+

अपराजित रहँदै महिला लिगमा छनोट भएको कोशीको कथा

२०८१ वैशाख  २५ गते १४:३९ २०८१ वैशाख २५ गते १४:३९
अपराजित रहँदै महिला लिगमा छनोट भएको कोशीको कथा

२५ वैशाख, काठमाडौं । भर्खरै महिला लिग छनोट सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालामा सकियो । ७ प्रदेशले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कोशी प्रदेश अपराजित रहँदै लिग च्याम्पियनको रूपमा महिला लिगमा छनोट भयो ।

सबै टिमले कम्तीमा १ हार व्यहोरे । तर कोशीले लिगको ६ खेलमा ५ जित र १ बराबरीसहित प्रतियोगितामा उत्कृष्ट टिमको रूपमा स्थान बनायो ।

फुटबलमा सधैं चलायमान रहने कोशी प्रदेशको नतिजा यसअघि बागमती प्रदेशस्तरीय फुटबलमा पनि बलियो देखिएको थियो । उक्त प्रतियोगितामा कोशी च्याम्पियन बनेको थियो ।

कोशीको च्याम्पियन यात्रा महिला लिग छनोटमा पनि निरन्तर देखियो । कोशीका प्रशिक्षक श्याम मानन्धर भन्छन्, ‘पहाडी जिल्लाहरूमा समेत महिला फुटबल निकै चलायमान छ । यसमा झन् हाम्रो १० जना खेलाडीले एउटै टिमबाट खेल्छन् । त्यसैले हाम्रो टिम बलियो देखिएको हो,’ उनले भने ।

कोशी प्रदेशको टिममा रहेको १० जना खेलाडी मेची कन्काईका नियमित खेलाडी भएको प्रशिक्षक मानन्धरले बताए ।

लिगको यात्रा

महिला लिग छनोट खेल्नका लागि कोशी प्रदेश जम्मा १० दिनअघि मात्रै तयार भएको थियो । छोटो समयमै छनोटमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै राष्ट्रिय महिला लिगको लागि छनोट भयो । ६ खेलमा १६ अंक जोेडेको कोशीको टिमले सन्तोषजनक खेल प्रदर्शन गरेको प्रशिक्षक मानन्धरले बताए ।

छनोटको चरण सकिए पनि अब भने खेलाडीलाई महिला लिगको लागि तयारी गर्न उत्तिकै चुनौती छ । यसो त महिला लिगको समय तोकिएको छैन । खेलको समय निश्चित नहुँदा खेलाडीको तयारीमा पनि अन्योल देखिएको छ ।

अब कोशी केही राम्रा खेलाडी थप्दै महिला लिगमा थप बलियो बन्दै आउने तयारीमा रहेको छ । ‘हामी यो पटक जसरी भए पनि क्वालिफाई हुन आएका थियौं । अब महिला लिगमा हामी छनोट नभएका प्रदेशका राम्रा ३/४ जना खेलाडी थप्दै थप बलियो टिम बनाउने तयारीमा रहेका छौं,’ कोशीका प्रशिक्षक श्याम महर्जनले बताए ।

तयारी अनुसार नै नतिजा निकालेको कोशीका लागि अब राष्ट्रिय महिला लिग सहज भने हुनेछैन । तीन विभागीय टिमसँगको प्रतिस्पर्धाका लागि कोशीले थप प्रयास गर्नुपर्नेछ ।

यस पटकको लिगमा छनोट हुन सहज हुनुको कारण उमेर समूहमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्ने खेलाडी भएका कारण प्रमुख हो । कोशीको टिममा सिम्रन राई , प्रतिक्षा राईजस्ता अब्बल खेलाडी छन् । जसले गर्दा टिम बलियो बन्यो ।

यस प्रतियोगिता खेल्नुअघि कोशीले बागमती प्रदेशले आयोजना गरेको प्रतियोगिता जितेको थियो । जुन प्रतियोगिता जितेवापत प्रदेश फुटबल संघले महिला खेलाडीहरूलाई प्रतिव्यक्ति ५० हजार दिने निर्णय गरेको थियो ।

हाल महिला लिग छनोट भएकोमा संघले खेल्न आउनु अघि नै केही पुरस्कार दिने भन्दै खेलाडीलाई हौस्याएको प्रशिक्षक महर्जनले बताए । ‘कोशी प्रदेश फुटबल संघले छनोट भयो भने पुरस्कार दिने भन्ने कुरा थियो । बागमती प्रदेशमा च्याम्पियन हुँदा खेलाडीलाई जनही ५० हजार दिने भनेर घोषणा पनि भएको थियो,’ उनले भने ।

रणनीतिक सुधारको आवश्यकता

लिग छनोटमा अपराजित रहेको कोशीले महिला लिगमा भने विभागीय टोलीविरुद्ध खेल्नुपर्नेछ । जसका लागि रणनीतिक कुरामा धेरै सुधार गर्नुपर्ने छ ।

बलिया विभागीय टिमहरूसँग राष्ट्रियस्तरका खेलाडीहरू छन् । यसले प्रदेशमा अब्बल देखिएको कोशीको महिला लिग यात्रामा चुनौती छ ।

प्रशिक्षक श्याम महर्जन रणनीतिक सुधार नगरी विभागीय टोलीविरुद्ध प्रतिस्पर्धा गर्न गाह्रो हुने बताउँछन् । ‘हामीले यो तरिकाले खेलेर हुँदैन । लिगमा विभागीय टिमहरूसँग खेल्ने भएकाले सबैभन्दा बढी रणनीतिक सुधारको पक्षमा ध्यान दिनुपर्छ ।’

कर्णाली प्रादेशिक रंगशाला कोशी महिला लिग छनोट

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय