+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सौर्यका क्याप्टेन मनिष भन्छन् : सय फिट पुगेपछि जहाज मेरो कन्ट्रोलमा रहेन

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८१ साउन १० गते २०:१७
तस्वीर : नेपाल प्रहरी ।

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्छन् । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको बताएका थिए ।

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भनिन्, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उनले घटनाबारे आफ्नो सम्झना सुनाएका थिए ।

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

‘उहाँको शरीरको विभिन्न भागमा इन्जुरी थियो । मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको थियो,’ डा. थापाले अनलाइनखबरसँग भनिन्, ‘प्राथमिक उपचार गरेपछि हामीले विभिन्न परीक्षण सुरु गरेका थियौं ।’

 

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहेका छन् ।

डा. थापाका अनुसार बुधबारै क्याप्टेन शाक्यको सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ ।

‘हिजो गरिएको सिटीस्यानको रिपोर्टले ढाडको हड्डी भाँचिएको देखिएको छ । तर शरीरको अन्य भागमा ठूलो चोट देखिएको छैन,’ डा. थापाले भनिन् ।

‘नाक, कान र घाँटी विशेषज्ञ र थर्मोलोजिस्ट लगायत चिकित्सकले हिजो अप्रेसन गर्नुभएको थियो । त्यसपछि हामीले न्यूरो आईसीयूमा राखेर उपचार गराइरेका छौं,’ डा. थापाले भनिन् ।

डा. थापाका अनुसार उनी खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

चोटका कारण मस्तिष्क भने केही सुन्निएको उनले बताइन् । त्यसैगरी आँखाको भिजनमा पनि थोरै समस्या देखिएको छ । थप समस्या थाहा पाउन आज एमआरआई गर्ने डा. थापाले बताइन् ।

‘अरु कुनै जटिलता छ कि छैन भनेर आज पुन एमआरआई गर्ने योजना छ,’ डा. थापाले अनलाइनखबरसँग भनिन्, ‘एमआरआईको रिपोर्ट आएपछि थप स्वास्थ्य अवस्थाबारे जानकारी दिन सकिएला ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?