 
																			केही वर्षअघिसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने र गाभिने कार्य (मर्जर तथा एक्विजिसन) ले व्यापकता पाएको थियो । त्यसबेलादेखि नै नेपालको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउनका लागि मर्जरको नीति अवलम्बन गरिरहेको छ । मर्जरकै कारण कुनै बेला २०० माथि रहेका नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या अहिले ११० वरिपरि कायम छ ।
केन्द्रीय बैंकले अवलम्बन गरेको मर्जरको नीति अनुरूप अहिले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरू धमाधम मर्जरमा गइरहेका छन् । तर, नेपालको मर्जर नीतिलाई अत्यन्तै सफल मान्न सकिने अवस्था भने छैन । संस्थाहरू मर्जर हुँदै गर्दा तिनले केही आधारभूत प्रश्नहरू जन्माइदिएको हुन्छ । आखिर कुनै संस्था किन मर्ज हुन्छ ? मर्ज हुनुपर्ने कारण के हो ? मर्जरपछि संस्थाले कसरी प्रगति गर्न सक्छ ? मर्जर हुनु के संस्थाको अवसान हुनुबाट बच्नु वा बचाउनु हो ?
मर्जर आवश्यकता हो कि बाध्यता ? संस्था मर्जरपछिको अवस्थामा कसरी सबल रहन सक्छ ? संस्थाको मर्जरपछिको अवस्था कस्तो छ ? मर्जरमा गएका संस्थाहरू आन्तरिक रूपमै बलियो बनेका छन् कि ती बाह्य रूपमा मात्रै सबल जस्तो देखिएका हुन् ? मर्जरपछिको संस्थामा आउन सक्ने सकारात्मक र नकारात्मक प्रभावहरू कस्ता छन् ? संस्था मर्जरले शेयर होल्डर एवम् अन्य सरोकारवाला स्टेक होल्डरहरूलाई के कसरी जोड्न सक्छ ? मर्ज भएका संस्थाहरूमा कर्मचारी व्यवस्थापनको सवाल कस्तो छ ? मर्जरपछि कर्मचारीहरू सन्तुष्ट हुन्छन् वा तनावमा रहेका छन् ? व्यवसायमा सन्तोषप्रद वृद्धि छ त ?
संस्थाहरूको मर्जरसँगै यी यावत् प्रश्नहरू जन्मिएका हुन्छन् । त्यसो त मर्जरको आवश्यकताभित्र खासगरी बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक वृद्धिलाई नियन्त्रण गर्नु नै देखिन आउँछ ।
केन्द्रीय बैंकले जनतामा वित्तीय पहुँच बढाउन, रोजगारी सृजनामा सहयोग पुर्याउन, नयाँ नयाँ वित्तीय सेवाहरूको शुरुआत गराउन, प्रविधिको प्रयोग बढाउन, वित्तीय साक्षरता बढाउनका लागि संस्था मर्जरको नीति अवलम्बन गरेको देखिन्छ ।
वित्तीय संस्थाहरू संख्यात्मक रूपमा धेरै तर परिमाणात्मक रूपमा कम रहेको हुनाले पनि संस्था मर्जर हुनुको विकल्प नरहेको मान्न सकिन्छ । संस्थामा काम गर्ने कर्मचारीको बद्नियत र लापरबाहीको कारण संस्था धरासायी हुने अवस्थामा पुगेका धेरै उदाहरण छन् । संस्थागत सुशासनमा उस्तै लापरबाही छन् ।
खराब नियतका साथ संस्थालाई टाट पल्टाइएका घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन् । पछिल्लो समय सहकारी संस्थाहरूमा त्यस्तै विकृति बढेको छ । यसर्थ, यी कमी–कमजोरीबाट संस्थाको साख बचाउनका लागि पनि संस्थाहरू मर्जरमा गएका उदाहरण हामी पाउँछौं ।
संस्थाको कार्यकुशलता र व्यावसायिक सफलताका पछाडि संस्थाको कर्मचारी व्यवस्थापन रणनीति, कर्मचारी परिचालनको तौरतरिका, शाखा विस्तारको प्रभावकारिता, कर्मचारीको वृत्ति–विकासमा संस्थाले गरेको लगानी, कर्मचारीको जाँगर तथा कर्मचारीको संस्थाप्रतिको जिम्मेवारी, केन्द्रीय कार्यालय तथा माथिल्लो निकायका व्यक्तिहरूको उत्प्रेरणा गर्ने तरिका आदि जस्ता विभिन्न कुराले निर्धारण गर्दछ । मर्जरमा जाँदै गर्दा संस्था बलियो हुने देखिए तापनि मर्जरपछि संस्थाका कर्मचारीको मनोबल भने खस्किएको देखिन्छ । जब कर्मचारीको मनोबल बढ्न सक्दैन, उनीहरू सकारात्मक बन्न सकिरहेका हुँदैनन् भने संस्था बलियो कसरी हुन सक्छ ?
