 
																			विगत लामो समयदेखि अमेरिकासँगको आफ्नो तनावपूर्ण सम्बन्ध तथा आफ्नो परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया पछिल्लो पटक एक नयाँ विषयको कारणले गर्दा चर्चामा छ ।
उत्तर कोरियामा तयार गरिने कृत्रिम परेला तथा कृत्रिम कपाल (विग) विश्वभरका बजारमा बिक्री भैरहेका छन् । तर ती सामानहरुमा ‘मेड इन उत्तर कोरिया’ होइन कि ‘मेड इन चाइना’को ट्याग लगाइएको छ ।
नक्कली कपाल र नक्कली परेलाको उक्त व्यापारका कारण उत्तर कोरियाको निर्यातमा वृद्धि भएको छ र देशको अर्थव्यवस्थामा पनि त्यसको प्रभाव परेको छ ।
समाचार एजेन्सी रोयटर्सको एक रिपोर्ट अनुसार उत्तर कोरियामा उत्पादन भैरहेको कृत्रिम परेलाको प्रोसेसिंग तथा प्याकेजिंग चाहिं छिमेकी मुलुक चीनमा भैरहेको छ, जो उसको सबैभन्दा ठूलो व्यापारिक सहयोगी हेा ।
रिपोर्टमा भनिएको छ कि यो व्यवसायका माध्यमबाट किम जोंग उनको नेतृत्वमा रहेको उत्तर कोरियाली सरकार आफूमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई छल्दै देशका लागि आवश्यक विदेशी मुद्रा आम्दानी गरिरहेको छ ।
रोयटर्सले आफ्नो रिपोर्टमा उत्तर कोरिया तथा चीनको यसबारेको प्रतिक्रिया जान्नका लागि संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाको नियोग, चीनमा रहेको उत्तर कोरियाली राजदूतावास तथा दान्दोंगस्थित उसको कन्सुलर कार्यालयसँग सम्पर्क गरेता पनि त्यस विषयमा कुनै पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।
एता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र उत्तर कोरिया असल छिमेकी भएको बताउँदै दुई मुलुकबीच सामान्य सहयोगको सम्बन्ध रहेको र त्यो पूर्णरुपमा वैध रहेको दाबी गरेका छन् । साथै उक्त सम्बन्धलाई बढाइचढाइ गरेर प्रचार गर्नु आवश्यक नरहेको उनको भनाइ छ ।
रिपोर्टमा के छ ?
रोयटर्सका अनुसार उसले करिब २० जनासँग कुराकानी गरेकोमा त्यसमा कम्तिमा १५ जना परेला व्यापारसँग सम्बन्धित छन् । साथै रोयटर्सले व्यापारसँग सम्बद्ध वकिल तथा उत्तर कोरियाको अर्थव्यवस्थामा नजर राखिरहेका जानकारहरुसँग पनि कुराकानी गरेको थियो ।
जानकार हरुका अनुसार चिनियाँ कम्पनीहरुले उत्तर कोरियाबाट कृत्रिम परेलाहरुको कच्चा पदार्थ आयात गर्दछन् र त्यसलाई चीनमा प्रोसेस तथा प्याकेज गरेर अनि त्यसमा मेड इन चाइनाको ट्याग लगाएर अन्य देशमा निर्यात गर्दछन् । पछिल्ला केही वर्षमा यो एउटा यस्तो प्रक्रिया बनेको छ जसमा दुवै मुलुकले मुनाफा कमाइरहेका छन् ।
रिपोर्ट अनुसार सो उत्पादन पश्चिमी मुलुकका साथै दक्षिण कोरिया तथा जापानका सौन्दर्य बजारहरुमा बिक्री हुने गरेको छ ।
भ्वाइस अफ अमेरिकाले गत सेप्टेम्बरमा आफ्नो एक रिपोर्टमा अमेरिकी बजारमा मेड इन चाइनाको ट्यागसहित नक्कली कपाल र नक्कली परेलाहरु बिक्री भैरहेको र ती सामानहरुको वास्तविक उत्पादन उत्तर कोरियामा हुने गरेकोले त्यसले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध उल्लंघन हुनसक्ने खुलासा गरेको थियो ।
भ्वाइस अफ अमेरिकाको कोरियाली सेवाले चीनको भन्सार प्रशासनको तथ्यांकलाई उद्धृत गर्दै चीनले सन् २०२३ को अपि्रलमा उत्तर कोरियाबाट २ करोड २७ लाख डलरभन्दा बढिको करिब ३० टन नक्कली कपाल तथा नक्कली परेला आयात गरेको जनाएको छ ।
