 
																						७ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जनसंगठनहरू र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ले मंसिर ७ गते काठमाडौंमा एकै साथ प्रदर्शन गरे । प्रशासनको मिहिनेतपूर्ण प्रयासका बावजुद पनि दुवै पक्ष बिहीबार नै प्रदर्शन गरिछाड्ने अडानमा देखिए ।
छलफल, बहस र विचार मन्थनबाट संविधान र संघीयताको संरक्षण गर्ने होइन कि हिजो पञ्चायत जोगाउन मण्डले अगाडि सारेजस्तो संविधान र संघीयता जोगाउन एमालेका बाहुबलीहरू अगाडि सारिएको छ ।
प्रसाईं यस्ता पात्र हुन् जसले पालैपालो प्रचण्ड र ओलीको हात समाउँदै शक्तिमा छाए र नेताद्वयसँग नजिकको सम्बन्ध कायम गरे । नेकपा एमालेको त उनी केन्द्रीय सदस्य नै बनाइए ।
मान्छेको विश्वसनीयता कुनै एजेन्डाप्रति उसको प्रतिबद्धताले बढाउँछ । यो कसीमा दुर्गा प्रसाईं निकै कमजोर पात्र हुन् । आफ्नो छविका कारण उनले विवादास्पद व्यक्तित्व निर्माण गरेका छन् । प्रश्न जन्मिएको छ- तैपनि नागरिकको एउटा तप्काले उनलाई मुक्तिदाता जस्तो गरी विश्वास गर्नुपर्ने ठाउँमा किन पुगे ?
समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र धर्मको नारा लिएर राजनीति गर्ने वातावरण व्यवस्था परिवर्तन गर्ने राजनीतिक नेतृत्वले नै बनाइदिएको बताउँछन् । हाम्रो संविधानमा यो धर्मनिरपेक्ष मुलुक हो लेखिए पनि यस्ता धेरै पुराना अभ्यासहरूले पार्टी र सरकारका नेताहरूबाट निरन्तरता पाइरहेका उनको तर्क छ ।
‘नेपालका राष्ट्रपति, प्रधानमन्त्रीले पहिलाका राजाले जस्तै मठमन्दिर धाइरहेका छन्, गेरुवस्त्र लगाइरहेका छन्’, उनी भन्छन्, ‘भारतको हिन्दुवादी धारको प्रभाव नेपालमा विस्तार भइरहेको पृष्ठभूमिमा दुर्गा प्रसाईं भन्ने पात्र देखिएका छन् । भित्र केही न केही पाकिरहेको जस्तो देखिन्छ । तर कति ठूलो हुन्छ, त्यो थाहा छैन ।’
शक्ति प्राप्तिका लागि विभिन्न पार्टीदेखि पुनरुत्थानवादी क्याम्प हुँदै धार्मिक शक्तिसम्मको दौडधुप प्रसाईंको अस्थिर राजनीतिक/सामाजिक जीवनको यथार्थ बनेको छ ।
कुनैबेला ‘मार्सी व्यञ्जन’का लागि टेबल शेयर गरेका प्रसाईंलाई आम मानिसले भर्चुअल संसारबाट छवि निर्माण गरेका सामान्य पात्रका रूपमा बुझिरहँदा केपी ओली र प्रचण्ड भने हालयकायल देखिन्छन् । ओलीले सिंगो पार्टीलाई प्रसाईंविरुद्ध उभ्याउँदा सरकारले टिकटक प्रतिबन्धदेखि मंसिर ७ को अघोषित ‘सरकारी बन्द’सम्म आयोजना गरे । एमालेले प्रसाईलाई अतिशयोक्तिपूर्ण महत्व दिनुको कारण रहस्यमय छ ।
एमालेले त झण्डा जनसंगठनको भए पनि प्रदर्शनमा पार्टीको सबै शक्ति परिचालित गर्ने उद्घोष गर्यो । प्रशासनले सम्भावित सुरक्षा चुनौती मध्यनजर गर्दै दुवै पक्षलाई बेग्लाबेग्लै स्थानमा कार्यक्रम गर्न निर्देशन दियो ।
एकैदिन एकैठाउँमा शक्ति प्रदर्शन गर्ने अडानलाई सुरुमा प्रसाईं र एमाले नेता महेश बस्नेतबीच बढेको तिक्तताको परिणामको रूपमा बुझियो । तर, एमालेको मूल नेतृत्वले नै यो जनप्रदर्शनको स्वामित्व लिएपछि भने मानिसहरूमा कौतुहल जन्मियो- दुर्गा प्रसाईंको सानोतिनो अभियानविरुद्ध भिडन्त गर्ने निर्णयमा एमाले किन पुग्यो ?