संस्था मर्जरमा जानुपर्नाका अन्य केही आधारभूत कारणहरूमा संस्थाहरूले व्यवसाय वृद्धिका नाउँमा जारी राखेका अस्वस्थ प्रतिस्पर्धा, तरल पूँजीको न्यूनता, नगद प्रवाहमा समस्या, कर्जाको गुणस्तरमा आएको ह्रास, लघुकर्जा वितरणमा देखापरेको दोहोरोपना, संस्थागत सुशासनको कमी, संस्थाको व्यवसायमा आएको संकुचन र नाफामा देखिएको गिरावट, कर्मचारी संख्यामा वृद्धि, संचालन खर्चमा वृद्धि, वित्तीय अनुशासनमा कमी, संचालक समिति र व्यवस्थापनका बीचमा देखापर्ने वैमनस्यता आदिलाई मान्न सकिन्छ ।
त्यसका साथै लहडका भरमा संस्थाहरू खोल्दै जाने र अधिक लोभका कारण संस्थालाई धरासायी बनाउने खेलले पनि संस्थाहरू जर्जर अवस्थामा पुगेका हुन् र तिनलाई त्राण दिने एउटै विकल्प मर्जर बन्न पुगेको देखिन्छ । नेपालको लघुवित्तकै क्षेत्रलाई हेर्ने हो भने पनि संस्थागत उपस्थिति अत्यधिक देखिन्छ तर, त्यस अनुरूप अपेक्षाकृत रूपमा वित्तीय पहुँच भने पुग्ने सकेको छैन ।
खासगरी दीर्घकालीन योजना र दृष्टिकोण निर्माण नगरी संस्थाहरू खोल्दै जानु र लघुवित्तको सामाजिक उद्यमशीलताको चरित्रलाई भुलेर केवल मुनाफामुखी व्यवसायको रूपमा ग्रहण गरिनुले पनि लघुवित्त वित्तीय संस्थाहरू समस्यामा परिरहेका छन् । र, त्यही समस्याबाट छुटकारा पाउने उद्देश्यका साथ समस्याग्रस्त रहेको संस्थालाई बचाउनको लागि संस्था मर्जरमा जानुपर्ने बाध्यात्मक परिस्थितिको सृजना भएको देखिन्छ ।
यी सम्पूर्ण पक्षहरूलाई नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा अनुगमन गरिरहेको र अन्तर्राष्ट्रिय निकायहरू जस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक जस्ता संस्थाहरूबाट समेत नेपालमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या अत्यन्त बढी भएको र यसले भविष्यमा प्रणालीगत जोखिम आउन सक्ने संभावनाका बीच उनीहरूको सुझाव अनुरूप बैंक तथा वित्तीय संस्थाहरूको संख्यात्मक उपस्थितिलाई करेक्सन गर्नका लागि मर्जरको नीति अवलम्बन गरिएको देखिन्छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्था स्वयं नै संस्थागत स्थायित्वको खोजीमा रहेका छन्, र कतिपय वित्तीय संस्थाले वित्तीय प्रणलीबाट सुरक्षित र सहज बहिर्गमन पनि चाहिरहेको समेत परिस्थितिमा मर्जर तथा प्राप्तिको आवश्यकता महसुस भएको हुनसक्छ । विदेशी बैंक तथा वित्तीय संस्थाको पूँजीको आधार समेतको मूल्यांकन गर्दा पनि मर्जरको आवश्यकता अनिवार्य भएको हुन्छ । त्यसैगरी लगानीलाई सहज बनाउनको लागि तथा पूँजीको आकार वृद्धि गरी संस्थालाई जोखिम रहित बनाउने उद्देश्यका साथ संस्था मर्जर गर्नुपर्ने अवस्था आउँछ ।
कुनै पनि संस्था मर्ज हुनु, संस्थाको दीर्घजीवनको वैकल्पिक आधार भने होइन । संस्था मर्जरमा जाँदै त्यहाँ अवसर भन्दा चुनौती नै बढी विद्यमान रहेका हुन्छन् । हरेक चुनौतीको सामना गर्नु चानचुने कुरा भने पक्कै होइन । बेग्लाबेग्लै संस्थाका बेग्लाबेग्लै नीतिनियम, आचरण, व्यवहार र संस्थागत संस्कृतिहरू विद्यमान रहेका हुन्छन् । त्यस्तो विविधतालाई घोलेर एउटै भाँडोमा हाल्ने काम पक्कै पनि चुनौतीपूर्ण नै हुन्छ । मर्जर प्रक्रियामा हावी भएको संस्थाले प्राप्त गरेको संस्थाका कर्मचारीहरूलाई हरतरहले हैरानी कटाउने सम्भावना प्रबल रहन्छ ।
यसर्थ, मर्जरपछिको कर्मचारी व्यवस्थापन नै संस्थाहरूका लागि फलामको चिउरा साबित भएका छन् । सञ्चालक समिति र व्यवस्थापन समितिहरूमा देखापर्ने गुट–उपगुट र द्वन्द्वका कारण मर्जरपछि संस्थाहरू थप कमजोर र प्रभावहीन बन्दै गएका पनि प्रशस्त उदाहरण छन् । त्यसैले मर्जर नै उपयुक्त विकल्प भने होइन, मुख्य कुरा दीर्घकालीन सोच र योजनाका साथ सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै व्यवसाय अभिवृद्धिमा दत्तचित्त भएर लाग्नु हो ।
संस्थाको व्यवस्थापन र सञ्चालक समितिबीच निर्माण हुने सहकार्यात्मक वातावरणले नै संस्थालाई सफलतातर्फ लैजान्छ । यसमा जिम्मेवारीबोधका साथ निष्ठावान् र नैतिक आचरणभित्र रहेर आफ्नो जिम्मेवारीमा रहेको कामलाई रुचि र प्राथमिकताका साथ सम्पादन गर्ने जिम्मेवार कर्मचारी संयन्त्र नै संस्थागत सफलताको आधार हो ।
पोखरेल लघुवित्तकर्मी हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4