 
																			३१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने तयारी गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।
आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । यही विवादका कारण आइतबारको बैठक बस्न सकेको थिएन ।
संसदलाई विनाअवरोध सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसहितका नेताहरुसँग छलफलसमेत गरेका थिए । सो छलफलमा सभामुख घिमिरेले हिंसा शब्दमा अलमलिँदा अन्य विषयहरु ओझेलमा परेको भन्दै संसद बैठक सन्चालन गर्न दिन अनुरोध गरेका थिए ।
माओवादी केन्द्रका नेताहरुले भने योगेश भट्टराईले आवेशमा आएर बोल्दा गल्ती भएको भन्दै आत्मालोचना गर्नुपर्ने वा सभामुखले हिंसा शब्दलाई रेकर्डबाट हटाउनुपर्ने प्रस्ताव राखेका थिए । सभामुख घिमिरेले भने आफ्नो अधिकारको व्यवस्था र संसद सञ्चालनको विगतको अभ्यास अनुसार आवश्यक निर्णय लिने बताएका थिए ।
छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘हाम्रो प्रस्तावमा सभामुख सकारात्मक हुनुहुन्छ । अध्यक्ष पनि फर्किएकाले हामी आज बैठक बसेर आवश्यक निर्णय गर्छौं ।’
माओवादी केन्द्रका नेताहरु संसद बैठक चल्न दिन सकारात्मक भएपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसदको वर्षे अधिवेशन अन्त्य हुने
त्यसपछि संसद अधिवेशन अन्त्यको प्रक्रिया अघि बढ्ने छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि संसदको वर्षे अधिवेशन अन्त्य हुने छ ।
संसदको अधिवेशन सुरु र अन्त्य राष्ट्रपतिबाट गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच संसदको आजको सम्भावित कार्यसूचीमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिन प्रतिवेदन पेश गर्ने लगायतका विषय उल्लेख छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्तता प्रस्तुत गर्ने छन् । कानुन मन्त्रीले नै विधायन विधेयक २०८१ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4