 
																			२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रुलाई प्रत्यक्ष अवलोकन गर्न सिन्धुली पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
आज प्रधानमन्त्री, मन्त्री लगायतको उपस्थितिमा आज बिहान साढे १० बजे सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ । त्यसअघि बुधबार बिहानै प्रधानमन्त्री प्रचण्डले आयोजनास्थल अनुगमन गरेका थिए । त्यसपछि उनले सुनकोसी गाउँपालिकामा ब्रिफिङ लिएका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले सम्भावित समस्या पहिचान गरी त्यसलाई समयमै सल्टाउन निर्देशन पनि दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोंच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नुहोला ।’
प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिएका थिए ।
सुरुङमार्ग बाहेक अन्य निर्माण कार्यहरू ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासको कार्यहरू पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनले कार्ययोजना एवं खरिद गुरूयोजनाले निर्दिष्ट गरेअनुरूपका सम्पूर्ण कार्यहरू निर्धारित समयभित्रै पूरा गर्न भनेका थिए ।
सुनकोशी–मरिण डाइभर्सन राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना भएकाले बजेटको अभाव हुन नदिने र काममा सहजीकरण गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले जनाए ।
आयोजना प्रमुख मित्र बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनाको सुरुङ २२ महिनाभित्र ब्रेक थ्रु गर्ने लक्ष्य राखिए पनि ३ महिना २ दिनअघि नै सुरुङ ब्रेक थ्रु हुन लागेको हो ।
सो आयोजनामा कुल १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।
सुनकोशीको पानी सुरुङमार्फत मरिण खोलामा खसालेर ३१ मेगावाट बिजुली उत्पादन पनि गरिनेछ । सोही पानीबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका कुल १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।
सुरुङमा पानी पठाउन सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध बनाउने काम जारी छ । बाँध निर्माणका लागि नेपालको रमण समूहसँग भारतीय कम्पनी पटेल इञ्जिनियरिङको संयुक्त उपक्रमले जिम्मा पाएको छ । तर बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भएको छ । २०८४ सालको असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4