 
																			२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नकारात्मक कुरा गर्ने बानी बस्न थालेको र विदेश जाने फेसन चलेको बताएका छन् । घरपायक जागिर समेत छाडेर विदेश जाने र जो स्वदेशमा छ उसैलाई गाली गर्ने फेसन चलेको भन्दै उनले गाली मात्र गरेर देश नबन्ने बताए ।
ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेगेटिभ कुरा गर्ने बानी बस्न थाल्यो नेपालमा । पोजेटिभ कुरा नदेख्ने । सकारात्मक र उज्यालो तिर नहेर्ने । खाली अँध्यारो, खाली नकारात्मक ।’
यस्तो भइराख्यो भने देश अग्रगमनतर्फ अघि नबढी पछाडि फर्किने उनको भनाइ छ । ‘यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व विकास र समृद्धिको यात्रा, जनतालाई आशा जगाउने, भरोसा दिलाउने काम गर्न सक्दैनौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
मैले नेपाल बनाउनुपर्छ भन्ने देशभक्तिको भावना मर्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘हाइस्कुलका हेडमास्टर आफ्नै घरमा ७० हजार तलब । घरकै खाना खाएर जागिर छ । तर उनीहरु ५०, ६०, ७० लाख, करोड तिरेर विदेश जाने लहर चलेको छ । के हो यो ?’ प्रचण्डले प्रश्न गरे, ‘रोजगारी नपाएर गाहो ? त्योभन्दा राम्रो रोजगारी के हुन्छ ? आफ्नो घरमा बसेर, घरको खाना खाएर, ६०–७० हजार तलब, यो रोजगारी होइन ?’
जतिसुकै चमत्कार भए पनि आफूहरुले आठ-दश वर्षमै अमेरिका या युरोपको जस्तो तलब दिन नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले देश बन्न र बनाउन समय लाग्ने बताए । तर उर्बर जमिन बाँझो छाडेर र घरपायक जागिर छाडेर विदेश जानु गलत भएको उनको भनाइ छ ।
‘नेपालमा यति धेरै उर्बर जमिन छ । जमिन बाँझो राख्दै हिँड्ने, भएको जागिर छोड्दै हिँड्ने । अझ बडो दुःखद बाटोबाट विदेश जाने, विदेशमा गएर बडो तल्लो स्तरको श्रम गर्न अप्ठेरो नमान्ने,’ प्रधानमन्त्री प्रचण्डले भने ।
उनले अगाडि भने, ‘मेरो भनाइको तात्पर्य के छ भने कहिँ न कहिँ हामीभित्र राष्ट्रिय भावना, देशभक्तिको भावना, मैले नेपाल बनाउनुपर्छ भन्ने भावना मर्दै गयो । हामीले हाम्रो आचारसंहिता नेपाली हुनुको नाताले के हो भन्ने कुरा बिर्सिंदै गयौं ।’
सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम नभएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईं हामी सबै भन्छौं, दिनदिनै गाछन् (विदेश) । कसलाई गाली गर्या हामीले ? आजभोलि फेसन बनेको छ गाली गर्ने, जसले गर्न बल गर्दैछ, त्यसैलाई गाली गर्ने, जो नेपालमा बस्छ त्यसलाई गाली गर्ने, यो फेसन गलत छ ।’
उनले रोजगारी सिर्जनाका काम गर्न तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपरेको बताए । त्यसका लागि छिट्टै नै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन र प्रहरी समायोजन ऐन ल्याउन लागेको जानकारी पनि दिए ।
आफूले गरेका सकारात्मक कामलाई सकारात्मक रुपमा नलिदिइएको गुनासो गर्दै प्रचण्डले भने, ‘मैले गरेका सकारात्मक कामलाई सकारात्मक सोच सहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिनु हो, मैले त्यो पीडा पनि बेलाबेलामा महसुस गर्ने गरेको छु ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4