 
																			६ साउन, काठमाडौं । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्राथमिकता र चार काम सुनाए । त्यसभन्दा अगाडि उनले संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गर्नुको औचित्य स्थापित गर्ने प्रयास गरे ।
अर्थतन्त्रका केही छनोटयुक्त तथ्यांक प्रस्तुत गरेका उनले आफ्नो सरकारको पहिलो प्राथमिकता नै ‘थालेको काम सक्ने’ भएको बताएका छन् ।
कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म १२३ किमी सडक कालोपत्र आयोजनामा १६ वर्षमा जम्मा १५ प्रतिशत भौतिक प्रगति मात्र भएको भन्दै उनले भने, ‘अझ मलाई उदेक लागेको कुरा के भने यो आयोजना सम्पन्न गर्नुपर्ने निकायले तयार पारेको रिपोर्टमा आयोजना सम्पन्न गर्नुपर्ने मिति यकिन भइनसकेको भनेर लेखेको रहेछ ।’
राष्ट्रिय गौरव आयोजनाहरूको अवस्थामा पनि यो भन्दा फरक नभएको भन्दै विकास मोडलमाथि नै प्रश्न उठाए । उनले अगाडि भने, ‘म सिंगो देशलाई भन्न चाहन्छु, ‘अब हामी विकासको मामिलामा देखिएको यस्तो अनुशासनहीनता अन्त्य गर्छौं ।’
विपक्षी दलहरूले भने प्रधानमन्त्रीको प्रतिवाद गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी नेताहरूले ओली नेतृत्वको अघिल्लो सरकारले नै अनुत्पादक क्षेत्रमा लगानी गरेर देशको ढुकुटीको दोहन गरेको थियो भन्ने देखाएका हुन् ।
विगतमा ओली नेतृत्वमा तीन वटा सरकारको अनुभव गरिसकेको उल्लेख गर्दै उनीहरूले फेरि पनि आर्थिक विकास र समृद्धिमा उल्लेख्य प्रगति हुनेमा आशंका व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई प्रश्न गरे, कुरा ठूला–ठूला गरिरहेका छौं, तर लगानी कहाँ गर्ने गरेका छौं ?’ उनले अगाडि भने, भ्यूटावरमा, आवश्यक नै नभएको सभाहल र गेट निर्माणमा ।’
थोरै पैसाले बनाउन सकिने भवनमा धेरै खर्च गरेर विशाल बनाएको भन्दै उनले प्रधानमन्त्री निवासका साथै मन्त्री मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको क्वाटर देखाए ।
‘अहिलेको प्रधानमन्त्री क्वाटर हेरे हुन्छ । सांसदहरूको टिम गएर मन्त्रीहरूको क्वाटर हेरे हुन्छ । मुख्यमन्त्री र प्रदेशका प्रमुखहरूको क्वाटर हेरे हुन्छ’ उनले भने, ‘मन पोलेर आउँछ । त्यो एउटा भवनमा कति खर्च भइरहेको छ ? त्यहाँ राखिएको सामानमा कति खर्च भएको छ ? के त्यसको आवश्यकता थियो ?’
मन्त्री क्वाटर पुल्चोकमै राखेर बाँकी रकम उत्पादन वृद्धिमा लगाएको भए हुने बताए । आगामी दिनमा विगतको जस्तो गल्ती नगर्न प्रधानमन्त्री ओलीलाई सुझाए, ‘आउने दिनमा यस्तै ढंगका भ्युटावरहरू नबनुन् । यहाँ (सिंहदरबार)मा बसेर एकैचोटी कैचीले ७५३ पालिकामा अस्पतालको शिलान्यास गर्ने काम नहोस् । ६ हजार ७४२ वटा वडामा एकैचोटी शिलान्यास गर्ने काम नहोस् ।’
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले पनि ओलीको विकास मोडलमाथि नै प्रश्न गरेका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले विगतमा ओली प्रधानमन्त्री हुँदा झापामा भ्यूटावर बनाएको र त्यसको सिको देशभर भएको स्मरण गरे ।
‘प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यूटावर सुरु गरेपछि देशभरि ७५३ पालिकामा भ्यूटावर सुरु भयो, गाउँगाउँमा भ्यूटावर सुरु भयो । यो उत्पादनमा लगानी गरेको हो ? कि रोजगारी सिर्जनामा लगानी गरेको ?’ पुनले प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले अघिल्ला कार्यकालहरूमा बनेको ठूला आवास र कार्यालयहरू कतै उपयोगविहीन हुन पुगेको त कतै खर्च मात्र बढाएको उनले बताए । भक्तपुरको अदालतको भवनमा खानेपानी र विद्युतमा मात्र २३ लाख खर्च हुने गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्रीज्यू हुँदा नै सुरु गरेको नयाँ भवन बनेछ । उद्घाटन भएछ । अहिले पाँच लाखले पुग्ने बिजुली र खानेपानी खर्च २३ लाख पुगेछ । एउटा भवनले यो खर्चले हामीलाई कहाँ पुर्यायो ?’
ठूला भवन बनाएपछि एक जना सफाइकर्मीले पुग्नेमा दुई/तीन जना चाहिनले यसले समेत खर्च बढाउने उनले बताए । उनले ओलीलाई प्रश्न गरे, ‘देशैभरि त्यस्ता अनुत्पादनक भवनहरू कति बने ? त्यसले पुँजी निर्माण गर्यो ?’
गोदावरीमा अर्ब हाराहारी खर्च गरेर बनाएको सभाहल र बुटवलमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन भएको उनले बताए । ‘…बुटवलमा बनाएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कति वटा सम्मेलन भए ? कति वटा कार्यक्रम भए ? त्यसल कति उत्पादन दियो ? कति रोजगारी दियो ? कति रिर्टन दियो ?’ पूर्व अर्थमन्त्री पुनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
ओलीको टिमले तय गरेको प्राथमिकताले आर्थिक विकास र समृद्धि प्राप्त नहुने उनको दाबी छ । ‘के मा विकास गर्ने ? के मा प्राथमिकता दिने भन्ने कुरामा एक पटक सोच्नुपर्छ’ उनले भने, ‘यहाँ (प्रधानमन्त्री ओली)को सल्लाहाकारहरूले जो प्राथमिकता निर्धारण गरिदिएको छ, त्यसमा हुँदैन । त्यो ढंगले देशको विकास हुँदैन ।’
माओवादी नेता पुनले आर्थिक विकास र समृद्धिका लागि प्राथमिकता तोकेर अगाडि बढ्न सुझाव समेत दिए ।
‘हामी फेरि भ्यूटावरतिर, कार्यालय भवन बनाउनेतिर, ठूलाठूला भवन बनाउनेतिर, ठूला सभाहल बनाउनेतिर अर्थात, अनुत्पादन क्षेत्रतिर पुँजी केन्द्रित गर्दैछौं कि उत्पादनमूलक क्षेत्रमा पुँजी केन्द्रित गर्दैछौं एक पटक हेर्नुु्स्’ उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4