 
																			३१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनेपछि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने बताएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति बनेपछि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्ने आशंका शुक्रबार व्यक्त गरेका थिए ।
कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गृहमन्त्री लामिछानेको राजीनामा नमाग्ने बताइसकेको छ । ‘छानबिन समिति बन्यो भन्ने गृहमन्त्रीको राजीनामा कांग्रेसले माग्छ भनेर एमालेले भनिरहेको छ,’ कांग्रेसका शीर्ष तहका नेता भन्छन्, ‘छानबिन समिति बनेपछि गृहमन्त्रीको राजीनामा दिनुपर्दैन भनेर प्रधानमन्त्रीलाई भनिसकेका छौं ।’
कांग्रेसको बुझाइमा छानबिन समिति बन्दा गृहमन्त्रीले राजीनामा नदिने परिस्थिति नबनोस् भन्नेमा प्रधानमन्त्री देखिन्छन् । ‘प्रधानमन्त्रीलाई हामीले क्लियर गरिदिएका छौं । हामीले रविको राजीनामा माग्दै माग्दैनौं,’ कांग्रेसका शीर्ष तहका ती नेताले भने ।
संकटग्रस्त सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने माथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर राख्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्ड समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन सकारात्मक देखिएका छन् ।
प्रचण्डले माओवादी केन्द्रको संसदीय दलको बैठक समग्रतामा छानबिन समिति बनाउन सकिने संकेत गरेका थिए ।
तर, सत्ताको प्रमुख दल नेकपा एमाले भने संसदीय छानबिन समितिका लागि तयार छैन । एमाले अध्यक्ष ओलीले संसदीय दलको बैठकमा बोल्ने क्रममा संसदीय छानबिन समिति बनेपछि कांग्रेसले नयाँ माग तेर्साउने बताएका थिए ।
गृहमन्त्रीको राजीनामा नमाग्ने निर्णय कांग्रेस शीर्ष नेताको बैठकले शनिबार बिहान गरेको थियो । प्रधानमन्त्रीलाई गम्भीर हुन ध्यानाकर्षण गराउने निर्णय उक्त बैठकले लिएको थियो ।
शनिबारको बिहान पछि पत्रकारलाई प्रतिक्रिया दिंदै महामन्त्री गगन थापाले छानविन समिति पछि गृहमन्त्रीको राजीनामा नमाग्ने बताए ।
राजीनामा माग्ने भनी आशंका नराख्न आग्रह गर्दै थापाले भनेका थिए, ‘गृहमन्त्रीको राजीनामा माग्दै माग्दैनौं । हाम्रो यो ग्यारेन्टी हो,तपाईहरु यसमा नआत्तिनुस् ।’
आइतबार बिहान प्रधानमन्त्रीले कांग्रेसलाई छलफलका लागि बोलाएका थिए । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभामा दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।
बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्री छानविन समिति बनाउन सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
दुई दिन पछि पुनः बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले सोमबार साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानविन समिति बनाउने सहमति गर्ने अपेक्षा गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4