+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अनि ‘कोकू’ हुन सजिलो छ र ?

सुरेश राई सुरेश राई
२०८१ भदौ ४ गते १२:४३

कवि तीर्थ श्रेष्ठले लेख्नुभएको हुनुपर्छ, साङ्गीतिक समूह नेपथ्यको एउटा गीत छ आमा भन्ने। गीतले भन्छ-

‘आमा हुन

साह्रै असजिलो छ

……

आमा हुन अप्ठ्यारो छ

आमा हुन पहाड हुन जस्तै गाह्रो छ। ‘

अमृत गुरुङको बुलन्द आवाजमा गाइएको यो गीत मलाई असाध्य मन पर्ने हुनाले पटक–पटक सुनिरहेको हुन्छु। अनि जब–जब यो गीत सुनिरहेको हुन्छु तब मनमा एउटा प्रश्न पनि गरिरहेको हुन्छु। अनि कोकू हुन ?  कोकू हुन चाहिं कस्तो छ ?

हामी चाम्लिङ राईहरू हजुरआमालाई कोकू भन्छौं। कोकू भन्न सहज लाग्छ, हजुरआमा भन्न अलिक कस्तो कस्तो। हाम्रो भेगमा गैर–राई समुदायका छिमेकीहरू पनि कोकू नै भन्छन्। जस्तो: छिमेकी कटुवालनी काकीले मलाई हजुरआमाको कुशलमंगल सोध्नुपर्‍यो भने ‘कोकू सन्चै हुनुहुन्छ?’ नै भन्नुहुन्छ।

हाम्रो कोकू अझै स्वस्थ हुनुहुन्छ। हामीहरू पूर्वतिर प्राय: ‘मेरो घर’ भन्दैनौं ‘हाम्रो घर’ भन्छौं। ‘मेरो खेत’ भन्दैनौं ‘हाम्रो खेत’ भन्छौं। ठीक त्यसैगरी मेरी कोकू भन्दैनौं हाम्रो कोकू भन्छौं र ‘हाम्री’ पनि भन्दैनौं ‘हाम्रो’ नै भन्छौं।

हाम्रो कोकूलाई तपाईंको जन्ममिति याद छ कोकू भनेर सोधियो भने ‘तेरो बाजेसँग तीन सालमा बिहे गरेर आउँदा १६ वर्षको थें, अब आफैं हिसाब गर् ना’ भन्नुहुन्छ। यसरी कोकू वि.सं. १९८७ सालमा जन्मनुभएको हो भनेर थाहा हुन आउँछ। आजको मितिले उहाँ ९४ वर्षकी हुनुभो।

ती बितेका ९४ वर्षहरूमा साप्सु र दिखुवा खोलामा थुप्रै पानी बगिसकेको छ। तर जिन्दगी बग्नु पानी बग्नु जस्तो ‘सललल’ पक्कै पनि थिएन। उकाली ओरालीहरू थिए; भञ्ज्याङ अनि चौतारीहरू थिए; गाउँ थियो; वनजंगल थिए; बालापन थियो अनि दौंतरीहरू थिए। जिन्दगीको यात्रामा ती सबै-सबै छुट्दै गएपछि बल्ल कोकू हुन सकिंदो रहेछ।

कुनै बेला घाँस काट्दै गर्दा भीरबाट लड्नुभएको कोकू धेरै समयसम्म बिरामी हुनुभएको थियो। पछि राम्ररी जाती हुनुभयो। जीवनमा हातपाउ चलायमान राख्नुपर्छ नत्र हातगोडा बस्छन् भन्ने अटल विश्वास बोक्नुभएकी कोकू आज पनि त्यतिकै खाली बस्न सक्नुहुन्न। बत्ती कात्नुहुन्छ अथवा केही न केही गरिरहनुहुन्छ। चुपचाप फिटिक्कै बस्न सक्नुहुन्न।

कोकू हुनलाई उहाँले थुप्रै आफ्ना र बिरानाहरूको मृत्यु देख्नुभएको छ। घाट दौडिरहेका मलामी, भेल बाढीमा परेका अपरिचितका चीत्कार, जिन्दगी लगेर रूखको हाँगामा झुन्ड्याइदिनेहरू अनेक–अनेक भोग्नुभएको छ, देख्नुभएको छ।

उमेरको यो घडीमा पनि भारतको चारधाम होस् या जम्मू–कश्मीर होस्, रेलको लामो लामो सफर सहजै गर्नुभयो। बेलायत जाँदा हवाईजहाजको पट्यारलाग्दो यात्रा आरामले तय गर्नुभयो। सक्रिय रहनुपर्छ यो नै उहाँको जिन्दगीको मुख्य बुझाइ रहिआएको छ।

आफू ३ वर्षको हुँदा नब्बेसालको भुइँचालो गएको थियो। आफू ५८ को हुँदा पैंतालीस सालको र आफ्नो उमेर ८५ पुग्दा फेरि बहत्तर सालको भूकम्प गयो। कोकू हुनलाई उहाँले तीन ठूला भूकम्पहरूको स्पर्श गर्नुभएको छ। यी सबका बीच मान्छेका मायामोह, उसको लोभ, ईर्ष्या, पाप, धर्म, अपराध र गुण अवगुणका अनेकौं पटक साक्षी हुनुभएको छ। मान्छेका हिम्मत, साहस र पतनका अनगिन्ती किस्साहरू देख्नु/सुन्नुभएको छ।

