+

एलपीएलमा घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

२०८० मंसिर  २० गते २०:१९ २०८० मंसिर २० गते २०:१९
एलपीएलमा घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी

२० मंसिर, काठमाडौं । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।

पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्‍यो । घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो ।

लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए । कृष्ण कार्कीले १५, प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए । घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए । नरेश सुनारले २ तथा नवयुग बस्नेतले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो। घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए। बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए।

लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३, कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए।

दोश्रो खेलमा कैलाली जिल्ला क्रिकेट क्लबले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ३४ रनले पराजित गर्‍यो । कैलालीले दिएको १४० रनको लक्ष्य पछ्याएको खप्तडले १७.४ ओभरमा १०५ रन बनाउदा सबै विकेट गुमायो।

खप्तडको लागि प्रकाश पाण्डेले सर्वाधिक २६, अभिषेक थापाले २० तथा अरुण रानाले १२ रन बनाए। कैलालीका बलर नरेन साउदले ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए । दिपक टमाटाले २ विकेट लिंदा शेर मल्ल, दिपक रोकाया, डबल ऐर र राहुल केसीले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको कैलाली जिल्ला क्रिकेट क्लबले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।

कैलालीको लागि ओपनर डबल ऐरले अर्धशतकीय योगदान दिने क्रममा ओपनिङ ब्याटिङ गर्दै अविजित ५४ रन बनाए। प्लेयर अफ द म्याच समेत घोषित ऐरले ५२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। शुदांशु रावलले १९ रन बनाउँदा हृदय बिठारी, दिपक टमाटा र नरेन साउदले समान १० रन बनाए।

खप्तडको बलिंगमा अरुण रानाले ३ तथा रवि विष्ट र नगेन्द्र उपाध्यायले २/२ विकेट लिए। प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र शारदा सेकेण्डरी स्कुल बीच तथा दोस्रो खेल दिउँसो १ बजे सत्यवती एकेडेमी र जेएस स्पोर्ट्स-११ सुपर स्टार्स बीच खेलिनेछ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।

एलपीएल घोडाघोडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय