२४ फागुन, काठमाडौं । नेपाली क्रिकेट टोली हङकङमा हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न बिहीवार राति त्यसतर्फ जाँदैछ ।
त्यहाँ नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण टी–२० आई खेल खेल्नेछ ।
त्रिकोणात्मक सिरिजमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके फाइनल र नभए तेस्रो स्थानको लागि हङकङ ए सँग बुधबार खेल्ने तालिका छ ।
हङकङ भ्रमणमा नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरि, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेख र ललित राजवंशी जस्ता पहिलो रोजाइका खेलाडी छैनन् ।
अलराउन्डर राशिद खान, तीव्र गतिका बलर आकाश चन्द, युवा हिटर लोकेश बम र अनुभवी विकेटकिपर विनोद भण्डारीलाई मौका दिइएको छ । त्रिकोणात्मक टी–२० आई सिरिजमा रहेपनि राम्रो अवसर नपाएका विवेक यादव, सन्दीप जोरा र सागर ढकाल पनि हङकङ जाने टोलीमा छन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेलले हङकङ भ्रमण युवा खेलाडीको प्रदर्शन तिखार्ने उपयुक्त अवसर भएको बताए ।
‘युवा खेलाडीका साथ जादा चुनौतीभन्दा पनि अवसरको रुपमा हामीले लिएका छौं । आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिजमा जसले अवसर पाएको थिएन उहाहरुको लागि एकदमै ठूलो अवसर हो’, रोहितले भने, ‘दबाबको अवस्थामा कस्तो प्रदर्शन गर्दछन् त्यो हेर्न पाइन्छ ।’
यो वर्ष नेपाली क्रिकेट टोलीको ब्यस्त तालिका छ । हङकङबाट फर्केपछि दुई सातामै घरेलु मैदानमा नेपालले आयरल्यान्ड ए सँग दुई टी–२० खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारतमा बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० आई सिरिज खेल्न जानेछ । आयरल्यान्डसँगको बाँकी तीन टी–२० र तीन एकदिवसीय अभ्यास खेल नेपाल ए ले खेल्नेछ ।
भारतमा सिरिज चैत्र १७ देखि २५ सम्म हुनेछ । उक्त सिरिज सकिए लगत्तै एसीसी प्रिमियर कप खेल्न नेपाल ओमान जानेछ । हङकङ सिरिजमा नेपालको मुख्य उद्देश्य नै एसीसी प्रिमियर कप र टी–२० विश्वकपमा नेपालले खोजेको खेलाडी खोज्ने हुनेछ ।
‘हाम्रा केही सुधार गर्नुपर्ने क्षेत्र छन् । त्यसमा उहाँहरुले कसरी प्रदर्शन गर्नुहुन्छ, राम्रो प्रदर्शन गर्नु भयो भने हामीले सोच्न एकदमै जरुरी हुन्छ । धेरै खेल भएको थियो । तीन चार जनालाई विश्राम दिएर युवालाई हेर्ने यो उत्तम समय पनि हो’, रोहितले भने ।
हङकङ भ्रमणमा समावेश नभएका खेलाडीले त्रिवि क्रिकेट मैदानमा नियमित अभ्यास गर्नेछन् । यसैका लागि नेपालका ब्याटिङ सल्लाहकार नन्दन हन्मान्त फड्निस हङकङ गएका छैनन् । नन्दनले ब्याटिङ र किपिङमा काम गर्ने रोहित बताउँछन् ।
नेपालले गतवर्ष घरेलु मैदानमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो । एसिया कपमा क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।
ओमानमा हुने प्रिमियर कप उपाधि जिते नेपालले टी–२० एसिया कप खेल्न पाउनेछ । एसिया कप टी–२० विश्वकपपछि हुने सम्भावना छ ।
एसीसी प्रिमियर कपअघि नै नेपालको विश्वकप टोली प्रष्ट हुने रोहित बताउँछन् ।
‘एसिया कप हाम्रो लागि ठूलो अवसर हो । एक पटक खेलिसकेका छौं । हाम्रो लक्ष्य निरन्तर एसिया कप खेल्ने हो ।
हामीलाई चनौती र अवसर दुबै छ । हङकङ, आयरल्यान्ड र भारतको सिरिज निकै महत्वपूर्ण हुनेछ । एसीसी प्रिमियर कप भन्दा अगाडि नै विश्वकप टोली कुन हुन्छ हामी क्लियर हुन्छौं’, रोहितले भने ।
 
                    










 २०८० फागुन  २४ गते २१:२३
                        २०८० फागुन  २४ गते २१:२३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4