चीन र उत्तर कोरियाबीचको सम्बन्ध र व्यापार
वास्तवमा चीन, उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण व्यापार सहयोगी हो । काउन्सिल अन फरेन रिलेसन्सका अनुसार सन् १९५० देखि सन् १९५३ सम्म चलेको कोरियाली युद्धका बेला चीन र उत्तर कोरियाको सम्बन्ध गहन भयो । चीनले आफ्नो सहयोगी मुलुक उत्तर कोरियाको सहयोगका लागि आफ्नो सेना पठाएको थियो ।
पछि उत्तर र दक्षिण कोरिया छुटि्टएपछि पनि चीन उत्तर कोरियाको महत्वपूर्ण सहयोगी बनिरह्यो ।
तर सन् २००६ मा उत्तर कोरियाको एउटा परमाणु परीक्षण पश्चात् चीनसँग उसको सम्बन्धमा तनाव सुरु भएको थियो । चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा सहमति जनाएको थियो ।
तनाव बढ्दै गयो र सन् २०१७ मा तत्कालीन चिनियाँ विदेशमन्त्री वांग यीले कोरियाली प्रायद्वीपमा बढ्दो तनावलाई मध्यनजर गर्दै उत्तर कोरियालाई आफ्नो परमाणु तथा मिसाइल कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
यद्यपि चिनियाँ विदेशमन्त्री केवल उत्तर कोरियासँग मात्र रुष्ट बनेका थिएनन् । उनले दक्षिण कोरियालाई समेत अमेरिकाबाट ल्याइएका एन्टी मिसाइल सिस्टम जडान गरेर गल्ती गरेको बताएका थिए ।
साथै चीनले दक्षिण कोरियाबाट विभिन्न श्रृंगारका सामानहरुको आयात पनि बन्द गरेको थियो ।
रोकिएन व्यापार
यी सबै घटनाक्रमका बीच उत्तर कोरिया र चीनबीचको द्विपक्षीय व्यापारमा कुनै रोकावट आएन ।
स्टाटिस्टाको तथ्यांक अनुसार सन् २००० देखि २०२१ सम्ममा चीनसँग उत्तर कोरियाको व्यापार लगातार बढिरहेको छ ।
चीनसँग उत्तर कोरियाको वैदेशिक व्यापार सन् २००० मा केवल २४.४ प्रतिशत रहेकोमा सन् २०१८ मा बढेर ९५.८ प्रतिशत पुगेको थियो ।
कोभिड महामारीका कारण उत्तर कोरियाले आफ्ना सीमाहरु पूर्ण रुपमा सिल गरेको थियो र सोही कारणले गर्दा सन् २०२० मा द्विपक्षीय व्यापारमा केही गिरावट आयो र ८८.२ प्रतिशतमा झर्यो ।
यद्यपि सन् २०२३ मा यी दुई मुलुकबीचको व्यापार पुनः तीव्र रुपमा बढोत्तरी भयो । जनवरीमा सार्वजनिक तथ्यांक अनुसार दुई मुलुकबीच गतवर्ष २ अर्ब २९ करोड ५० लाख डलर बराबरको व्यापार भएको छ ।
चीनलाई के के बेच्छ उत्तर कोरिया ?
कोरिया इकोनोमिक इन्सटिच्युट अफ अमेरिकाका फेलो ट्रोय स्टेनगरोनले द डिप्लोम्याटमा छापिएको एक रिपोर्टमा लेखेका छन् कि सन् २०१७ भन्दा अगाडि उत्तर कोरियाले चीनलाई घडीका पाटपुर्जाहरु बेच्दैनथ्यो । तर सन् २०१८ मा उसको निर्यातको सबैभन्दा ठूलो हिस्सा नै घडीका पाटपुर्जाले ओगटेको थियो ।
त्यसका अलावा मोलिब्डेनम, फेरोसिलिकल जस्ता तत्वहरुका साथै कपडा तथा कृत्रिम कपाल र कृत्रिम परेलाको निर्यात पनि उल्लेख्य भयो । यद्यपि सन् २०१९ पछि घडीमा लाग्ने पाटपुर्जाको निर्यातमा कमी आउन थाल्यो । तथापि उल्लेखित रासायनिक तत्वहरुको निर्यात भने जारी छ ।
सन् २०२१ मा सौदर्य प्रशाधनका सामानहरुको आयातकर्ता मुलुकको रुपमा चीन शीर्षस्थानमा छ । उक्त एक वर्षमा चीनले १३ अर्ब २० करोड डलर बराबरको ब्युटी प्रडक्टहरु आयात गरेको थियो । त्यस्तै सो वर्ष चीन ब्युटी प्रडक्टहरुको सातौं सर्वाधिक ठूलो निर्यातकर्ता रहँदा २ अर्ब ८७ करोड डलरका सौन्दर्य प्रसाधनका सामानहरु निर्यात गरेको थियो ।