देशको राजनीतिमा ‘तीन सरकार’ र ‘पाँच सरकार’देखि पछिल्ला ‘छोटे सरकारहरू’ सम्म सबै–सबै खेप्दै आउनुभएको छ। उबेलाको कुपीको पहेंलो उज्यालोदेखि एलईडी चिमको चम्किलो उज्यालोसम्म देख्नुभएको छ। तब गएर उहाँ कोकू हुनुभएको छ।

कोकू हुनलाई उहाँले थुप्रै आफ्ना र बिरानाहरूको मृत्यु देख्नुभएको छ। घाट दौडिरहेका मलामी, भेल बाढीमा परेका अपरिचितका चीत्कार, जिन्दगी लगेर रूखको हाँगामा झुन्ड्याइदिनेहरू अनेक–अनेक भोग्नुभएको छ, देख्नुभएको छ।

कोकूले थुप्रै बाल सखीहरू आफ्नै आँखाले धरती छाडेको देख्नुपर्‍यो। थुप्रै इष्टमित्र भाइभतिजोको मृत्युको खबर आफ्नो कानले सुन्नुपर्‍यो। ७६ वर्षको श्रीमान् गुमाउनु पर्‍यो। जेठो दाजु, कान्छो छोरो, ज्वाइँ र माहिली बुहारीलाई बिदा गर्नु पर्‍यो। र सबैभन्दा गाह्रो काम उनीहरूलाई स्मृतिको चिहानमा पुर्दै जानुपर्‍यो। यसरी हृदयलाई मजबुत बनाएपछि मात्रै कोकू हुन सकिने रहेछ।

हामी कोकूका १६ जना नातिनातिना छौं। ४ पनातिनी र २ पनातिहरू छन्। चार पुस्ताका पनाति पनातिनीहरूको मुस्कानमा कोकूले जीवन यात्रामा पछाडि छुटिगएका आफ्नाहरूको क्षतिपूर्ति देख्नु हुँदो हो। यो धरतीबाट तिनीहरू त्यसरी गए अनि यिनीहरू यसरी आए भनेर सोच्नु हुँदो हो। केही अनुहारहरू भुल्दै जानु र केही अनुहारहरू स्मृतिमा भर्दै जानु नै सायद कोकू हुनु हो।

मेरा भान्जाभान्जी र भतिज–भतिजीलाई म बेलाबेला भन्ने गर्छु, ‘हेर भुसुनाहरू हो ! मैले कोकू मात्रै देख्न पाएँ। तिमीहरूले छेम्मा कोकू (जिजु) पनि देख्न पायौ। तिमीहरू साह्रै भाग्यमानी हौ। बुझ्यौ ?’ कोकूको सबैभन्दा ठूलो पनाति त ६ फुटको अग्लो ग्र्याजुयट स्टुडेन्ट भैसकेको छ। ऊ अब भुसुना भन्न नमिल्ने भैसकेको छ।

९४ वर्षको उमेरको हिसाबले हाम्रो कोकू अझै तगडा हुनुहुन्छ। केही साल अगाडिसम्म नातिनीहरूको स्कुटरमा समेत बस्न सक्नुहुन्थ्यो। अब भने सिर्फ मोटर या ट्याक्सीमा मात्रै यात्रा गर्न सक्नुहुन्छ। कहिलेकाहीं सामान्य खाना अपच र सामान्य विस्मृति बाहेक अरु कुनै समस्या छैन। सन्तानले डाँडाकाँडा ढाकेपछि कोकूहरूको बुढेसकाल सायद केही हदसम्म सहज भने पक्कै हुँदो हो।

मलाई थाहा छ दुर्भाग्यवश सबै कोकूहरूको एउटै नियति हुँदैन। थुप्रै कोकूहरू घरसंसारविहीन खुल्ला आकाशमुनि जिन्दगी काट्न अभिशप्त छन्। थुप्रै कोकूहरू आफ्ना नातिनातिनीहरूसँग होइन कुनै धर्मशाला वा रुटिन र नियमले बाँधिएको कुनै वृद्ध आश्रममा बाँच्न बाध्य छन्। हामी उहाँहरूको हृदयको भरपूर शान्ति र पीडारहित बाँकी आयुको कामना सिवाय अरु के नै पो गर्न सक्छौं र ?

सम्पूर्ण कोकूहरू कर्म र अनुभवले निर्मित ईश्वर आत्माहरू हुन्। कोकू हुन झनै गाह्रो छ। झनै कठिन छ। तर सायद जिन्दगी भोग्दा भोग्दा सबै भोगाइहरूले मन र शरीर दुवै इस्पात भएको हुँदो हो तब म नेपथ्यको गीतको सापटी लिंदै सोच्ने गर्छु-

‘कोकू हुन साह्रै असजिलो छ

असजिलो झेल्दा झेल्दा

सजिलो नि छ

कोकू हुन साह्रै अप्ठ्यारो छ

अप्ठ्यारो भोग्दा भोग्दा

सबै ठीकै छ

कोकू हुन ध्यानस्थ

पहाड हुनु हो

आदिम गोरेटोको कुनै

कथा जस्तै हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?