दुर्गमकी अब्बल गुरुआमा
शिक्षा मन्त्रालयले यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कार २०८०’ बाट पुरस्कृत गर्ने सूचीमा भक्तकुमारी तामाङको पनि नाम छ । कोशी प्रदेशको शिक्षकतर्फ प्राथमिक तह शिक्षक तामाङ भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ३ सिक्तेलटारमा रहेको चन्द्रावती आधारभूत विद्यालय (कक्षा १–८) की प्रधानाध्यापक हुन् ।
पालिका कार्यालयबाट पनि धेरै टाढा रहेको विद्यालयको शैक्षिक गुणस्तर चित्तबुझ्दो रहेको बताउँछन् पालिकाका विद्यालय निरीक्षक मणिराम तामाङ । उनी भन्छन्, ‘यो स्कुल विकट ठाउँमा छ । अहिलेको जस्तो शैक्षिक गुणस्तर हुनु राम्रो हो ।’ भौगोलिक अवस्थितिका हिसाबले यो अवस्थालाई राम्रो मान्न सकिने उनको भनाइ छ ।
लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर उकास्न भक्तकुमारीको नेतृत्वमा भइरहेको मिहिनेतको कारण शिक्षा मन्त्रालयले कोशी प्रदेशको उत्कृष्ट शिक्षकको रूपमा पुरस्कृत गरेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रदेश सरकारले सिफारिस गरेको आधारमा मन्त्रालयले निर्णय गरेकोले के के आधारमा सिफारिस हुनुभयो त भन्न सकिनँ
तर, उहाँ लामो समयदेखि स्कुलको गुणस्तर बढाउन प्रयास गरिरहनुभएको छ त्यसैले सिफारिसमा पर्नुभयो होला ।’
स्वयं भक्तकुमारीलाई के लाग्छ ? उनी भन्छिन्, ‘मैले विद्यालय सकेसम्म राम्रो बनाऊँ भनेर मिहिनेत गरिरहेकी छु । यसमा कक्षा ८ को नतिजाले पनि थप सहयोग गर्यो होला भन्ने लाग्छ ।’ विद्यालयले नगरस्तरीय हुने कक्षा ८ को परीक्षामा केही वर्षयता शतप्रतिशत नतिजा निकालिरहेको छ ।
यसरी सुध्रियो सिकाइ
भोजपुर नगरपालिका (तल्लो काफ्ले) मा जन्मेकी भक्तकुमारी तामाङले भोजपुरको विद्योदय माविमा विद्यालय तह, भोजपुर क्याम्पसमा बीकम र धनकुटा बहुमुखी क्याम्पसबाट एकवर्षे बीएड अध्ययन पूरा गरेकी छिन् ।
जागिर खाने सिलसिलामा भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर टाढा रहेको तत्कालीन चन्द्रावती प्रावि (कक्षा १–५) करार शिक्षकको रूपमा २०५२ साल जेठमा प्रवेश गरिन् । तत्कालीन प्रधानाध्यापकको सरुवा भएपछि सो पदमा करारमा शिक्षण सेवा गरिरहेकी भक्तकुमारीलाई प्रधानाध्यापकको समेत जिम्मेवारी दिइयो ।
२८ वर्षदेखि शिक्षकको रूपमा र २३ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी भक्तकुमारीले चन्द्रावतीको गुणस्तर उकास्न सकेजति मिहिनेत गरिरहेकी छिन् । पहाडी जिल्लाको पनि दुर्गम क्षेत्रमा रहेको विद्यालयको नेतृत्व गरिरहँदा उनले विभिन्न उतारचढाव झेलेकी छिन् ।
चन्द्रावती प्राविमा उनले प्रधानाध्यापक पद सम्हाल्दा माओवादी र राज्यबीच युद्ध चलिरहेको थियो । त्यसले चन्द्रावती प्राविलाई प्रभाव नपार्ने कुरै थिएन । मुलुक द्वन्द्वमा गएपछि स्कुलमा त्यसको असर पर्यो । विद्यार्थीको शैक्षिक गुणस्तर धेरै खस्कियो ।

