फार्मअनुसार) सम्म कमाउन सफल भए। यहाँ आकर्षक तलब भनिरहँदा बचत गर्ने लगाव र विद्यार्थीको कडा परिश्रमलाई भुल्नुहुँदैन
युद्धको भय
दक्षिणी इजरायलका हरेक घर–घरमा, सडक–सडकमा बङ्कर हुन्छन्। रकेटहरू वेलावेलामा आउने स्थिति सामान्य जस्तै भएको थियो। यो सबैले सामान्य मान्थे।
त्यसैले होला, युद्धबाट बच्ने कुनै उपाय सिकाइएन। सायद उनीहरूले पनि सोचेको थिएनन् होला हमासले यो स्तरको आक्रमण गर्नेछ। हामी पनि सामान्य मानेर रकेट आए पनि काममा जान्थ्यौं।
विश्वविद्यालयको कुरा
उक्त कार्यक्रममा सहभागी भएर फर्किएपछि हामी सबैले आफ्नो तवरले विश्वविद्यालयलाई यहाँको बेथितिबारे जानकारी गराएका थियौं। सम्झौता कार्यान्वयन नभएको विषय, डिप्लोमा तहमा पढाइएको बारे, विद्यार्थीहरूको कमसल वासस्थान लगायत सबै–सबै।
कुनै समय एक विद्यार्थीमा गम्भीर स्वास्थ्य समस्या आयो तर कसैले पनि सहयोग नगरेर हामी साथीहरू मिलेर एम्बुलेन्स खोजेर अस्पताल लगेका थियौं।
आफ्ना अधिकारहरू माग्दा खेप्नुपरेका पीडाहरू सुनाउँदा पनि सबैले बेवास्ता गरे। फर्कने समयमा अब यो कार्यक्रम अघि बढाउने कि नबढाउने विषयको भोटिङ गराउँदा करिब ९० प्रतिशतले नबढाउन सुझाव दिएका थिए तर पनि अघि बढाइयो।
सुरक्षा लगायत यस्ता विभिन्न चुनौती हुँदाहुँदै पनि कार्यक्रम अघि बढाउनुमा यहाँ कोही कसैको स्वार्थ त छैन भन्ने प्रश्न उठ्ने नै भयो।
विश्वविद्यालय र सरकारलाई सुझाव
सरकारले एउटा स्नातक विद्यार्थी उत्पादन गर्न कम्तीमा १० लाख खर्च गरेको छ। उक्त दक्ष जनशक्ति देश छोड्न बाध्य बनाउने, तल्लोस्तरको काममा सहभागी हुनुपर्ने बाध्यात्मक अवस्थामा पुर्याउनु कुनै पनि अर्थमा न्यायोचित काम होइन। त्यसैले, कम्तीमा विद्यार्थी कुन अवस्थामा छन्, कस्तो ठाउँमा छन्, यत्ति कुरा त ख्याल गर्नै पर्यो।
यस्ता सम्झौता गर्दा सरकार तथा विश्वविद्यालयहरूले बुझेर गर्न जरुरी देखिन्छ। सम्झौताहरू कार्यान्वयन हुने अवस्था पनि कम देखिएकोले यसलाई कडाइका साथ लागू हुने अवस्था गराउनुपर्ने हुन्छ। विश्वविद्यालयका प्रचारमुखी यस्ता कार्यक्रम भन्दा पनि गुणस्तर बढाउने काममा लाग्नुपर्छ।
आगामी दिनमा बेरोजगार र आर्थिक अवस्थाकै कारण नेपालमा कृषि व्यवसाय अगाडि बढाउन नसकेका विकल्पविहीनहरूलाई पनि सरकारले देशमै विकल्प दिने अधिकतम प्रयास गर्नुपर्छ। विदेश पठाउनै परे पनि नागरिकको सुरक्षासँग कुनै पनि सरकारले सम्झौता गर्नुहुन्न। कृषि स्नातकहरूका लागि त यो खराब विकल्प हो।
लेखक ‘लर्न एन्ड अर्न‘ कार्यक्रममा इजरायल बसेर फर्किएका एक विद्यार्थी हुन्।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4