 
																			३० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले काम गर्न नसकेको दिन सरकारबाट बाहिरिने बताएका छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै वाग्लेले यसपटक सरकारमा रोजेरै मन्त्रालय लिएको र काम गरेर देखाउने बताए ।
‘हामी बिगार्न, भत्काउन, तोड्न, उखेल्न आएको होइन, हाम्रो प्रवेश सशर्त छ, हामी काम गर्न आएका हौं, काम देखाउन आएका हौं’, उनले भने, ‘प्रतिपक्षमा हुँदा सशक्त भूमिकामा थियौं, प्रश्न गर्यौं । अब सरकारबाट डेलिभर गर्न सकिन्छ कि भनेर आएका छौं ।’
वाग्लेले अगाडि भने, ‘सुशासन र युवाकेन्द्रित मन्त्रालयहरु रोजेरै लिएका छौं, गर्न नसकेका दिन आफैं बाहिरिन्छौं, प्रधानमन्त्रीज्यूलाई सजिलो बनाइदिन्छौं, उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’
रास्वपालाई अहिले नै सरकारमा नगएको भए हुन्थ्यो, पुराना दलहरुसँग सहकार्य नगरेको भए हुन्थ्यो भन्ने सुझाव आएको भन्दै उपसभापति वाग्लेले राजनीतिमा अनुभव र नयाँपन दुबैथरिको उत्तिकै महत्व हुने जवाफ दिए ।
भारतका पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीलगायत विश्वका विभिन्न नेताको उदाहरण दिँदै उनले सरकारको नेतृत्व गर्न मन्त्री भएर अनुभव लिँदा फाइदा हुने आशय व्यक्त गरे ।
‘फ्रेसनेस र अनुभवको सन्तुलनबारे बाहिरी साथीले चासो राख्न सक्नुहुन्छ तर सन्तुलन कसरी मिलाउने भन्ने कुरा हाम्रो आन्तरिक पार्टी मेकानिजमलाई छाडिदिनुहोला’, वाग्लेले भने ।
राजकाजको अवसर आउँदा अभ्यास गर्नैपर्ने भन्दै उनले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने बताए ।
‘चेस खेल्न बसेपछि गोटी चाल्नैपर्छ, उँट, घोडा, हात्ती, रानी, पिउसो चलाउन थालेपछि मन्त्री नै लगाएर चेक मेट गर्ने अवस्थासम्म हामी पुग्न चाहन्छौं’, वाग्लेले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4