रसिला र प्रिन्सले जिते ललितपुर मेयर कप ब्याडमिन्टनको उपाधि
७ पुस, काठमाडौं । युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि जितेका छन् ।
ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपीएफका प्रिन्स दाहालले दोस्रो संस्करणको उपाधि पनि जितेका हुन् ।
महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरिन् । महिला तर्फ पुलिसकी निता लम्साल र सेनाकी रेहना शेरचन तथा पुरुषतर्फ पुलिसका विष्णु कटुवाल र जीवन आचार्य संयुक्त रुपमा तेस्रो भए ।
पुरुष युगल (शीर्ष २० वरियताबाहेक) को उपाधि कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले उचाले । उक्त जोडीले बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।
ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनामा भएको प्रतियोगिताको यु – १७ पुरुषतर्फ सेनाका कविर केसीले सेनाकै अभय महरालाई २१–९, २१–४ ले पराजित गर्दै उपाधि हात पारे । तेस्रो स्थानमा गुल्मीका जेनिस शेरचन र सेनाका सुप्रिम पन्थ रहे ।
प्रतिक्रिया 4