+
+

चार दिने भुटान भ्रमणबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २० गते २०:२६

२० असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिमाली अधिराज्य भुटानको चार दिने भ्रमण सकाएर आइतबार स्वदेश फर्केका छन् । बिहीबार भुटान पुगेका पूर्वराजाको भ्रमण अनोपचारिक भनिए पनि विशिष्ट दर्जाको सम्मान उनले पाएका हुन् ।

भुटानको राजधानी थिम्पु उड्नुअघि उनले बाढीपहिरोमा ज्यान गुमाउने, घाइते र पीडितहरुप्रति ‘श्री ५ महाराजाधिराज’ कै हैसियतमा वक्तव्य निकालेर श्रद्धान्जली, समवेदना व्यक्त गरेका थिए । लगत्तै उनले भुटानका राजा तथा राजपरिवार भेटेको प्रसंगले यतिखेर चर्चा पाइरहेको छ ।

भुटानी राजा जिग्मे खेर नामग्यालका पिता जिग्मे सिंगे वाङचुकको निम्तामा शाह छोरीहरु प्रेरणा र शीताष्मा सहित शाह थिम्पु पुगेका थिए । राजकुमारी पेमा वाङचुकले उनलाई एयरपोर्टमै स्वागत गरेकी थिइन् ।

शाहले पाएको रेडकार्पेटसहितको विशेष सम्मानलाई कुनै राष्ट्राध्यक्षले पाएकै बराबरको सम्मान भनी चर्चा गरिएको छ । यद्यपि शाहका निजी सचिव फणिराज पाठकले भने यो निजी भ्रमण भएको बताएका छन् ।

शाहले पूर्व राजा जिग्मे सिंगेसँग भेटवार्ता गरेका थिए । राजा जिग्मे खेसरसँग पनि उनको कुराकानी भएको थियो । सबै भेटघाटहरुमा उनलाई विशिष्ट दर्जाको सम्मान दिइएको थियो । शाहले भुटानका महत्वपूर्ण धार्मिक स्थलमा पुजा आजा पनि गरे ।

कुनै बेला दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा पढेका पूर्वराजा ज्ञानेन्द्र शाह ले त्यहीँ पढेका भुटानी राजाले आयोजना गरेको पुनर्मिलन कार्यक्रममा अतिथि बनेर भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?