किनकि शक्ति प्रदर्शनको होडबाजीको कमाण्डर दुर्गा प्रसाई भर्सेस केपी ओलीको देखिएको छ । ‘युवा विद्यार्थीहरूको आन्दोलनलाई सफल बनाउने’ निर्णय एमाले केन्द्रीय समितिले गरे पनि सारमा यो आन्दोलनको कमाण्ड केपी ओलीले सम्हालिरहेका छन् ।
नयाँ ध्रुवीकरण र नेतृत्व दावी गर्ने पहलकदमी
राजनीतिमा निर्णय गर्ने समयको अर्थ र उचित समयमा लिएको उचित राजनीतिक पहलकदमीको मूल्य हुन्छ । २०४६ सालको जनआन्दोलन ताका बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको एजेन्डा अगाडि सार्यो । उपयुक्त समयमा पहलकदमी लिएकै कारण कांग्रेस आन्दोलनको नेताको रूपमा स्थापित भयो र वामपन्थी शक्तिले भन्दा बढी जस लिइरहे ।
१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता हुँदै पहिलो संविधानसभाको निर्वाचनसम्म आउँदा एजेन्डामा माओवादीले नेतृत्व गर्यो र पहिलो शक्ति बन्यो ।
दोस्रो संविधानसभासम्म आउँदा माओवादीले परिवर्तनका सबै एजेन्डालाई आफ्नो मात्रै रहेको दाबी गरिरह्यो र अरु शक्तिलाई ती एजेन्डाका नक्कली अभिभावकको रूपमा प्रस्तुत गर्ने प्रयास गर्यो । तर ऊ सफल भएन र सानो आकारमा खुम्चियो । किनकि त्यतिबेलासम्म परिवर्तनका एजेन्डालाई सबै शक्तिले धेरथोर स्वीकार गरिसकेका थिए । माओवादीको एकल दाबीको वैधता कमजोर बनिसकेको थियो ।
यतिबेला मुलुक नै एजेन्डाविहीन जस्तो छ । माओवादी आफैं एजेन्डाविहीन देखिन्छ र केवल त्रिशंकु संसदको फाइदा उठाएर सत्तासीन छ । अहिले उसको प्रमुख एजेन्डा जसरी हुन्छ सत्तारोहण लम्ब्याउनुरहेको छ ।
कांग्रेसको संस्थापन कोठाभित्रको गोप्य सहमति र लेनदेनभन्दा बाहिर देखिन्न । इतर समूहको आवाज नेपथ्यको गनगनमा सीमित भएको छ । यस्तो अवस्थामा एमाले देशमा संविधान पक्षधर र विपक्षी शक्तिका रूपमा ध्रुवीकरण बढाउँदै एउटा पक्षको नेतृत्व गर्न चाहन्छ ।
यसलाई पुष्टि गर्दै विहीबार तीनकुनेको प्रदर्शनमा एमाले नेता महेश बस्नेतले ‘हिजो केपी ओली गणतन्त्रवादी होइनन् भनेर रोइलो गर्ने’ प्रचण्ड र शेरबहादुर देउवालाई प्रश्न गरे । ‘२०६२/०६३ सालमा गणतन्त्रका लागि तपाईंहरूले थोरै मान्छे डाकेर आन्दोलन गर्दा यो बयलगाढा चढेर अमेरिका गएजस्तो हुन्छ, गणतन्त्रका लागि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुहोस् भन्दा उहाँको भनाइलाई उल्टो ढंगले व्याख्या गरियो’, उनले भने, ‘आज गणतन्त्र विरुद्ध प्रश्न उठ्दा सबैभन्दा पहिला एमाले बोलेको छ ।’
बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति गर्न खोजे निर्मल निवासबाट ‘उनलाई संरक्षण गर्ने विदेशी शक्तिको देशमा’ लखेट्नु नपरोस् भनेर उत्तेजक भाषण गरे । यसरी ध्रुवीकरण चर्काउँदै एमाले बिस्तारै कांग्रेस र माओवादीलाई पनि संविधान विरोधी र दुर्गा प्रसाईहरूकै पक्षधर शक्तिका रूपमा चित्रित गर्न चाहन्छ ।
लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको बुझाइमा प्रसाईंले ओलीमाथि लगाएको कम्बोडियाको टेलिकम्युनिकेसनमा लगानी गरेको आरोप र झापामा महेश बस्नेत सहभागी कार्यक्रममा प्रसाईं पक्षबाट गरिएको गाडी तोडफोडको इगोको प्रतिफल मात्रै एमाले-दुर्गा प्रसाईं आमनेसामने भएका होइनन् ।
‘यो दक्षिणपन्थी र अग्रगामी भनेर ध्रुवीकरण गर्दै अग्रगामी धारको नेतृत्वको रूपमा आफूलाई उभ्याउने एमालेको प्रयासको प्रतिफल हो’ खतिवडा भन्छन्, ‘अनेक प्रयत्नका बावजुद पनि आफ्नो चर्चा सेलाइरहेका बेला अनौपचारिक मिडियामा प्रसाईको चर्चाका कारण उनीसँग प्रतिवाद गर्दा नागरिकको ध्यानाकर्षण बढाउन सक्ने उपायको खोजी पनि हुनसक्छ ।’
विगतका केही चुनावमा आफूलाई राष्ट्रवादी शक्तिको रूपमा अगाडि सारेको एमालेले आगामी निर्वाचनमा नयाँ एजेन्डा फ्रेमिङ गर्न चाहन्छ । यो मुलुकमा नयाँ ध्रुवीकरण गरेर परिवर्तन र संविधानको रक्षक शक्तिको रूपमा आफूलाई प्रस्तुत गर्ने एमाले प्रयत्न हुनसक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार साँझ आयोजित राँके जुलुसमा युवा संघका नेता कार्यकर्ताले ‘प्रचण्ड चोर, देश छोड’ ‘दलालहरू होसियार’ लगायतका आक्रामक नारा लगाए । एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईलाई काठमाडौं प्रवेश गर्न नदिने उद्घोष गरे । यसरी एमालेको प्रदर्शन सरकार र दुर्गा प्रसाई दुवै विरुद्ध देखिन्छ ।
युवा संघका अध्यक्ष क्षितिज थेवेले मंसिर २ मा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड स्वयं जातको नाममा सामाजिक सद्भाव भड्काउन उद्यत रहेको आरोप लगाए । ‘एउटा जातको नाममा सामाजिक सद्भाव भड्काउँछन् र त्यसको नाइकेको रुपमा सरकारका प्रमुख उभिन्छन् र प्रस्तुति दिन्छन्’, उनले भने, ‘अर्को, अभियानका नाममा व्यवस्थामाथि चुनौती दिन्छ, धर्मका नाममा सामाजिक सहिष्णुता भड्काइदिन्छ ।’
युवा संघका अध्यक्ष थेवेले त जसरी पनि दुर्गा प्रसाई पक्षको प्रतिकार गर्ने र फरक ठाउँमा कार्यक्रम गरेर आन्दोलनको औचित्य नहुने अभिव्यक्ति नै दिए । विहीबार बल्खुमा युवा संघका कार्यकर्ताको उपस्थिति र भिडन्तले प्रदर्शनकारीको मुठभेडको रहर अभिव्यक्त हुन्छ ।
विहीबार आन्दोलनकारीलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘यो सरकारको आयु छोटो छ । छोटो आयु भएको मानिस उखरमाउलो हुन्छ भन्छन् । त्यसैले प्रचण्डको सरकार उखरमाउलो भइरहेको छ । यिनीहरु सबैका लागि खतरा हो ।’
एमालेले सरकारविरुद्ध बढाउँदै लगेको निशानाबारे अध्यक्ष केपी ओलीले बुधबार आफ्नो पार्टी सडक विद्रोहमा उत्रने संकेत गरेबाट प्रस्ट हुन्छ ।
उनले पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै वर्तमान सरकारप्रति जनतामा असन्तुष्टि र निराशा रहेको निष्कर्ष सुनाए र जनतामा देखिएको सरकारप्रतिको असन्तुष्टिलाई प्रतिगामी शक्तिहरुले व्यवस्था बदल्न उपयोग गर्ने खतरा देखिएकाले प्रतिवाद गर्न सडक विद्रोहमा जाने बताए ।
‘देशलाई पछाडि फर्कन नदिने र प्रतिगमनतिर जाने निकम्मापन स्वीकार्य नहुने’ बताउने ओली र २०४७ सालको संविधान ब्युँताउन चाहने प्रसाईं दुवै जनविद्रोह गर्ने निचोडमा पुगेका छन् । र, उनीहरू दुवैको निशाना सरकारमाथि केन्द्रित छ ।
मैदानमा पक्ष-प्रतिपक्ष बनेर भिडे पनि दुवै पक्षको निशाना सरकारविरुद्ध देखिन्छ । एमालेकै एक पदाधिकारीका अनुसार ओली गठबन्धन तोडेर सरकारको नेतृत्वमा पुग्न चाहन्छन् भने प्रसाई सरकार होस् वा व्यवस्था नै बदलेर आफू अनुकूलको निर्णय गराउन चाहन्छन् ।
रेकर्ड बनाउने गरी संसद अवरोध र सडक प्रदर्शन एमालेको पहिचान बनेको छ । पार्टी र सीमित नेताको स्वार्थ पूर्तिका लागि जस्तोसुकै संघर्षको स्वरूप पनि रोज्न पछि नपर्नु एमालेको चरित्र बनेको छ । यहीक्रममा दुर्गा प्रसाईंसँग टकराव गर्ने संघर्षको छनोटले एमालेको सामाजिक पूँजीमा क्षयीकरण भएको छ ।
एमालेका एक नेता मुलुकलाई दुई कित्तामा ध्रुवीकरण गर्दै सिंगो पार्टीलाई दुर्गा प्रसाईविरुद्ध सडकमा उतारिरहँदा एमालेले संभावित जोखिम आकलन भने गर्न नसकेको सुनाउँछन् ।
‘पञ्चायतका अन्तिम दिनहरूका मण्डले चरित्रमा दलहरू बदलिइसकेको आभास हुन थालेको छ’ ती नेता भन्छन्, ‘पछिल्लो सन्दर्भमा दुर्गा प्रसाईं विरुद्ध एमालेको प्रदर्शन र तरिकाप्रति बहुसंख्यकले समर्थन गरिरहेका छैनन् । दलहरूको प्रस्तुतिका कारण नागरिकको सहानुभूति दुर्गा प्रसाईप्रति बढेको देखिन्छ ।’
उनका अनुसार प्रसाईलाई कार्यक्रम गर्न दिनुपर्थ्यो आम बुझाइ बलियो छ र यसले एमालेको सामाजिक पूँजीको क्षयीकरण बढाइरहेको छ ।
प्रसाईंको एजेन्डा असाध्यै प्रतिगामी छ साथै, एमालेको कार्यशैलीका कारण एमालेको समर्थन पनि गर्न नसक्ने अवस्थामा सर्वसाधारण देखिन्छन् । यी दुवै प्रवृत्तिले लोकतन्त्र र संविधानको संरक्षणमा योगदान नगर्ने विश्लेषक खतिवडा बताउँछन् ।
‘प्रतिपक्षी मत दबाउने दलहरूको मण्डले प्रवृत्ति र प्रसाईंको अराजक, गैरकानुनी, गैरसंवैधानिक र समाजलाई अपाच्य हुने व्यवहार दुवैले क्षति पुर्याउने हाम्रो प्रणालीलाई नै हो’ उनले भने, ‘यो वास्तविक लोकतन्त्रवादीहरूको चिन्ताको विषय हो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4