गत नोभेम्बरमा ओइसीले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने उत्तर कोरियाबाट चीनमा निर्यात हुने ब्युटी प्रडक्टमा ४०४ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै चीनको निर्यातको ग्राफलाई हेर्दा गत नोभेम्बरको आँकडा अनुसार चिनियाँ ब्युटी प्रडक्टका सबैभन्दा ठूला आयात बजार चाहिं अमेरिका, जापान, नेदरल्याण्ड्स, दक्षिण कोरिया र फ्रान्स हुन् ।
उत्तर कोरियामाथि प्रतिबन्ध
किम जोंग उनको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक आर्थिक सहयोग प्राप्त नहोस् भन्नका लागि अमेरिका र संयुक्त राष्ट्रसंघले उसमाथि विभिन्न खालका प्रतिबन्धहरु लगाएका छन् ।
संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरुले आआफ्नो स्तरमा कानून बनाएर प्रतिबन्धहरु लगाइरहेका हुन्छन् ।
त्यसमा आर्थिक प्रतिबन्ध, सम्पत्ति जफत तथा रोक्का गरिदिने देखि लिएर उत्तर कोरियालाई तेल, पेट्रोलियम प्रडक्ट तथा कोइलाजस्ता चिजहरुको निर्यातका साथै धातु, कोइला, फलाम जस्ता चिजहरुको आयातमा प्रतिबन्ध लगाउनु हो ।
उत्तर कोरियाका आवश्यकता तथा प्रयासहरु
सन् २००० को दशकमा जुनबेला दक्षिण कोरियामा सौन्दर्य सामाग्रीहरुको उत्पादन तथा माग दुवै बढिरहेको थियो, त्यसबेला किम जोंग उनले उत्तर कोरियामा त्यस्ता सामानहरुको उत्पादनलाई बढाए र देशमा विभिन्न कम्पनीहरु स्थापना गरे ।
सन् २०१८ मा उत्तर कोरियाले पहिलोपटक चिनियाँ सरकारी मिडिया द ग्लोबल टाइम्सलाई आफ्नो कस्मेटिक उद्योगको अवलोकनका लागि बोलायो । उत्तर कोरियाले आफ्नो सौन्दर्य प्रसाधन उद्योगलाई विदेशी मिडियासँग परिचित गराएको त्यो नै पहिलोपटक थियो ।
उत्तर कोरियाका जानकारहरुका अनुसार प्योंगयांग कस्मेटिक फ्याक्ट्री नामक उक्त कम्पनीलाई विश्वसामु चिनाउनुको अर्थ यो थियो कि उसले आफ्नो आर्थिक विकासमा त्यसलाई महत्वपूर्ण ठाउँ दिइरहेको थियो । सायद त्यहीँ कारणले सन् २०१५ तथा २०१७ मा किम जोंग उन आफैंले उक्त कम्पनीको भ्रमण गरे र त्यसको आधुनिकीकरणमा जोड दिए।
उक्त कम्पनीले विश्वस्तरीय उत्पादनहरु गर्ने र अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्नसक्ने उनको दाबी थियो ।
द स्ट्रेट टाइम्सको एक रिपोर्ट अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा ब्युटी प्रडक्टहरुको निर्यात मूल्यमा ठूलो बढोत्तरी देखिएकोछ ।
युनिभर्सिटी अफ नायगाटाका प्राध्यापक मिमुरा मित्सुहिरोका अनुसार विदेशी मुद्राको प्रवाह जारी राख्न तथा बेरोजगारी दरलाई कम गर्नका लागि उत्तर कोरियासँग कपडा तथा अन्य वस्तुहरुको साटो नक्कली कपाल तथा परेलाजस्ता चिजहरुको निर्यात बढाउनु बाहेक अरु कुनै विकल्प बाँकी नरहेको हुनसक्छ ।
कृत्रिम कपाल तथा परेला जस्ता चिजहरुको निर्यातमा आएको बढोत्तरीको एक कारण यो पनि हो कि यस्ता उत्पादन उत्तर कोरियामाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धबाट अछुतो छन् ।
यस्तै खालको रिपोर्ट चिनियाँ सरकारी पत्रिका साउथ चाइना मर्निङ पोस्टले सन् २०१९ मा छापेको थियो । जस अनुसार आफूमाथि लागेको प्रतिबन्धका कारण उत्तर कोरियाले विभिन्न रसायन लगायतका चिजहरु आयात गर्न पाइरहेको छैन । त्यसैले उत्तर कोरियाले यस्ता सौन्दर्य प्रसाधन सामानहरुको उत्पादन बढाइरहेको छ जसमा ती रसायनहरुको प्रयोग गर्न नपरोस् ।
-बीबीसीबाट
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4