केपी ओली कपमा एपीएफले लुम्बिनीलाई हरायो
९ मंसिर, पोखरा । पोखरामा जारी केपी ओली टि–२० क्रिकेट कपमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको छ । १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रन मात्र बनाउन सक्यो ।
एपीएफको जितमा अरुण ऐरीले सर्वाधिक ५ विकेट लिए । एपीएफकै भुवन कार्कीले २, अविनाश बोहरा र अमर रौटालाले १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको एपीएफले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । ब्याटिङमा एपीएफका लोकेश बमले उत्कृष्ट पारी खेल्दै १३ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ३२ रन जोड्न सफल भए ।
१५२ रनको लक्ष्य पछ्याएको लुम्बिनीका निर्मल गुरुङले १४ र रोशन गुप्ताले अविजित १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
पहिलो खेलमा एपीएफ गण्डकी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । समूह बी मा रहेका एपीएफ र गण्डकीले एक जितसहित २/२ अंक बनाउँदा लुम्बिनी अंकविहीन छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिमसहित विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपLएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिम सहभागी छन् ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4