 
																			२३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक सरकारमा पठाउने मन्त्रीका विषयमा कुनै निर्णय नगरी सकिएको छ । सोमबारदेखि लगातार बसिरहेको कार्यकारिणीको तेस्रो बैठक मन्त्री छनोट नगरी सकिएको एक नेताले जानकारी दिए ।
बैठकमा सहभागी ती नेताका अनुसार गठबन्धनमा सहभागी हुने निर्णय गर्दा भागबण्डाको विषय पनि टुंग्याउन सुझाव दिएको, तर अध्यक्ष उपेन्द्र यादवले सहभागी हुने मात्रै निर्णय गरेको भनेर बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको बैठकमा पनि अहिलेकै अवस्थामा सरकारमा जान हतार हुने र मधेश प्रदेश सरकार आफ्नो हातबाट गुम्ने भन्दै नेताहरूले गठबन्धनको सुनिश्चितता हुन दिनुपर्ने राय अध्यक्ष यादवलाई दिएका थिए ।
त्यसपछि बुधबार बसेको बैठकमा भने मन्त्रिपरिषद्मा पठाउने नेताको नाम चयन गर्नुभन्दा पहिले मधेश प्रदेशको सरकार र संघीय सरकारमा पार्टीले पाउने मन्त्रालयको टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने बारेमा अन्तिम निर्णय गर्नुपर्ने सुझाव नेताहरुले दिएका छन् ।
त्यसपछि कुनै निर्णय नगरिकन अध्यक्ष यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, मनिष सुमन र रकम चेम्जोङ छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार गएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार अधिकांश सांसद र कार्यकारिणी सदस्यले अहिलेकै परिस्थितिमा सरकारमा सहभागी हुन नहुने धारणा राखेका छन् ।
‘वाम गठबन्धनमा जाने विषयमा सहमति जुट्न सकेन, मन्त्री छनौट गर्ने विषय धेरै पर रह्यो’, ती नेताले भने, ‘अहिलेको गठबन्धनमा गए मधेश प्रदेशको सरकार पनि गुमाउने स्थिति आउने धारणा आयो । सबै विषयमा छलफल भयो, तर निर्णय भएन ।’
जसपा कार्यकारिणी समिति बैठक पुनः बस्ने गरी सकिएको छ । तर अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको ती नेताको भनाइ छ ।बालुवाटारमा छलफल गरेर फर्किएपछि अध्यक्ष यादवले पुनः अर्को बैठक बोलाउने भएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4