२०६३ सालमा राज्य र माओवादीबीच भएको शान्ति सम्झौतापछि जनजीवन सामान्य अवस्थामा फर्किन थाल्यो । विद्यालयहरू नियमित सञ्चालनमा आए । त्यसपछि विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय, व्यवस्थापन समिति, शिक्षक सबै जुट्न थाले ।
विद्यालयको नेतृत्व गरिरहेकी भक्तकुमारी भन्छिन्, ‘शैक्षिक अवस्था सुधार गर्नुपर्छ भन्ने अरूलाई त थियो नै । त्यसमा म प्रधानाध्यापक भएकोले मलाई झन् बढी दबाब थियो ।’
ग्रामीण क्षेत्रको विद्यालय भएकोले सबै बालबालिकाका अभिभावकहरू खेतीकिसानी गर्ने छन् । आफ्ना बालबालिकालाई पढाउनुपर्छ भनेर थाहा पाउने भए पनि कामको व्यस्तताका कारण अभिभावकले बालबालिकाको पढाइमा ध्यान दिन सक्ने अवस्था थिएन । विद्यालयले समय–समयमा अभिभावक भेला गरेर प्रतिक्रिया लिने तथा आफ्ना बालबालिकाको पढाइमा ध्यान दिन सचेत गराउने गर्न थाल्यो ।
भक्तकुमारी भन्छिन्, ‘बालबालिकाको पढाइमा ध्यान दिन भन्छौं तर उहाँहरूमा पनि ध्यान दिनुपर्छ भन्ने सचेतना छ तर कामकै कारण भने जस्तो समय दिन सक्नुहुन्न ।’ विद्यालयले, शिक्षकले पनि अभिभावकको बाध्यता र अवस्थाको कारण बढी दबाब दिन सक्ने अवस्था छैन । त्यसैले अलि बढी शिक्षकहरूले नै मिहिनेत गर्नु परिरहेको छ ।
यसपछि गाउँको परिवेश बुझेका शिक्षकहरू आफैंले मिहिनेत गरिरहे । कक्षा ५ सम्म रहेको विद्यालयलाई २०६६ सालदेखि कक्षा ६, २०६७ सालमा ७ र २०६८ सालमा कक्षा ८ सम्म पुर्याइयो । सबैको पहल र प्रयासले राम्रो हुँदै गइरहेको बेला फेरि कोरोना आइपुग्यो । गाउँमा पनि संक्रमण देखिन थालेपछि लामो समय विद्यालय बन्द भयो ।
पहाडी ग्रामीण क्षेत्रका विद्यालयहरू पनि कोरोना महामारीबाट प्रभावित भए । प्रविधि र इन्टरनेटको पहुँच भन्दा टाढा थिए अधिकांश बालबालिका । अनलाइन कक्षाको कुनै सम्भावना थिएन । गाउँमा संक्रमण नफैलँदै त्रासका कारण विद्यालय बन्द भए । बालबालिका विद्यालय आउन छाडे । रेडियोमा भनिए जस्तो लक्षणहरू गाउँमा देखिन थाल्यो । तर, कसैको जाँच भएन ।
अवस्था गम्भीर नभए पनि एककिसिमको त्रास फैलियो । देखिएको लक्षणले कोही गम्भीर नभएपछि क्रमशः त्रास कम हुँदैगयो । तर, पनि विद्यालय खोलिहाल्न सक्ने स्थिति थिएन । त्यसपछि भक्तकुमारी सहित शिक्षकहरू टोल–टोलमा गएर बालबालिकालाई गृहकार्य दिने, जाँच्ने, केहीपछि विद्यालयमा नै आलोपालो बोलाएर गृहकार्य दिने काम हुँदैगयो ।
करिब डेढ वर्षपछि मात्रै विद्यालय सामान्य रूपमा खुल्यो । त्यसबेलासम्म बालबालिकाको पढाइमा नराम्रो असर परिसकेको थियो । त्यसपछि आफू सहित शिक्षकहरूले धेरै नै मिहिनेत गर्नु परेको बताउँछिन् भक्तकुमारी ।
यसरी विद्यालयलाई सबभन्दा धेरै शिक्षक अनि व्यवस्थापन समिति र अभिभावकले साथ दिएका कारण अहिले शैक्षिक गुणस्तर राम्रो भन्न सकिने अवस्थामा पुर्याउन सकेको उनी बताउँछिन् । भक्तकुमारी भन्छिन्, ‘भने जस्तो नै त भएको छैन तर राम्रो भन्न सकिने तहको काम भएको छ । बाँकी त पालिकाले मूल्यांकन गरिरहेकै होला ।’
षडानन्द नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयहरूलाई विभिन्न लक्ष्य दिएको छ । त्यसमध्ये हरेक वर्ष दुई प्रतिशत बढी शैक्षिक गुणस्तर उकास्नुपर्ने लक्ष्य छ । चन्द्रावती आधारभूत प्राथमिक विद्यालयले धेरै विषयमा पालिकाले दिएको लक्ष्य भन्दा बढी प्रगति गरिरहेको छ र केहीमा भने लक्ष्यसम्म मात्रै पुग्न सकिरहेको अवस्था छ ।
प्रधानाध्यापक भक्तकुमारी भन्छिन्, ‘पालिकाले दिएका लक्ष्यहरू धेरैमा राम्रो प्रगति भइरहे पनि केही विषयहरूमा भने मुश्किलले पुगिरहेका छौं, त्यसमा मिहिनेत गरिरहेका छौं ।’ विद्यालयले पछिल्लो समय अभिभावक भेला र छलफललाई बाक्लो बनाइरहेको छ ।
तर, दुःखको कुरा बसाइँसराइ तथा घट्दो जन्मदरका कारण दुर्गम पहाडी भेगमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै गइरहेको छ । पहिला बस्ती बाक्लो हुनुको साथै एउटै घरमा तीन जनादेखि पाँच जनासम्म बालबालिका हुन्थे । ती सबै गाउँकै विद्यालयमा पढ्थे । अहिले बसाइँसराइले गाउँ पातलिएको छ । घरमा अहिले एक वा दुई बालबालिका हुन्छन्, तिनलाई पनि सकेसम्म शहर/बजारको अंग्रेजी माध्यमको विद्यालयमा पढाउने अभिभावकको चाहना हुन्छ ।
विद्यार्थी संख्या घट्दै जाँदा भक्तकुमारी र शिक्षकहरूलाई पीर लागिरहन्छ । तर पनि उनीहरू उपाय निकालेर विद्यार्थी आकर्षित गर्न खोजिरहेका छन् । विद्यालयको भौतिक पूर्वाधार बनाउन र बालबालिकाको अरू सुविधा जुटाउन विद्यालयले देउसीभैलो खेल्छ । अरू विभिन्न कार्यक्रम गरेर आर्थिक रकम जुटाउने गरेको छ । यसरी जुटेको रकम कपी, पेन्सिल, झोला किन्न नसक्ने बालबालिकाको लागि खर्च गर्ने गरिन्छ ।
वडामा रहेको अन्य ६ वटा विद्यालयमध्ये यो उत्कृष्ट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर बस्नेत दाबी गर्छन् । वडा सदस्य समेत रहेका बस्नेत भन्छन्, ‘वडाका अन्य विद्यालयको तुलनामा हाम्रो स्कुल उत्कृष्ट नै हो ।’
प्रधानाध्यापक तामाङको निरन्तर प्रयास र जिम्मेवारीप्रतिको लगावले विद्यालयको गुणस्तर बढेको उनको भनाइ छ ।
शिक्षा मन्त्रालयले पुरस्कृत घोषणा गरे पनि पदक तयार हुन नसकेको हुँदा भक्तकुमारीले पदक भने पाउन सकेकी छैनन् । आफूले पुरस्कारको विषयमा चासो राखेर सोधीखोजी नगरेको उनले बताइन् । प्रदेशले केको आधारमा सिफारिस गर्यो भन्ने जानकारी नपाए पनि आफुले गरिरहेको मिहिनेत र स्थानीय नगर स्तरीय कक्षा ८ को नतिजाको कारण होला भन्ने अनुमान गरेको उनको भनाइ छ ।
शिक्षकहरूले प्रत्येक विद्यार्थीलाई आवश्यक समय दिन सकिरहेकोले नतिजा राम्रो आइरहेको उनको भनाइ छ ।
भक्तकुमारीले विद्यालयलाई पारदर्शी तथा चुस्तदुरुस्त रूपमा सञ्चालन गरिरहेकोले अहिलेसम्म अर्को प्रधानाध्यापक बनाउने विषयमा सवाल नै नउठेको पालिकाको भनाइ छ ।
प्रधानाध्यापक भक्तकुमारी आफ्नो विद्यालयलाई सुविधासम्पन्न शहरको विद्यालय सरह बनाउन नसके पनि गाउँका अभिभावक तथा बालबालिकाको पहिलो रोजाइ बनाउन लागिपरेकी छिन् । भन्छिन्, ‘यहाँका अभिभावक तथा बालबालिकाको पहिलो रोजाइ हाम्रो विद्यालय बनोस् भन्ने लाग्छ, त्यस्तो बनाउने प्रयास जारी छ ।’
- नुनुता राई
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी