+

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

२०८० फागुन  ३० गते १२:२७ २०८० फागुन ३० गते १२:२७

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको देखिन्छ ।

Shares
रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

हाल समुदायमा रुघाखोकी ज्वरोले प्रकोपको रूप लिंदै गइरहेको देखिन्छ । यसमा विशेषत: बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ । यद्यपि जुनसुकै उमेर समूहकाहरू संक्रमणबाट अछुतो नरहेको तपाईं हाम्रो घर वा कार्यस्थलमा यत्रतत्र देखिन्छ ।

धेरैले रुघाखोकी ज्वरोलाई सामान्य रूपमा लिने गर्दछन् । धेरैजसो ८-१० दिनको आरामपछि स्वास्थ्यमा सुधार हुँदै जाने पनि गर्दछ । तर यी लक्षणहरू हाल धेरैमा केही कडा देखिएको छ । धेरैको स्वर समेत भासिएको देखिन्छ । विशेषत: रुघाखोकी ज्वरो प्रकोपमा बालबालिका, रोग प्रतिरोधात्मक कमजोर भएका, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरूमा जटिलताको जोखिम बढी हुने गर्दछ ।

हाल फैलिरहेको रुघाखोकी ज्वरो प्रकोप कुनै एक संक्रमणलाई मात्र कारक मान्ने अवस्था देखिंदैन । तर तथ्यांकलाई आधार मान्ने हो भने फ्लु र कोभिड दुई भाइरस पुष्टि र सक्रिय भएको देखिन्छ । मौसम परिवर्तनसँगै फ्लु भाइरस विशेषत: फेब्रुअरी-मार्च महिनामा सक्रिय हुनु अनुमानित नै हो भने कोभिडको खासै निश्चित सक्रिय मौसम देखिंदैन । हाल फ्लु र कोभिड भाइरससँगै देखिएकोले लेखकले यसलाई ‘फ्लुभिड’ नाम दिएको हो ।

‘इन्फ्लुएन्जा’ भाइरसलाई छोटकरीमा ‘फ्लु’ भन्ने गरिन्छ । अझ सर्वसाधारणले त ‘भाइरल’ भन्ने गरेको समेत पाइन्छ । तथ्यांक हेर्ने हो भने फेब्रुअरी-मार्च र अगस्ट-सेप्टेम्बर गरी वर्षमा दुई पटक नेपालमा फ्लुले प्रकोपको रूप लिने गर्दछ । यद्यपि ट्रपिकल क्षेत्रमा वर्षैभरि फ्लु देखिने अनुसन्धानहरूको निचोडले देखाउँछ ।

फ्लुलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरेर चार भागमा विभाजित गरिएको छ । फ्लु ‘ए’ र ‘बी’ले विशेषगरी मानिसलाई बढी दुःख दिने गरेको पाइन्छ । फ्लु ‘ए’ अन्तर्गत ‘एच वान एन वान’ पीडीएम ०९ (सर्वसाधारणले स्वाइन फ्लुको नामले चिन्ने गर्छ) र ‘एच थ्री एन २’ (हङकङ फ्लु पनि भन्ने गरिन्छ) बढी र हरेक सिजनमा सक्रिय भएको देखिन्छ ।

‘एच वान एन वान’ पीडीएम ०९ फ्लुलाई सन् २००९ मा प्यानडेमिक घोषणा गरिएको थियो । सो समय झण्डै एकदेखि दुई लाखसम्मको मृत्यु यही भाइरसको कारणले भएको अनुसन्धानले देखाउँछ भने उनीहरू धेरैजसो ६५ वर्षमुनिका थिए । विश्व स्वास्थ्य संगठनले १८ हजार ६३१ जनाको मृत्यु भएको तथ्यांक निकालेको भएपनि स्वतन्त्र अनुसन्धानकर्ताहरूको अनुसन्धानले योभन्दा १० गुणा बढीको मृत्यु भएको देखाएका छन् ।

हालको तथ्यांक हेर्ने हो भने ‘एच वान एन वान’ पीडीएम ०९ फ्लु बढी पुष्टि भएको देखिन्छ । त्यस्तै ‘एच थ्री एन २’ र फ्लु ‘बी’ भाइरसहरू पनि सँगसँगै देखिएका छन् । अचानक ज्वरो आउनु, खोकी लाग्नु, नाकबाट पानी बग्नु, घाँटी दुख्नु, शरीर दुख्नु तथा थकित हुनु फ्लुका मुख्य लक्षणहरू हुन् ।

हाल यस्ता लक्षणसहित धेरै मानिस समुदायमा देख्न सकिन्छ । कतिपयलाई ज्वरोले एक-दुई दिनमा छोडे पनि खोकीले भने हप्तौं वा महिनौंसम्म पनि दुःख दिइरहेका देखिन्छन् । फ्लु कडा देखिए निमोनिया गराउने सम्भावना बढेर जान्छ ।

कोभिड-१९ को बहुलहरबाट छुटकारा पाएको धेरै भएको छैन र सम्भवत: धेरैले ती अत्यासपूर्ण लहरहरू सायदै बिर्सिसकेको पनि होलान् । धेरैमा फ्लुका जस्तै लक्षणहरू देखिंदै गर्दा परीक्षणको क्रममा कोभिड पनि पछिल्लो हप्ताको तुलनामा बढ्दै गइरहेको देखिन्छ ।

छिमेकी देश भारतमा पनि हाल कोभिड तुलनात्मक रूपमा बढेको विभिन्न सञ्चारका मध्यमहरूले जनाएका छन् । फ्लु र कोभिडको लक्षणहरू एकअर्कासँग धेरै मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण विना छुट्याउन सहज हुँदैन । नेपालमा ओमिक्रोन भेरियन्ट’का विभिन्न उपप्रजातिहरू देखिने क्रम जारी छ । र, यसका लक्षणहरू माउ ‘ओमिक्रोन’ भन्दा खासै फरक देखिंदैन ।

कोभिडका विभिन्न भेरियन्टहरूमध्ये ‘ओमिक्रोन’ कम घातक मानिन्छ । कोभिडका बिरामीमा खोकी, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, आलस्य हुने, शरीर दुख्ने र कतिपयलाई ज्वरो वा जाडो महसुस हुने जस्ता लक्षणहरू देखिने गरेका छन् ।

हाल फ्लु र कोभिड सँगसँगै अर्थात् ‘फ्लुभिड’ संक्रमणले समुदायमा व्यापकता पाइरहेको छ । यसबाट धेरै बालबालिकाहरू पनि प्रभावित भएका देखिन्छन् भने कतिपयले त केही दिन नियमित कक्षा (पढाइ) समेत छोड्नु परेका देखिन्छन् ।

सामान्यत: संक्रमण फैलिनुमा परिवारका सक्रिय सदस्यको मुख्य भूमिका देखिन्छ । तसर्थ घर बाहिर सभा, सम्मेलन, सार्वजनिक स्थान/स्थल, कार्यालय आदि ठाउँबाट फर्केपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ भने त्यस्ता ठाउँमा जाँदा सकेसम्म मास्क लगाउन छोड्नुहुँदैन ।

घरमा कसैमा फ्लु वा कोभिड लक्षणहरू देखिए वा संक्रमणको शंका लागे परिवारका अरु सदस्यमा संक्रमण नफैलियोस् भन्नाका लागि एक हप्ता-दश दिन अलग्गै बसेको राम्रो हुन्छ । जोखिम समूहमा लक्षणहरू देखिए चिकित्सकको सम्पर्कमा रहनुपर्दछ । ‘फ्लुभिड’ अर्थात् फ्लु र कोभिड दुवैको जटिल अवस्थालाई रोक्न खोपहरू समेत उपलब्ध छन् ।

समग्रमा, हाल नेपालमा ‘फ्लुभिड’ को प्रकोप बढ्दै गइरहेको छ । फ्लु वर्षेनी यही सिजनमा देखिनु अनुमति भएपनि कोभिड देखिनु भने अस्वाभाविक मान्न सकिन्छ । किनभने विगतमा कोभिड लहर सक्रिय हुँदा फ्लु निष्क्रिय प्रायः देखिने अनि फ्लु सक्रिय हुँदा कोभिडको लहर निष्क्रिय प्राय: देखिने/हुने गरेको थियो।

‘फ्लुभिड’ सम्भवत: अरु केही दिन वा हप्ता समुदायमा निरन्तर देखिन सक्ने भएकोले आफ्नो स्वास्थ्यप्रति सजग हुने र थप फैलिनबाट रोक्न सबैको सामूहिक प्रयासको खाँचो अनिवार्य हुनेछ ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)

डा. शेरबहादुर पुन फ्लुभिड रघाखोकी
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय