३ वैशाख, काठमाडौं । सरकारले पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) सुरू गर्ने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी असारभित्र यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको हो ।
महाशाखाका प्रमुख डा. विवेक कुमार लालका अनुसार उक्त खोप अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकाहरुलाई खोप दिइने योजना छ ।
नेपालले सन् २०१४ बाट सुईबाट दिइने पोलियोविरुद्धको खोप (आईपीभी) सुरू गरेपनि २०१६ देखि २०१८ को मध्यसम्म विश्वव्यापी रुपमा अभाव भएका कारण खोप दिन रोकिएको थियो ।
सरकारले सन् २०१४ बाट ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)को सयोगमा आइपीभी सुरु गरेको थियो । तर, अन्तराष्ट्रिय बजारमै खोपको अभाव भएको भन्दै पठाउन छाडेपछि यो खोप सन् २०१६ देखि नै बन्द भएको थियो ।
‘दुई वर्षको अवधिमा १४ लाख ६२ हजारको हाराहारीमा आईपीभी खोपबाट वञ्चित भएको छन् । ती बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम स्कुल-स्कुलमा खोप दिइनेछ,’ लालले अनलाइनखबरसँग भने, ‘चालू आर्थिक वर्षभित्रमा खोप दिने गरी सबै तयारी गरिसकेका छौं ।’
गाभीको सहयोग आउने आईपीभी खोप कहिलेसम्म काठमाडौं आउने निश्चित नभएका कारण समय तोक्न नसकिएको डा. लालले बताए । तर, चालू आर्थिक वर्षका कार्यक्रम भएकाले असारसम्म खोप दिइसक्ने उनको भनाइ छ ।
खोप अभियानबारे प्रदेशगत रुपमा तयारी बैठक भइरहेको लालले जानकारी दिए । राष्ट्रिय खोप सल्लाकार समितिले पटक-पटक आईपीभी खोप दिन सुझाव दिइरहेको थियो ।
किन सञ्चालन गर्नु पर्यो आईपीभी खोप ?
पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति-व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा-पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गर्छ । पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक-फरक हुन्छन् ।
पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो । मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ ।
टाइप टु नेपालबाट धेरै अघि देखी नदेखिएको भएपनि यसको मृत जिव मिसिएको आइपिभी भ्याक्सीन सुरु गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले नै सो खोप प्रयोग गर्नको लागि विश्व समुदायलाई आह्वान गरेको थियो । त्यस अनुसार नेपालले पनि राष्ट्रिय खोप कार्यक्रममा समावेश गयो । तर, पछि अन्तराष्ट्रिय रुपमा खोपको अभावका हुन कारण खोप कार्यक्रम दुई वर्ष बन्द भएको थियो ।
मुखबाट दिइने पोलियो खोप जीवित भाइरसबाट बनेको हुन्छ मुखबाट दिइने पोलियो खोपको फाइदा र बेफाइदा दुवै हुन्छ । जीवित भाइरस बनेको पोलियो खोप आन्द्रा हुँदै शरीरमा प्रवेशमा गर्छ । जुन शरीरमा संख्यात्मक रुपमा धेरै गुणा वृद्धि हुन्छ ।
सरसफाइको राम्रो व्यवस्था नभएको बेलामा बच्चाले दिसा गर्दा त्यसबाट पनि संक्रिय भाइरस निस्किन्छ । ‘लाखौं संख्यामा बालबालिका मध्ये कहिलेकाहीले दुई-चार जना बालबालिकालाई भाइरसले पनि पोलियो गराउन सक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिमा पोलियो हुने देखिएको छ,’ डा. लालले भने, ‘सुई बाट दिँदा भाइरस मरेको हुँदा बालबालिकालाई प्रतिरक्षा दिन्छ अन्य बालबालिमा सर्ने सम्भावना हुँदैन ।’
डा. लालका अनुसार सरसफाई राम्रो व्यवस्था नभएका गरिब मुलुक अहिले पनि आईपीभी खोप सञ्चालन भइरहेको छ । विश्वभरिबाट टाइप टु र थ्री नामक पोलियो भाइरस उन्मूलन भएपनि टाइप वान नामक भाइरस चाहिँ अफगानिस्तान र पाकिस्तानमा अझै देखिएको छ ।
पोलियो संक्रमित धेरैजसो मानिसमा कुनै पनि लक्षण देख्दिैन र समस्या विना नै धेरै निको हुन्छन् । तर कहिलेकाही पोलियो लागेका मानिसमा पक्षघात हुनसक्छ ।विश्व स्वास्थ्य संगठन अनुसार प्रत्येक दुई सय बिरामीमध्ये एकजना बिरामीलाई हुने पक्षाघात पूर्ववत अवस्थामा फर्किन नसक्ने प्रकारको हुन्छ ।
श्वासप्रश्वासमा सघाउने मांसपेशीहरूलाई पक्षाघातको असर परेमा मृत्यु पनि हुन सक्छ । पोलियोको उपचार छैन, तर खोप लगाएर बच्चाहरूलाई पोलियो लाग्नबाट बचाउन सकिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4